गलेश्वर मन्दिरमा एक महिनामै १३ लाख बढी भेटि संकलन

  • २९ श्रावण २०७५, मंगलवार
  • 3347 पटक पढिएको

म्याग्दी, २९ साउन । प्रसिद्ध धार्मिक स्थल बेनी नगरपालिका–९ स्थित गलेश्वर मन्दिरमा साउन महिनामा कुल रु १३ लाख २७ हजार ४५२ भेटी संकलन भएको छ । साउन महिनामा परेका चार वटा सोमबारमा पुजा गर्न आएका भक्तजनहरुबाट उक्त भेटी संकलन भएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका कोषाध्यक्ष बम बहादुर पुनले बताए  ।

अन्तिम सोमबार सबै भन्दा धेरे ४ लाख ७ हजार ६ सय ९१ रुपैयाँ संकलन भएको थियो । साउन महिनाको तेस्रो सोमबार तिन लाख २३ हजार ९०८, दोस्रो सोमबार तिन लाख सात हजार ५८२ र पहिलो सोमबार दुई लाख ८८ हजार २७१ रुपैया भेटि संकलन भएको थियो ।

भगवान शिबको पुजा आरधानाको लागि उपयुक्त महिनाको रुपमा रहेको साउनमा मात्रै गलेश्वरमा १ लाख २० हजार बढी भक्तजनहरु आएको कोषका सदस्य सचिब माधव प्रसाद रेग्मीले जानकारी दिए ।म्याग्दीका विभिन्न स्थानका साथै बागलुङ, पर्वत, कास्की, स्याङ्जा, चितवन, गोर्खा, लमजुङ, नवलपरासी लगायतका क्षेत्रबाट भक्तजनहरु आएर पुजा गर्न आउछन् । मन्दिरको पुजाआजालाई ब्यवस्थित बनाउन सरकारी तथा गैरसरकारी संघसस्था, विद्यालय, क्लव र आमासमुह लगायतले सहयोग गर्दै आएकाे  सचिव रेग्मीले बताए ।

कालीगण्डकी रघुगंगा नदी दोभानमा नौ रोपनी क्षेत्रफलमा फैलीएको एउटै चट्टान माथी अवस्थित गलेश्वरमा सतिदेवीको गला पतनभएको धार्मीक शास्त्रहरुमा उल्लेख छ । साउन महिनाको सोमबार, शिवरात्री र बालाचर्तुदर्शीमा बिशेष मेला लाग्ने गलेश्वरमा पुजाआजा र दर्शन गरेमा मनोकाक्षा पुरा हुने जनविश्वास छ । कोषले मासिक र साप्ताहीक रुपमा संकलित भेटि विवरण सार्वजनीक गर्दै आएको छ ।