मालिका–६ वडामा ‘हरेक घर एक आत्मनिर्भर’ अभियान सञ्चालन

  • ७ असार २०७६, शनिबार
  • कमल खत्री
  • 2462 पटक पढिएको

कमल खत्री
म्याग्दी, ७ असार । म्याग्दीको मालिका गाउँपालिका–६ नम्बर वडाले स्थानीय स्तरमा रहेका सम्भावनाहरुको पहिचान गरि ‘हरेक घर एक आत्मनिर्भर’ अभियान सञ्चालन गरेको छ । कृषि र उद्यमशिलताको पहिचान र प्रवद्र्धनमा जोड दिएर वडाभित्र रहेका टोल र बस्तीस्तरमा अभियान सञ्चालन गरिएको वडा अध्यक्ष सन्तनाथ (सन्तोष) सुवेदीले जानकारी दिनुभयो ।  ६ सय ९२ घरधुरी रहेको यस वडाभित्रका हरेक घरधुरीलाई आत्मनिर्भर बनाउनका लागि वडाले गाउँपालिकाबाट प्राप्त हुने बजेटलाई समेत उत्पादनमुलक क्षेत्रमा विनियोजन गर्ने गरेको छ । बस्ती र टोल स्तरमा रहेका सम्भावनाको आधारमा पकेट क्षेत्र घोषणा गरिएको छ ।

चालु आर्थिक बर्षमा वडाको सिफारिसमा करिब १३ लाख बजेट गाउँपालिका मार्फत कृषि क्षेत्रमा परिचालन गरेको वडा कार्यालयले ढाँडखर्कलाई टनेलभित्र गोलभेडाखेती, दिच्याममा किवि र अलैँची खेती ,लामेलामा केरा खेती, दरबाङ, दुखुबेसी, तोलाबाङ र साउँवटमा आलुखेति पकेट क्षेत्र घोषणा गरेको छ ।  टनेल गाउँको रुपमा विकास गर्न लागिएको ढाँडखर्कमा रहेका २५ घरधुरीले ३९ वटा टनेलमा गोलभेडा खेती सुरु गरेका छन् । वडा कार्यालयको सिफारिसमा गाउँपालिकाबाट विनियोजन भएको रु २ लाख ८८ हजार रुपैयाँ बजेटबाट कृषकहरुलाई टनेल खरिद गरि निःशुल्क उपलब्ध गराईएको छ । कृषकहरुको मागको आधारमा यस बस्तीका हरेक घरले १ देखि ६ वटासम्म टनेल निर्माण गरि गोलभेडा खेति सुरु गरेको वडा अध्यक्ष सुवेदीले जानकारी दिनुभयो ।

यहाँका कृषकलाई सिँचाई सुविधाको लागि म्याग्दी नदीबाट पम्पिङको समेत व्यवस्था गरिएको छ । किबी पकेट क्षेत्र घोषणा गरिएको मालिका– ६ दिच्याममा यस बर्ष किबी खेती प्रवद्र्धनको लागि सामाग्री सहयोग गरिएको छ । दिच्यामका ५२ घरधुरीलाई यस बर्ष किबी खेती विस्तारको लागि रु ८ लाख बराबरको पाईप, तार लगायतका सामाग्री वितरण गरिएको छ । दिच्याममा अहिले १५० रोपनी जग्गामा किबी खेती लगाएको र थप घरधुरीलाई समेत आगामी बर्ष किबी खेतीको लागि सहयोग गरिने वडा कार्यालयले जनाएको छ । केरा पकेट क्षेत्र घोषणा भएको लामेलाका २१ घरधुरीमा रु १ लाख बजेटबाट केराको बोट र विउ वितरण गरिएको छ । आलु खेती विस्तारको लागि विनियोजन भएको रु १ लाख बजेटबाट दरबाङ, दुखुबेशी, तोलाबाङ, दरबाङ र साउँवटका २ सय ९० घरधुरीमा प्रतिघर ५ देखि २५ किलोसम्म आलुको विउ वितरण गरिएको छ ।

