बेनीमा कुमारी बैँकको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

  • ८ चैत्र २०८२, आईतवार
  • 1 पटक पढिएको

म्याग्दीको बेनीस्थित न्यू वेस्ट पोइन्ट कलेजमा विश्व मुद्रा सप्ताहको अवसरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ। कुमारी बैँक लिमिटेड बेनी र बागलुङ शाखाको संयुक्त आयोजनामा भएको उक्त कार्यक्रममा कक्षा ११ र १२ का करिब २०० जना विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको थियो। किशोर–किशोरी अवस्थादेखि नै वित्तीय ज्ञान र व्यवहारिक सीप विकास गराउने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा विद्यार्थीहरूलाई बचत गर्ने बानी, आम्दानी–खर्च व्यवस्थापन, बैंकिङ सेवा, डिजिटल कारोबार तथा सुरक्षित वित्तीय अभ्यासबारे विस्तृत जानकारी प्रदान गरिएको थियो। कुमारी बैंकका बाग्लुङ शाखाका प्रमुख नारायण थापा र असिम ढकाल तथा बेनी शाखाका प्रमुख मिलन कुमार श्रेष्ठले सहजीकरण गर्नुभएको कार्यक्रमको सञ्चालन प्रतिमा श्रेष्ठले गर्नुभएको थियो।
सहजीकर्ताहरूले सरल र व्यवहारिक उदाहरणमार्फत वित्तीय साक्षरताको महत्त्व प्रष्ट्याउँदै विद्यार्थीहरूलाई जिम्मेवार आर्थिक निर्णय लिन प्रेरित गर्नुका साथै बैंकिङ सेवाको प्रयोग गर्दा अपनाउनुपर्ने सावधानी, अनलाइन कारोबारका जोखिम र त्यसबाट बच्ने उपायबारे पनि जानकारी गराउनुभएको थियो । कार्यक्रमको समापन गर्दै विद्यालयका उच्च मावि संयोजक कृष्ण जि.सी.ले कार्यक्रमबाट विद्यार्थीहरुले वित्तीय साक्षरतासम्बन्धी उपयोगी जानकारी हासिल गरेको बताउनुभयो । विद्यार्थीहरुलाई भविष्यमा आर्थिक निर्णय लिन समेत कार्यक्रमले सघाउ पुगेको उहाँको भनाई थियो ।
कार्यक्रममा सहभागी विद्यार्थीहरूले आफूहरूले सिकेका विषयहरू दैनिक जीवनमा प्रयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। वित्तीय साक्षरताले व्यक्तिगत तथा पारिवारिक आर्थिक अवस्था सुधार्न मात्र नभई समग्र समाजको आर्थिक सुदृढीकरणमा समेत टेवा पु¥याउने विश्वास आयोजकले व्यक्त गरेका छन्।