लागू औषध प्रयोगमा १५ देखि २० वर्ष उमेरका युवा बढी

  • ९ चैत्र २०७६, आईतवार
  • 1637 पटक पढिएको

धिरन खत्री

म्याग्दी, ९ चैत ।   म्याग्दीमा पछिल्लो समय लागू औषध प्रयोगको संख्या बढेको छ । लागू औषध प्रयोगमा १५ देखि २०–२२ वर्ष उमेर समूहका युवा बढी संलग्न देखिन्छन् । गाँजा, चरेश, मेडिकल ड्रग्स, नुफिन लगायतका लागू औषध प्रयोगमा युवा भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माले बताए । उनका अनुसार बढी प्रयोगकर्ताको रुपमा जनजाति भेटिएका छन् । साथीसंगत, आर्थिक प्रलोभन, अभिभावकदेखि टाढा रहेका, परिवारको निगरानी नभएका, अभिभावकले आवश्यक भन्दा बढी पैसा दिनुले कुलतमा फसेका छन् ।

लागू औषधमा बढी आम्दानी हुने भएपछि विदेशी पर्यटक र पर्यटकीय स्थलमा लागू पदार्थको प्रयोग बढी देखिएको छ । लागू औषध बागलुङ र म्याग्दीमा नवलपरासी र पोखराबाट बढी आउने गरेको प्रहरी निरिक्षक शर्माले बताए । “लागू औषध सेवनकर्ता बढेसँगै जिल्ला प्रहरी कार्यालयको सक्रियता बढेको छ । विद्यालयमा पुगेर लागू औषधी, साइबर क्राईम र लैंगिक हिंसाबारे विद्याथीलाई जानकारी गराउँदै आएका छौं,” शर्माले बताए ।
लागूअ औषधबाट युवायुवतीलाई जोगाउन बच्चा स्कूल जाने समय र आउने समयको ख्याल, अभिभावक सचेत, साथीसंगत, खानपान शैली, बोल्ने शैली र पारिवारिक सुझाव सल्लाह अभिभावकले ध्यान दिनुपर्ने उनले बताए । शर्माका अनुसार हुक्का, चुरोटले भन्दा र लागू औषध सेवनले बढी असर गर्ने बताए ।
डाइजेपाम, एम्पुल, फेनारागन, एम्पुल, सिसिन्ज, नुर्पिmन, फेनेरागन, टालजेसिक र चरेश जस्ता सुइमार्फत प्रयोग गर्ने नसालु पदार्थ बढी मात्रामा पक्राउ पर्ने गरेको प्रहरी कार्यालय म्याग्दीको तथ्याकंले देखाउँछ । आर्थिक वर्ष ७२-०७३ मा ८ जनामध्ये ४ जनालाई मुद्दादर्ता, ०७३-०७४ मा ३ जनामध्ये १ जनालाई मुद्दा दर्ता, ०७४-७५ मा ५ जनामध्ये ४ जनालाई मुद्दा दर्ता, ०७५–०७६ मा १८ जना पक्राउमध्ये ७ जनालाई मुद्दा दर्ता र ०७६-०७७ मा ५ जना पक्राउमध्ये ४ जनालाई मुद्दा दर्ता भएको प्रहरी कार्यालयको तथ्यांकले देखाउँछ । पक्राउमध्ये बढी १५ वर्षदेखि २०–२२ वर्षका युवा छन् ।
लागू औषध नियन्त्रण ऐन २०३३ अन्तर्गत १५ वर्षदेखि जन्म कैदसम्म सजाय र ५ लाख देखि २५ लाख सम्म जरिवानाको ब्यवस्था छ । पचास ग्राम देखि माथि ५०० ग्राम सम्म भए १ महिना देखि १ वर्ष सम्म कैद र १ हजार देखि पाँच हजार सम्म जरिवाना हुने कानुनी व्यवस्था छ ।