दोसल्लेमा बाली संरक्षण शिविर

  • ८ आश्विन २०७६, बुधबार
  • 2381 पटक पढिएको

 

म्याग्दी ८ असोज । जिल्लाको अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेमा बाली संरक्षण शिविर सम्पन्न भएको छ । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यान्वयन इकाई म्याग्दीको आयोजनामा मंगलबार शिविर सञ्चालन गरिएको थियो । कृषकहरुको बगैचामै गएर प्राबिधिक सेवा उपलब्ध गराउने उद्देश्यले शिविर आयोजना गरिएको इकाइका कृषि अधिकृत नारायण पौडेलले जानकारी दिनुभयो । दोसल्लेका कृषकहरुले पुरै गाउँमा सुन्तला खेती गरेका छन् ।

४० जनाको सहभागिता रहेको शिविरमा १५ जना कृषकहरुको सुन्तला बगैचामा देखिएको समस्या समाधानको बारेमा परामर्श दिइएको थियो । स्थलगत रुपमा विश्लेषण गराई निराकरणका उपायहरु बरेमा जानकारी गराइएको इकाइका प्रमुख सुर्यप्रसाद बरालले बताउनुभयो । दोसल्लेको सुन्तला बगैचामा दादे, बैजनी, ग्रिनीङ रोग र खाद्यतत्वको कमी पाइएकाले सुधारका लागि कृषकहरुलाई परामर्श दिइएको छ ।

कार्यक्रममा अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष केशमाया मगरले पालिका, कृषि ज्ञान केन्द्र, परियोजनाले पनि सहयोग गर्दै आएको र कृषकहरुले पनि आम्दानीको केही हिस्सा बगैचा व्यवस्थापनमा परिचालन गर्न आवश्यक रहेको बताउनुभयो ।वडा सदस्य मायादेवी पुनको अध्यक्षता, परियोजनाका नायव सुब्बा शिव शर्माको सञ्चालनमा सम्पन्न कार्यक्रममा सुन्तला जोन परियोजना सञ्चालक समितिका अध्यक्ष खिमबहादुर पुन र तमाया शेरपुञ्जाले पनि मन्तब्य व्यक्त गर्नुभएको थियो ।