जन्मदिनको अवसरमा समाजसेवी मल्लद्धारा दृष्टिविहिन विद्यार्थीहरुलाई लत्ताकपडा र स्टेशनरी सहयोग

  • १३ मंसिर २०७६, शुक्रबार
  • 2952 पटक पढिएको

म्याग्दी, १३ मंसिर । म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवतीका समाजसेवी देवेन्द्रबहादुर मल्लले आफ्नो जन्मदिनको अवसरमा दृष्टिविहिन विद्यार्थीहरुलाई सहयोग गर्नुभएको छ । वडा नम्बर ३ मौवाफाँट स्थित ज्ञानोदय माध्यमिक विद्यालयमा सञ्चालित दृष्टिविहिन स्रोत कक्षामा अध्ययनरत १० जना बालबालिकाहरुलाई मल्लले लत्ताकपडा,स्टेशनरी र नगद समेत सहयोग गर्नुभएको हो ।


विद्यालयमा शुक्रवार आयोजित कार्यक्रममा ७९ बर्षिय समाजसेवी मल्लले १० जना दृष्टिविहिन बालबालिकाहरुलाई सुईटर, विद्यालय पोशाक, कापि, कलम लगायतका स्टेशनरी र जनही रु १ सयका दरले नगद सहयोग गर्नुभएको थियो । आफ्नो जन्मदिनको अवसरमा दृष्टिविहिन बालबालिकाहरुको लागि सहयोग पुगोस भन्ने उदेश्यले सहयोग गरेको मल्लले बताउनुभयो ।

उहाँले आफ्नो सामाजिक सुरक्षा भत्ता बापतको रकमलाई सामाजिक क्षेत्रमै खर्चिने गरेको समेत बताउनुभयो । पूर्व प्रधानपञ्च समेत रहनुभएका मल्ल मुक्तिधाम मावि विद्यालय व्यवस्थापन समितिको अध्यक्ष समेत रहनुभएको छ । जन्मदिनको अवसरमा सहयोगदाता मल्ललाई विद्यालयले सम्मान सहित बधाई ज्ञापन समेत गरेको विद्यालयका शिक्षक दामोदर रिजालले जानकारी दिनुभयो ।

कार्यक्रममा बोल्दै रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले जन्मदिनको अवसरमा समाजसेवी मल्लले सामाजिक क्षेत्रमा सहयोग गरि समाजमा सकरात्मक सन्देश दिएको बताउनुभयो । सो अवसरमा विद्यालयले आयोजना गरेको हाजिरजवाफ प्रतियोगिताको बिजेताको पुरस्कार समेत समाजसेवी मल्लले नै प्रायोजन गर्नुभएको थियो । विद्यालय व्यवस्थापन समितिका कार्यबहाक अध्यक्ष गोविन्द रिजालको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षक गणेश सुवेदीको स्वागत, विद्यालय व्यवस्थापन समितिका सदस्य कमला सुवेदीको शुभकामना मन्तव्य र शिक्षक रिजालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।