म्याग्दीमा निर्वाचनमा परिचालन भएका निर्वाचन प्रहरीलाई सम्मान सहित विदाइ
- २८ फाल्गुन २०८२, बिहीबार
- 33 पटक पढिएको
म्याग्दी २८ फागुन । फागुन २१ गते सम्पन्न भएको प्रतिनिधि सभा सदस्य निर्वाचनलाई सम्पन्न गराउन म्याग्दीमा परिचालन भएका निर्वाचन प्रहरीलाई सम्मान सहित विदाइ गरिएको छ। जिल्ला प्रहरी कार्यालय म्याग्दीले एक कार्यक्रम आयोजना गरि निर्वाचनलाई स्वतन्त्र, शान्त, भयरहित र निष्पक्ष वातावरणमा सम्पन्न गराउन रचनात्मक भूमिका खेलेको भन्दै निर्वाचन प्रहरीलाई सम्मान सहित विदाइ गरिएको हो ।
जिल्लामा निर्वाचन सम्पन्न गराउन परिचालन भएका ७६५ जना निर्वाचन प्रहरीलाई उनीहरुले निर्वाचनमा खेलेको भूमिकाको प्रसंसा सहित अविर लगाएर सम्मान गर्दै प्रमाणपत्र वितरण गरी विदाइ गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरिक्षक सूर्यबहादुर थापाले जानकारी दिनुभयो । उहाँले सबै निर्वाचन प्रहरीले निर्वाचनमा तोकिएको शान्ति सुरक्षाको जिम्मेवारी पूरा गरेको र कसैलेपनि जिल्लामा आचरण विपरितको कार्य नगरेको बताउनुभयो ।
निर्वाचनको लागि मतदान केन्द्रमा खटाउन नियुक्त भएका निर्वाचन प्रहरीलाई मतदान स्थलको जानकारी, सुरक्षा, भिड नियन्त्रण गर्ने तरिका, निर्वाचन ऐन कानुन सम्बन्धी जानकारी लगायतका विषयमा तालिम प्रदान गरी जिल्ला सुरक्षा समितिको एकिकृत सुरक्षा योजना अनुसार कार्यक्षेत्रमा परिचालन गरिएको थियो ।
निर्वाचनका समयमा निर्वाचन प्रहरीलाई सुरक्षाकर्मीसँगको समन्वयमा मतदान स्थलको सुरक्षा, भयरहित वातावरण बनाउन सहयोग र मतपेटिकाको ढुवानी लगायतका काम गर्ने जिम्मेवारी दिईएको थियो। ८२ वटा मतदान स्थल र एक सय २२ वटा मतदान केन्द्रमार्फत भएको मतदानको क्रममा म्याग्दीमा कुनैपनि अप्रिय घटना नभइसक्न शान्तिपूर्ण वातारणमा सम्पन्न भएको थियो। निर्वाचन सम्पन्न भएर मतगणना समेत सम्पन्न भइसकेकाले ४० दिने कार्य अवधिका लागि नियुक्त भएको निर्वाचन प्रहरीलाई विदाइ गरिएको हो ।

कमल खत्री – – –