बेनीमा रहेको १३१ बर्ष पुरानो जिर्ण झोलुङ्गे पुलको संरक्षण गरिने (भिडियो सहित)

  • १२ मंसिर २०७५, बुधबार
  • कमल खत्री
  • 2995 पटक पढिएको

बेनी, १२ मङ्सिर । म्याग्दी सदरमुकाम बेनी स्थित मंगलाघाट र हाँडेभिर जोड्न म्याग्दीखोलामाथि बनाईएको १३१ बर्ष पुरानो ऐतिहाँसिक झोलुङ्गे पुलको संरक्षण र मर्मत गरिने भएको छ । वि.स. १९४४ सालमा स्थानीय प्रविधि र स्रोत साधनलाई प्रयोग गरि बनाईएको उक्त झोलुङ्गे पुल जिर्ण बनेपछि बेनी नगरपालिकाले सो पुलको मर्मत र संरक्षण गर्न लागेको हो ।

तत्कालिन समयमा बागलुङ गलकोटका लालप्रसाद शेरचनले लुकुर बनको काँचो फलाम र म्याग्दीको रुम गाउँका स्थानीयको पुलमा काम गर्ने शिपलाई प्रयोग गरि म्याग्दी खोलामा वारपारको लागी झोलुङ्गो हाल्नुभएको थियो । काँचो फलामलाई गोलमा तताएर कुटेर साङ्ले लठा बनाएर खोलामा वारपारको लागि हालिएको झोलुङ्गोलाई विकास गर्दै अहिले जिर्ण अवस्थामा रहेको पुलको रुपमा विकास गरिएको स्थानीय अगुवा एवम जेष्ठ नागरिक समाज म्याग्दीका अध्यक्ष नैनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

अहिले पुलमा प्रयोग भएको साङ्ले अठा सोही समयमा स्थानीय स्रोत र शिपलाई प्रयोग गरि बनाईएका हुन् । तत्कालिन समयमा माथि र तल गरि दुई वटा साङ्ले लठामा फलामको पाता राखेर एउटा काठको फल्याक मात्रै राखेर वारपार गर्ने झोलुङ्गो बनाईएको थियो । २०१४ सालमा म्याग्दीको बावियाचौरमा बसोबास गर्ने पुलका निर्माणकर्ता शेरचनका नाती भिमप्रसाद शेरचनका दाजुभाईहरुको पहलमा झोलुङ्गोलाई हटाएर झोलुङ्गे पुलको रुपमा विकास गरिएको श्रेष्ठले जानकारी दिनुभयो ।

‘‘ यो ठाउँमा पुल बन्नु अघि यस क्षेत्रमा कुनैपनि पुल थिएन, तत्कालिन गुल्मी र बागलुङ हड्डा रहँदा म्याग्दी र पर्वतका स्थानीय सबै जसो यहिबाटो वारपार गर्थे, लामो समयसम्म म्याग्दीको म्याग्दीखोला पारिका स्थानीय र वारीका स्थानीय वारपार गर्ने मुख्य बाटो यहि बन्यो’’– श्रेष्ठले भन्नुभयो । सदरमुकाम बेनीमा रहेको जिल्लाकै पुरानो र स्थानीय स्रोत र साधनलाई प्रयोग गरि बनाईएको पुलको मर्मत संगै संरक्षण गर्न लागिएको बेनी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत छबिलाल सुवेदीले जानकारी निुभयो ।

मंगलवार नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत, प्राविधिक , जनप्रतिनिधि सहित टिबिएसयु पोखराका इन्जीनियर सतिस राई, क्षत्रीय प्रविधि सहयोग प्रदायक (आरटिएपि) का प्राविधिक संयोजक नरबहादुर सम्बाहम्फे, प्राविधिक अधिकृत श्रीधर भण्डारी नेतृत्वको टोलीले पुलको मर्मत र संरक्षणको लागी स्थलगत निरिक्षण गरेका छन् ।

पुरानो र ऐतिहाँसिक महत्व बोकेको यो पुलको काठहरु कुहिएको र जालीहरु समेत तितरबितर हुन थालेपछि चालु आर्थिक बर्षमा मर्मतको लागि वडा कार्यालयको सिफारिसमा नगरपालिकाले रु ३ लाख बजेट विनियोजन गरेको वडा नम्बर ७ का अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठले बताउनुभयो । उहाँले प्राविधिकहरुको सल्लाह बमोजिम जिल्लाकै पुरानो पुलको स्वरुप नबिग्रन गरि मर्मत र संरक्षण गरिने जानकारी दिनुभयो ।

स्थानीय स्रोत र शिपलाई प्रयोग गरि बनाईएको साङ्ले लठाको तौल धेरै भएको र अहिलेको जस्तो प्रविधी नभएकाले नदीमा लठोलाई तन्काउन तत्कालिन समयमा यस क्षेत्रका प्रायजसो सबै गाउँबाट स्थानीय बेनी झेरका थिए । म्याग्दी नदीमा अहिलेपनि जिर्ण अवस्थामा रहेको झोलुङ्गे पुलको तत्कालिन जिल्ला विकास समिति र मंगलाघाटका स्थानीयको लगानीमा मर्मत भएको थियो । पुलदेखि देउरालीसम्मको बाटोलाई ज्येष्ठ नागरिक समाजका अध्यक्ष श्रेष्ठले नै मर्मत गर्नुभएको थियो ।

यो पुलका सुरुवातकर्ता शेरचनकै पहलमा १९४६ मा बेनीदेखि पर्वत बेनी जोड्न कालिपुलमा कालिगण्डकी नदीमा झोलुङ्गो हालिएको थियो । तत्कालिन समयमा यि दुई पुल बाहेक यस क्षेत्रमा म्याग्दी र कालिगण्डकी नदीमा अन्य झोलुङ्गे पुलहरु नरहेको आफ्ना अभिभावकबाट आफुले जानकारी लिएको ज्येष्ठ नागरिक समाजका अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

त्यस्तै बेनीको खुलामञ्चदेखि खवरा तर्फ जाने झोलुङ्गे पुललाई समेत स्थानान्तरण गरिने भएको छ । खुलामञ्चको खेलमैदान विस्तार गरि व्यवस्थित गराउनको लागि अहिले झोलुङ्गे पुल रहेको ठाउँबाट भगवती मन्दिर तर्फ पुललाई स्थानान्तरण गर्न लागिएको वडा अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । पुल स्थानान्तरणको लागि रु २४ लाख बजेट विनियोजन भएपनि प्राविधिकहरुको स्टिमेट तयार भएपछि ६ महिनाभित्र निर्माण कार्य सम्पन्न गर्ने गरि काम सुरु हुने नगरपालिकाले जनाएको छ ।

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l