कोरला नाका सञ्चालनका लागी सन्तुलित कुटनीति आवश्यकः मन्त्री गौचन

  • २१ पुष २०७३, बिहीबार
  • 1133 पटक पढिएको

बागलुङ उद्योग बाणिज्य सघंको ५३ औं साधारणसभा बिहिवार बागलुङ बजारमा सम्पन्न भएको छ । साधारणसभाको एक कार्यक्रमका बीच बाणिज्य मन्त्री रोमी गौचन थकालीले उद्घाटन गरे । उद्घाटन पछि बोल्दै गौचनले नेपाल चिन जोड्ने कोरला नाका सञ्चालनका लागि मध्यमार्गी नीति अवलम्बन आवश्यक रहेको बताए ।
तिब्बत सँग जोडिएको मुस्ताङको कोरला नाका सञ्चालन अझै सहज नभएको भन्दै उनले यसका लागि राज्यले आवश्यक कुटनीतिक सम्वन्धलाई बलियो बनाएर दुई छिमेकी देशलाई बिश्वासमा लिनुपर्ने बताए ।

‘म मुस्ताङमा जन्मिएको थकालीको छोरो हुँ, म बाहुन क्षत्री सँग मिल्छु, बिक, चर्माकार सँग पनि मिल्छु, सबै सँग मिल्ने थकाली जाति जस्तो कोरला नाका सञ्चालन गर्न पनि मध्यमार्गी ‘थकाली नीति आवश्यक छ ।’ मुस्ताङ र कोरला नाका देशका अन्य स्थानमा सडक खनिए जस्तो नभएको भन्दै उनले यसको संवेदनशिलतालाई आत्मसाथ गरेर अघि बढ्न सके मात्रै छिटो नाका सञ्चालन हुने बताए ।
अहिले कोरला नाका खोल्नका लागि ४ करोड ८८ लाख बजेट बिनियोजन भएको छ । मन्त्री गौचनले आगामी तीन बर्ष भित्रमा बेनी–जोमसोम सडक खण्ड कालोपत्रे हुने समेत दाबी गरे । उद्योग व्यवसायी मैत्री नीतिका लागि सरकार लागिरहेको समेत जानकारी दिए । कार्यक्रममा सांसदद्धय प्रकाश शर्मा पौडेल, चम्पादेवी खड्का, बाणिज्य सचिव ङइन्द्र उपाध्याय, नेपाल उद्योग बाणिज्य महासघंका केन्द्रिय सदस्य निर्माणकुमार श्रेष्ठ लगायतले बोलेका थिए । सो अवसरमा उत्कृष्ट व्यवसायी, कर्मचारी लगायतलाई पुरस्कृत गरिएको थियो ।

साधारण सभाले महासचिव दयाराम पौडेलले पेश गरेको प्रगति प्रतिवेदन र कोषाध्यक्ष बिदेश श्रेष्ठले पेश गरेको आर्थिक प्रतिवेदन सुझाव सहित पारित गरेको छ ।
कार्यक्रम बागलुङ उद्योग बाणिज्य सघंका अध्यक्ष जयराम भारीको अध्यक्षता, वरिष्ठ उपाध्यक्ष युवराज राजभण्डारीको स्वागत र महासचिव दयाराम पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो । Source kaifiyat.com