कोरोना आशंका गरिएका बागलुङका युवाको रिर्पोट नेगेटिभ

  • १३ चैत्र २०७६, बिहीबार
  • 1498 पटक पढिएको

बागलुङ १३ चैत ।

कोरोना भाइरसको संक्रमण भएको आशंकामा धौलागिरी अञ्चल अस्पताल बागलुङको आइसोलेशन वार्डमा भर्ना गरिएका एक युवाको रिपोर्ट नेगेटिभ आएको छ । भारतको पटनाबाट आएका बागलुङ नगरपालिकाका ती बिरामीको कोरोना भाइरससँग मिल्दो लक्षण सहित अस्पताल पुगेपछि चिकित्सकले तत्कालै उनलाई आइसोलेशनमा राखिएको थियो । लगत्तै उनको थ्रोर्ट स्वाब निकालेर काठमाण्डौंको टेकु स्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा जाँचका लागि पठाइएको थियो ।

बिहिवार आएको उनको रिपोर्टमा कोरोनाको संक्रमण नदेखिएको धौलागिरी अञ्चल अस्पताल बागलुङका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा.शैलेन्द्र बि पोखरेलले आदर्श अनलाइनलाई बताए । ‘यस्ता बिरामी आएमा हामी तत्काल आइसोलेशनमा राख्छौं र आवश्यक जाँच अघि बढाउछौँ, यस्तो लुकाउनु हुन्न भन्नेमा हामी सचेत छौँ’, डा. पोखरेलले भने,‘यसले जिल्लामा ठुलो भय र सन्त्रास पैदा गरेको थियो, अब कम हुनेछ तर घर भित्रै बसेर सुरक्षित हुन भने जरुरी छ ।’ Source aadarshasanchar.com