चिमखोलामा सार्वजनिक सुनुवाई

  • ३१ बैशाख २०७६, मंगलवार
  • 2719 पटक पढिएको

 

चिमखोला ३१ बैशाख । रघुगंगा गाउँपालिकाको आयोजना र म्याग्दी मिडिया सोसाइटीको समन्वयमा मंगलबार चिमखोलामा सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । गाउँपालिकाको विकास निर्माण र सार्वजनिक सेवा प्रवाहको विषयमा सर्वसाधारणको गुनासो, सुझाव र अपेक्षा संकलन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा स्थानीयबासीहरुले दग्नाम चिमखोला सडकलाई छिटो पूर्णता दिन, चिमखोलालाई नदी कटानबाट जोगाउन, अमर माविमा प्राबिधिक विषयको पठनपाठन सञ्चालन गर्न, कृषि र पशुपालनलाई जोड दिन सुझाव दिएका छन् ।यसैगरी चिमखोला स्वास्थ्य चौकीमा सुरक्षित प्रसुति सेवा सञ्चालन गर्न पनि माग गरेका थिए । गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले सबै वडामा एक वटा गौरवको आयोजना सञ्चालन गर्न लागिएको, टुक्रे योजनालाई निरुत्साहीत गरिएको, चिमखोला जोड्ने सडकलाई गाउँपालिको प्राथमिकता दिएको र प्रदेश तथा संघीय सरकारसंग पहल गरिएको बताए ।

प्रमुख प्रशासकीय अधिकृत रमेश थापाले मार्गदर्शनको आधारमा आगामी आर्थिक वर्षका लागि झिँ, पाखापानी, कुइनेमंगले र चिमखोलामा योजना तर्जुमाका साथै एकिकृत अनुगमन गरिएको जानकारी दिए ।कार्यक्रममा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाको निजी सचिवालयका सदस्य गम पुन, वडा सदस्य लक्ष्मण पुन र नेकपाका नेता ओम पुनले मन्तब्य व्यक्त गरेका थिए ।

वडा अध्यक्ष देउप्रसाद पुनको अध्यक्षता, सचिव मेखबहादुर भुजेलको सञ्चालन र म्याग्दी मिडिया सोसाइटीका अध्यक्ष कमल खत्रीको सहजिकरणमा कार्यक्रम सम्पन्न भएको थियो ।सोही अवसरमा आगामी आर्थिक वर्षको लागि योजना तर्जुमा सम्बन्धी अन्तरक्रिया गरिएको थियो । दग्नाम दर्मीजा चिमखोला सडकलाई प्राथमिकता दिएर बजेट बिनियोजन र योजना तय गर्न सुझाव दिएका छन् ।

३६ जना जेष्ठ नागरिक, अपांग, एकल महिला र बिधवालाई गाउँपालिकाले एक हजार पाँच सय रुपैयाँ बराबरको सामग्री र दोसल्ला सहित सम्मान गरिएको थियो । बीस जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको थियो ।

गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले आफूले पाउने पारिश्रमिकबाट स्थापना गर्नुभएको भवबहादुर भण्डारी अक्षयकोषबाट अमर माविको विज्ञान विषयको शिक्षकको एक महिनाको तलबका लागि प्रअ पृथबहादुर थापालाई बीस हजार रुपैयाँ हस्तान्तरण गर्नुभयो ।

आयुर्वेद स्वास्थ्य शाखाका कविराज निरिक्षक लक्ष्मण चालिसेले जेष्ठ नागरिकहरुको स्वास्थ्य परिक्षण, औषधी वितरण र योजना शाखा प्रमुख योगेन्द्र बानियाले योजना छनौटमा सहजिकरण गर्नुभएको थियो ।