साफ यू–१५ च्याम्पियनसिपको नेपाली टोलीमा म्याग्दीका निराजन छनौट

  • २२ श्रावण २०७६, बुधबार
  • 4706 पटक पढिएको

म्याग्दी २२ साउन । प्रन्ध बर्ष मुनीको नेपाली राष्ट्रिय फुटवल टोलीमा म्याग्दीका निराजन खत्री छनौट भएका छन् । रघुगंगा गाउँपालिका–३ मौवाफाँट घर भएका खत्री भारतमा आयोजना हुन लागेको यू–१५ साफ च्याम्पियनसिपका लागि घोषणा भएको नेपाली राष्ट्रिय टोलीमा पर्न सफल भएका हुन् । खत्रीले प्रतियोगितामा मिडफिल्डरको रुपमा सहभागिता जनाउनेछन् ।

२ बर्ष अघि जापानमा भएको यू–१२ च्याम्पियनसिपमा समेत नेपाली टोलीबाट सहभागी भएका खत्रीले प्रतियोगिता अवधिभर १० गोल गर्दै नेपाली टोलीबाट सर्वाधिक गोलकर्ता बनेका थिए । उनले बिगत ३ बर्षदेखि बुटवल एन्फा एकेडेमीमा बसेर नियमित फुटवल खेल अभ्यास गर्दै आएका छन् ।


‘‘ फुटवल खेल मेरो रोजाई हो, सानैदेखि फुटवलमा मेरो रुचि छ, यस पटकको अवसरलाई पनि मैले नेपाली टोलीको पक्षमा नतिजा ल्याउने गरि सदुपयोग गर्ने प्रयासरत रहनेछु’’– छनौटपछि टेलिफोनमा खत्रीले भने । अगस्ट २१ देखि भारतमा आयोजना हुन लागेको साफ च्याम्पियनसिपमा नेपालले पहिलो खेल श्रीलंकासँग खेल्नेछ । त्यसपछि बंगलादेश र भुटानसँग प्रतिस्पर्धा गर्नेछ ।


खत्री संगै राष्ट्रिय टोलीको गोलकिपरमा ईश्वर गुरुङ, मनोज दाहाल र जेनिस केसी छन् । डिफेन्डरमा प्रज्ञान महर्जन, अभिषेक वाइबा, प्रमिस गुरुङ, अजय चौधरी, जान लिम्बु र रोशन थापा रहेका छन भने मिडफिल्डमा निराजन खत्री, जन्म जय धामी, निराजन मल्ल, प्रदिप लम्साल, नितेश श्रेष्ठ, असिम राई, विपिन तुमसिङ मगर, अमिर हमिद, मोहित गुरुङ, र अनिल चौलागाई छन् । यस्तै फर्वाडमा किसन अधिकारी यादव, कृष्ण सापकोटा, सुगन जिमी र शंशाक बोहरा छन् ।