राष्ट्रिय आविष्कार केन्द्रलाई डेढ करोड अनुदान

  • १९ जेष्ठ २०७४, शुक्रबार
  • 2819 पटक पढिएको

काठमाडौं, १८ जेठ । उद्योग मन्त्रालयले वैज्ञानिक डा.महावीर पुनको राष्ट्रिय आविष्कार केन्दको क्षमता विस्तार गर्न एक करोड ५० लाख रुपैयाँ अनुदान उपलब्ध गराउने बजेटमा व्यवस्था गरेको छ ।

मन्त्रालयले गरेको बजेटको व्यवस्थासँगै उद्योगलाई काम लाग्ने औद्योगिक प्रविधिको विकास गर्ने, तराईमा नेपाली वैज्ञानिकहरूले आविष्कार गरेको धान काट्ने मेशिनको परीक्षण गरी त्यसको व्यावसायिक उत्पादन सम्भव छ, छैन एकिन गर्ने, राष्ट्रिय आविष्कार केन्द्रले उत्पादन गरेको विद्युतीय सवारीको प्रयोगलाई समेत प्रवद्र्धन गर्ने जनाएको छ ।

मन्त्रालयले गराएको जानकारी अनुसार नेपाली किसानहरूलाई सरल र सहुलियत मूल्यमा धान काट्ने मेशिन उपलब्ध गराउन यस्तो मेशिनको आविष्कारका लागि राष्ट्रिय आविष्कार केन्द्रलाई उद्योग मन्त्रालयले सहयोग पुर्‍याउने छ ।

डा. महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रले नेपालमा अनुसन्धान र विकासको संस्कृति स्थापना गरी समाजको तल्लो तहदेखी माथिल्लो तहसम्म आविष्कारमा आधारित पर्यावरणीय प्रणालीको प्रवद्र्धन गर्ने कार्यमा मुलुकलाई थप टेवा पुर्‍याउनेमा मन्त्रालयले अपेक्षा गरेको जनाएको छ ।