घारमा चार वटा भवन उद्घाटन

  • १० आश्विन २०७६, शुक्रबार
  • 2308 पटक पढिएको

म्याग्दी, १० असोज । अन्नपूर्ण गाउँपालिका–६ घार स्थित मुक्तिमार्ग मावि, स्वास्थ्य चौकी, वडा कार्यालय र कोट मन्दिर परिसरको सामुदायिक भवनको बिहीबार एक समारोहका बिच उद्घाटन गरिएको छ । मुक्तिमार्ग माविको भवन प्रतिनिधिसभा सदस्य भुपेन्द्रबहादुर थापा, स्वास्थ्य चौकी संबिधानसभा सदस्य रेशमबहादुर बानिया, वडा कार्यालय जिसस प्रमुख देवेन्द्रबहादुर केसी र सामुदायिक भवन वडा अध्यक्ष कृष्णप्रसाद बरुवाल सहित वडा सदस्यहरुले उद्घाटन गर्नुभएको हो ।

घारका टिकाबहादुर खड्काले ११ लाख रुपैयाँमा खरिद गरेर उपलब्ध गराउनुभएको तीन रोपनी जग्गामा एक करोड ५४ लाख ८६ हजार ११९ रुपैयाँमा मुक्तिमार्ग माविको तीन तले १२ कोठे नयाँ भवन र चार कोठे शौचालय निर्माण भएको हो । तत्कालीन जिल्ला शिक्षा कार्यालयको साठी लाख, टिकाबहादुर खड्का मार्फत इस्टर्न नेपाल जर्मनीबाट जग्गा खरिद समेत ३५ लाख ८७ हजार, जर्मनको हिमालयन फ्रेण्डसको १६ लाख ७७ हजार ५००, अन्नपूर्ण गाउँपालिकाको दश लाख, तत्कालीन घार गाविसको पाँच लाख र महायज्ञबाट संकलित पाँच लाख रुपैयाँ सहयोगमा भवन निर्माण भएको प्रअ मेखबहादुर खड्काले बताउनुभयो ।

भवन परिसरमा घार युवा क्लवले आठ लाख रुपैयाँ खर्चेर स्टेज र प्याराफिट निर्माण गरेको छ । कृष्णबहादुर खड्काले जग्गा खरिदका क्रममा एक लाख ७५ हजार रुपैयाँ छुट दिनुभएको थियो । निर्माण ब्यवसायी कृष्णप्रसाद बरुवालले दुई लाख रुपैयाँ बराबरको योगदान गर्नुभएको छ । मोना जापानले ७५ हजार, घार खिवाङ सेवा समाज कतारले ६३ हजार ६१४, घार घर भई हाल जापानमा रहेका दधिवल खड्काले पचास हजार, संरक्षण व्यवस्थापन समितिले ४५ हजार, बेल्जियममा रहेका नारायण खड्काले ४५ हजार, घार समाज कुवेतले ३२ हजार, प्रशान्त मोहन रेग्मीले २५ हजार १११, बहुतबहादुर बरुवालले पाँच हजार र नरबहादुर बरुवालले पाँच हजार रुपैयाँ सहयोग गर्नुभएको थियो ।

स्थानीय रुपा बरुवालले एक रोपनी, गोविन्द खड्काले आठ आना र गाउँलेले आठ लाख रुपैयाँ जुटाएर खरिद गरेको सहित तीन रोपनी जग्गामा सहरी विकास तथा भवन विभागले डेढ करोड रुपैयाँमा स्वास्थ्य चौकीको सुबिधा सम्पन्न भवन निर्माण गरेको छ । संरक्षण व्यवस्थापन समितिको एक वटा कोठामा सञ्चालन हुदै आएको स्वास्थ्य चौकीको सुबिधासम्पन्न र भवन निर्माण भएपछि सेवा प्रवाह सहज भएको प्रमुख रिसव पाण्डेले बताउनुभयो ।


एक वटा सभाहल सहित पाँच कोठे वडा कार्यालय भवनलाई गाउँपालिकाले १५ लाख रुपैयाँ खर्चेर पूर्णता दिएको हो । तत्कालीन शान्ति तथा पुननिर्माण कार्यालयले सुरु गरेर अलपत्र अवस्थामा रहेको भवनलाई गाउँपालिकाले पूर्णता दिएको वडा अध्यक्ष बरुवालले बताउनुभयो । वडा कार्यालय भवन निर्माणका लागि स्थानीय रामबहादुर बरुवालले १५ आना जग्गा उपलब्ध गराउनुभएको थियो । घारको भगवती मन्दिर परिसरमा गाउँपालिकाको छ लाख अनुदान र स्थानीय संघ संस्थाको थप आठ लाख गरि १४ लाख रुपैयाँको लागतमा सभाहल सहितको तिन कोठे दुई तले सामुदायिक भवन निर्माण भएको छ ।

भवन उद्घाटन कार्यक्रममा प्रतिनिधिसभा सदस्य थापाले चुनावमा प्रतिस्पर्धा भएपनि विकासमा सहकार्य गर्नुपर्ने बताउदै विकासका लागि आएको बजेटको सदुपयोग र योजनाका कार्यान्वयनमा सबैले चासो दिनुपर्ने बताउनुभयो ।पोखरेबगर–चित्रे सडक आयोजनालाई तिब्रता दिन ताकेता, निगरानी र अनुगमनमा जोड दिने बताउदै घोडेपानी देखि मोहरे पदमार्ग निर्माण गर्न यस वर्ष पचास लाख र पुनहिलमा पूर्वाधार बनाउन पचास लाख बिनियोजन भएको जानकारी दिनुभयो ।

‘म चुनावमा नेकपाको उमेद्वार हो तर निर्वाचित भएपछि सबै जनताको प्रतिनिधिको रुपमा भूमिका निर्वाह गरिरहेको छु,’ सांसद थापाले भन्नुभयो ‘म तपाइहरुको एउटा भरिया हो । तपाइहरुले मलाई काम लगाउनुप¥यो । म बिना हिचकिचावट काम गर्छु ।’संबिधानसभा सदस्य बानियाले सहकार्यबाट विकासले गति लिन्छ भन्ने सन्देश घारबासीले दिएको बताउदै विकासका काममा विवाद गर्न नहुने र गाउँमा आएको बजेटको सदुपयोग तथा योजनाको कार्यान्वयनमा सघाउन आग्रह गर्नुभयो ।

जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीले बनेका भौतिक संरचनाबाट जनताले सहज रुपमा सेवा पाउनुपर्ने र गुणस्तर सुधारमा जोड दिनुभयो । प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाल, अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष केशमाया मगर, वडा अध्यक्ष कृष्णप्रसाद बरुवाल, शिख माविका प्रअ केदार कार्की, नेकपाका वडा कमिटि अध्यक्ष मेखबहादुर खड्का, नेपाली काँग्रेसका रामबहादुर खड्का, चन्दादाता प्रशान्तमोहन रेग्मी, देवबहादुर खड्काले मन्तब्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा विद्यालय, स्वास्थ्यचौकी, वडा कार्यालय भवनका जग्गा र चन्दादाताहरुलाई सम्मान गरिएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोकुल बरुवालको अध्यक्षता, शिक्षक रामकृष्ण खड्काको सञ्चालन र प्रअ मेखबहादुर खड्काको स्वागत मन्तब्यमा सम्पन्न कार्यक्रममा विद्यार्थीहरुले नृत्य प्रस्तुत गरेका थिए ।