सम्भावनाको आधारमा पकेट क्षेत्र घोषणा गरिएका बस्तीमा व्यवसायिक कृषि र उत्पादनमुलक क्षेत्रमा लागेका कृषकहरुलाई गाउँपालिका मार्फत प्रोत्साहनको नीति लिईएको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले जानकारी दिनुभयो । ‘‘ कृषिमा नगदे बालिलाई प्राथमिकतामा राखेका छौँ, कृषि उपज प्रांगारिक बनाउने, उत्पादन भएका उपजको बजारीकरणको लागि व्यवसायिक कृषि सहकारी स्थापनाको लागि पहल गरेका छौँ’’– वडा अध्यक्ष सुवेदीले भन्नुभयो । मालिका–६ नम्बर वडाले खुवाङ बस्तीमा बाख्रापालन, गोगनपानीमा स्थानीय जातका कुखुरा, उपल्ललो दुखुमा सिमी, भटमास र सतुवाको पकेट क्षेत्र घोषण गर्दै आगामी आर्थिक बर्षमा कृषकहरुलाई प्रोत्साहनको लागि तयारी गरिएको जनाएको छ । अगुवा कृषकहरुलाई तालिम र नमुना कृषि फर्महरुको अवलोकन भ्रमण गराईसकिएकाले कृषि र उत्पादनमुलक क्षेत्रमार्फत हरेक घरधुरीमा रोजगारिको अवसर सिर्जना हुने अपेक्षा गरिएको वडा अध्यक्ष सुवेदीले जानकारी दिनुभयो ।

यस वडाले यसै बर्षदेखि फलफुल, फुल र कृषि तर्फ आकर्षित गर्नको लागि ‘एक घर पाँच बोट’ रोपण गर्ने अभियानको समेत सुरुवात गरेको छ । वडाभित्रका हरेक घरधुरीलाई मागको आधारमा फलफुल र घाँसका विरुवा उपलब्ध गराउने तयारी गरिएको वडा कार्यालयले जनाएको छ । ‘‘ कृषि र पुशपालनबाट रोजगारी सिर्जना गरि आत्मनिर्भर बनाउने हाम्रो लक्ष्य हो, कृषि संगै भैसीपालन गर्ने कृषकलाई अनुदान र बंगुरपालन गर्ने कृषकलाई तालिमको व्यवस्था समेत गर्ने जमर्कोमा जुटेका छौँ’’–अध्यक्ष सुवेदीले भन्नुभयो । नागरिकलाई रोजगारि र आत्मनिर्भर बनाउनको लागि उत्पादनमुलक क्षेत्रको पहिचानमा जुटेको यस वडाले सार्वजनिक ठाउँमा प्याष्टिकजन्य खादा र ब्याचको प्रयोगलाई हटाउँदै चिया खान प्लाष्टिक गिलासको प्रयोगलाई निषेध समेत गरेको छ ।

गरिब तथा विपन्न बर्गका लागरिकलाई स्वास्थ्य सेवामा पहुँच बढाउन वडाकै पहलमा ४२ परिवारको रु ३ हजार ५ सयका दरले शुल्क तिरेर प्रतिघरपरिवारले एक बर्षसम्म रु १ लाख बराबरको औषधी उपचार खर्च पाउने व्यवस्थाको स्वास्थ्य विमा समेत गरिएको छ ।

सेवा प्रवाहलाई प्रभाबकारी बनाउन ‘मुस्कान सहितको वडा अध्यक्ष सेवा’ घोषणा गरिएको छ । मालिका–६ वडाले सुरुवात गरेका उत्पादनमुखी योजनाहरुले स्थानीयको आयआर्जन सुधार र व्यवसायिक बन्नतर्फ प्रोत्साहन मिल्ने अपेक्षा गरिएको गाउँपालिकाका उपाध्यक्ष खरमायाँ बिटालुले जानकारी दिनुभयो ।

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l