महावीरको चुनाबी अभियानबाट रु २७ लाख बढी बचत
- २९ फाल्गुन २०८२, शुक्रबार
- 1 पटक पढिएको
म्याग्दी, ३० फागुन । म्याग्दीबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित महावीर पुनले निर्वाचनका क्रममा सहयोगदाताबाट प्राप्त सहयोग रकमबाट रु २७ लाख बढी रकम बचत गर्नुभएको छ । मनोनयन दर्ता संगै चुनाबी खर्चका लागि सहयोगदाताबाट रु ५६ लाख ३७ हजार ८९३ सहयोग जुटेकोमध्ये रु २८ लाख ६८ हजार ८६८ खर्च भएको जनाईएको छ ।
चुनाबी खर्चका लागि सहयोगदाताबाट प्राप्त भई बैँकमा रु २७ लाख ६९ हजार २५ रकम बचत रहेको पुनले जानकारी दिनुभयो । चुनाबी अभियानमा सहयोगदाताबाट स्वतस्फुर्त रुपमा संकलन भएर बचत भएको उक्त रकमलाई पुनले बेनीमा सम्पर्क कार्यालय सञ्चालनमा परिचालन गर्ने जनाउनुभएको छ ।
पुनले निर्वाचनको क्रममा नागरिकलाई सरकारी सेवा सुविधा लिँदा आइपर्ने प्रशासनिक झण्झट हटाउन बेनीमा सम्पर्क कार्यालय खोलेर सहजीकरण गर्ने घोषणा गर्नुभएको थियो । सम्पर्क कार्यालयमा दुई जना कर्मचारी नियुक्त गरिने र नागरिकहरुले सरकारी कार्यालयहरुमा सेवा लिँदा अप्ठेरो र झण्झट व्यहोर्नु परेमा सहजीकरण गरिने जनाईएको छ ।