टोड्के हिल रिसोर्टको उद्घाटन

  • २८ बैशाख २०७६, शनिबार
  • धिरन खत्री
  • 3509 पटक पढिएको

टोड्के २८ बैशाख । म्याग्दीको रघुगंगा र मंगला गाउँपालिकाको सिमा क्षेत्रमा अवस्थित पर्यटकीय स्थल टोड्केमा निर्माण भएको रिसोर्टको शनिबार उद्घाटन भएको छ । टोड्के हिल रिसोर्ट प्रा.लीले स्थापना गरेको रिसोर्टको झिँका जेष्ठ नागरिक ९० वर्षीय कमी गर्बुजाले उद्घाटन गरेका हुन् ।


कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीले विकास र रोजगारीको म्याग्दीको आधार जलविधुत, ब्यवसायिक कृषि, पर्यटक र प्राकृतिक सम्पदा भएको बताउदै पर्यटकिय सम्भावना बोकेको क्षेत्रमा पुर्वाधार निर्माणले पर्यटकहरुलाई थप टेवा पु¥याउने बताए । टोड्केले जिल्लाका पर्यटकिय सम्भावना बोकेका अन्य क्षेत्रमा लगानी गर्ने वातावरण सिर्जना गरेको बताउदै ठुलो लगानीमा निर्माण गरिएको रिर्सोटलाई सफल बनाउन सबै लाग्नुपर्ने बताए ।

त्यस्तै मेयर हरिकुमार श्रेष्ठ, रघुगंगा गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारी मंगला गाउँपालिका उपाध्यक्ष सिर्जना केसीले पर्यटकिय क्षेत्रमा भएको लगानीको सुरक्षा र स्थानीय उत्पादन र रोजगारीको दिगो नीतिगत विकास, सडक, संचार र लगानीको सहज वातावरण निर्माण गर्ने प्रतिवद्धता जनाएका थिए । त्यस्तै प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले जिल्लाको विकास लागि पर्यटकिय क्षेत्रमा भएको लगानीलाई सुरक्षित महसुस गराउन सरकार सधै प्रतिवद्धता रहेको बताए ।

त्यसैगरी राजनीतिक दलको तर्फबाट राप्रपा म्याग्दीका अध्यक्ष विरबहादुर थापा, क्षेत्रीय होटल व्यवसायी संघका अध्यक्ष लक्ष्मण सुवेदी, म्याग्दी उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष बेलबहादुर कटुवाल, झिँ वडा अध्यक्ष मनबहादुर शेरपुञ्जा र पत्रकार महासंघका अध्यक्ष तारानाथ शर्माले शुभकामना व्यक्त गरेका थिए ।

टोड्के हिल रिसोर्ट प्रा.लीका अध्यक्ष मिम पाइजाको अध्यक्षता, टोड्के क्षेत्र विकास कोषका अध्यक्ष बाबुराम आचार्यको सञ्चालन र प्रा.लीको सचिव भिम शेरचनको स्वागत मन्तब्य रहेको कार्यक्तममा स्थानीय कलाकारको सास्कृति प्रस्तुतीका साथै मगर समुदायले पुर्खौली नृत्य प्रस्तुत गरेका थिए ।

सुर्योदय, हिमशृङखला, गुराँसे जंगल, पहाडी भूगोलको अवलोकन गर्न टोड्केमा आउने पर्यटकलाई खानेबस्ने सुविधाका लागि रिसोर्ट सञ्चालन गरिएको अध्यक्ष पाइजाले बताए । तीन वटा घर रहेको टोड्केमा यसअघि होटल तथा लजको सुविधा नहुँदा पाहुनाहरुलाई समस्या भएको थियो ।

गुराँसे जंगलको बिचमा पुर्व फर्किएको भिरालो पाखोमा समुन्द्री सतहदेखि दुई हजार ३४० मिटर उचाइमा रहेको रिसोर्टका सबै कोठाबाट धौलागिरि, अन्नपूर्ण, निलगिरि, गुर्जा, माछापुच्छ्रे लगायत १६ वटा हिमाल हेर्न सकिन्छ । झिँ, पुर्णगाउँ, डडुवाका ९ जना संस्थापकले स्थापना गरेको टोड्के हिल रिसोर्टमा हालसम्म करिब तेत्तीस जनाले ३ करोड सेयर लगानी गरेका छन् ।

एक वटा अति बिशिष्ट कोठा रहेको रिसोर्टमा एक वटा डाइनीङ, किचन, एक सय जना क्षमताको तालिमहल र सबै कोठामा तातोपानीको सुबिधा छ । क्याम्पिङ गर्नेहरुका लागि दश वटा टेन्टको व्यवस्था गरिएको छ । दोस्रो चरणमा विदेशी पाहुनालाई लक्षित गरेर कटेज बनाउने तयारी छ । स्थानीय मगर समुदायबाट सांस्कृतिक प्रस्तुती पनि देखाउने योजना बनाएका छन् ।

६ रोपनी क्षेत्रफलमा फैलीएको रिसोर्टले थप साढे चार रोपनीमा अर्गानिक तरकारी खेति गरेको छ । रिसोर्टमा पाँच जनाले रोजगारी पाएका छन् । अर्गानिक तरकारी, लोकल कुखुरा, हाँस र खसीको मासु, कोदो र फापरको ढिडो, सिमिको दाल, मुलाको अचार, सिन्की र गुन्द्रुक लगायत परिकारको स्वाद लिन सकिने रिसोर्टले जनाएको छ ।

धौलागिरि सेन्चुरी, चक्रीय र गुरील्ला पदमार्गको प्रवेश नाकामा अवस्थित टोड्केमा झिँ, वाखेत र पूर्णगाउँबाट सडक तथा बेनी जगन्नाथ हुदै पैदलयात्रा गरेर पुग्न सकिन्छ । टोड्केको प्रचारप्रसारका लागि टोड्के क्षेत्र विकास कोषले दुई पटक गुराँस महोत्सव सञ्चालन गरेको थियो ।
सामुदायिक भवन, खेलमैदान, पिकनिक स्पट, पदमार्ग र सार्वजनिक शौचालय निर्माण गरिएको छ । टोड्केलाई स्वर्गद्धारीको शाखा पनि मानिएकाले धार्मिक पर्यटनको समेत सम्भावना छ । स्वर्गद्धारी ऋषिले तपस्या गरेकाले शाखा भनिएका मन्दिरमा ऋणीले प्रयोग गरेका खराउ (काठका चप्पल) प्रमाणको रुपमा राखिएको छ ।

 

 

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l