सडकमा पुस्तक बिक्रीबारे महावीर पुनलाई मेयर आचार्यको ध्यानाकर्षण

  • २७ फाल्गुन २०८२, बुधबार
  • 1 पटक पढिएको

पोखरा । महावीर पुनले  बिरगंज कृर्षि अाैजार कारखाना सञ्चालन अभियानका लागि सडक र चोकहरूमा उभिएर पुस्तक बिक्री गरिरहेको विषयमा  पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले ध्यानाकर्षण गराएका छन्। धनराज आचार्यले सडकमा अनुमतिबिना यसरी पुस्तक बिक्री गर्दा ट्राफिक व्यवस्थापनमा असर पर्ने तथा कानुनविपरीत हुन सक्ने भन्दै पुस्तक व्यवसायी महासंघमार्फत पुस्तक बिक्री गर्न सुझाव दिएका छन्।

मेयर आचार्यले पुनको देश र समाजप्रतिको समर्पण, नवप्रवर्तन अभियान तथा सादगीपनको प्रशंसा गर्दै सम्मानित व्यक्तित्व सडकमा उभिएर किताब बेच्दा अनावश्यक सवाल–जवाफ हुने र त्यो उनको उचाइलाई नसुहाउने बताएका छन्। ‘फुटपाथमा साना व्यवसाय गर्ने व्यक्तिहरूलाई नगर प्रहरीले नियमअनुसार हट्न अनुरोध गर्दा, त्यही नियम तपाईंमाथि पनि लागू हुँदा अनावश्यक विवाद सिर्जना हुनु उपयुक्त देखिँदैन,’ मेयर आचार्यले भनेका छन्। उनले दर्ता तथा आवश्यक अनुमतिबिना कुनै पनि वस्तुको बिक्री–वितरण गर्नु कानुनी रूपमा जटिल हुन सक्ने पनि स्मरण गराएका छन्।

मेयर आचार्यले पुनलाई पोखरा आउन निमन्त्रणा दिँदै देशभर रहेका करिब १८ हजार पुस्तक व्यवसायीको सञ्जालमार्फत किताब बिक्री गर्न सकिने विकल्प पनि प्रस्तुत गरेका छन्। ‘तपाईंको भूमिका देशका लागि नीति र कानुन निर्माण गर्ने हो, हाम्रो भूमिका पुस्तक बिक्री–वितरण गर्ने हो,’ उनले भने, ‘यदि तपाईंको पुस्तकको स्टक उपलब्ध गराउनुभयो भने, हामी महासंघमार्फत त्यसलाई बिक्री गरी उचित भुक्तानी तपाईंलाई उपलब्ध गराउन सहजीकरण गर्न सक्छौँ।’

यसले पुनको अभियानलाई अझ व्यवस्थित र प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास उनले व्यक्त गरेका छन्। म्याग्दीबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित पुनले तीन बर्षदेखि देशका विभिन्न ठाउँमा पुगेर सडकबाटै पुस्तक विक्रि गर्दै अाउनुभएकाे छ । बीरगंज कृर्षि अजार कारखाना सञ्चालनक लागी पुनले यसरी अाफ्नाे अात्मकथाकाे पुस्तक विक्रि गदै अाउनुभएकाे छ ।