भुतपूर्व सैनिक सहकारीमा अत्याधुनिक विद्युतिय प्रविधिबाट कारोबार सुरु ( भिडियो सहित)

  • २ जेष्ठ २०७५, बुधबार
  • कमल खत्री
  • 2626 पटक पढिएको

म्याग्दी, २ जेठ । म्याग्दी सदरमुकाम बेनीमा रहेको भुतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्थाले अत्याधुनिक विद्युतिय प्रविधिबाट कारोबार सुरु गरेको छ । सेयर सदस्य र ग्राहकहरुलाई छिटो छरितो र भरपर्दो सेवा प्रदान गर्ने उदेश्यले मोवाइल बैङ्कीङ सेवाको अत्याधुनिक प्रविधिलाई कार्यान्वयनमा ल्याएको हो । पायोनर एसोसिएट प्रा.लि.ले विकास गरेको स्वचालित व्यवस्थापन प्रणाली ‘कोसिस’ सफ्टवेयरलाई जडान गरि सहकारीले मोवाइल बैङ्किङ सेवा मार्फत आधुनिक विद्युतिय प्रणालीमा सेवा सुचारु गरेको सहकारीका अध्यक्ष बालकृष्ण सुवेदीले जानकारी दिनुभयो ।

सहकारीमा खाता खोलेका ग्राहक एवम सेयर सदस्यहरुले मोवाइलमा एप्स डाउनलोड गरि सहकारीले प्रदान गर्ने पिन नम्बरको सहायताले आफ्नो खाताको जम्मा रकम र कारोबारलाई हेर्न सक्नुको साथै मोवाइलबाटै टेलिफोन, विजुली, पानीका बिल तिर्न सकिने व्यवस्था रहेको अध्यक्ष सुवेदीले बताउनुभयो । उहाँका अनुसार, जिल्लामा रहेका सहकारीहरु मध्ये भुपु सैनिकले पहिलो पटक यस किसिमको अत्याधुनिक प्रविधिको प्रयोग गरि कारोबार सुरु गरेको हो ।

सहकारीको यस सेवाबाट आफ्नो खातामा रहेको व्यालेन्स, मीनी स्टेटमेन्ट हेर्न सकिने सुविधा संगै मोवाईल रिचार्ज, एक खाताबाट अर्को खातामा ब्यालेन्स ट्रान्सफर र मोवाईलबाटै आफ्नो खातामा भएको कारोबारको जानकारी लिन सकिने सुविधा रहेकाले सेवाग्राहरुलाई सहज हुने अध्यक्ष सुवेदीको भनाई छ । चेक हराएमा मोवाईलबाटै हराएको चेकलाई रोक्का गर्ने सुविधा समेत रहेको सहकारीका सचिब गणेश प्रसाद श्रेष्ठले बताउनुभयो ।

‘‘ बैँकहरुले प्रयोग गर्दै आएको यस प्रकारको विक्तिय सफ्टवेयर मार्फत सहकारीका ग्राहकरुलाई समेत सेवा दिने उदेश्यले यो सेवा सुचारु गरेका हौँ, यसले संस्थाको आन्तरिक सेवा प्रवाह र लेखा व्यवस्थापनलाई व्यवस्थित र पारदर्शी बनाउन सहयोग पुग्नुको साथै सेवाग्राहीलाई प्रविधिमैत्री सेवा दिन सहयोग पुग्ने अपेक्षा गरेका छौँ,’’–अध्यक्ष सुवेदीले भन्नुभयो ।यस प्रविधि अन्र्तगत सञ्चालक समितिले सहकारीको दैनिक कारोबारको अबस्थालाई मोवाईलबाटै म्यानेजमेन्ट एप्स मार्फत निगरानी राख्न सक्ने सुविधा समेत रहेकाले यो सेवाले सहकारीका सेवाग्राही, शेयर सदस्य र सञ्चालक सबैलाई समयको बचत गराउनुको साथै छिटो र छरितो सेवा प्रदान गर्ने पायोनर एसोसिएटका प्रतिनिधि मनोज श्रेष्ठले बताउनुभयो  ।

नेपालका ७४ भन्दा बढी बैँकका शाखाहरुमा यस सहकारीमा रहेको रकमलाई ट्रान्सफर गर्न सकिने र बिशेष गरि भुपु सैनिकहरुको एभरेष्ट लगायतका बैंकहरुको खातामा रहेको आफ्नो पेन्सनको रकम समेत सहकारीबाटै झिक्न सक्ने सुविधा रहेको छ । २०६३ सालमा स्थापना भएको यस सहकारीमा अहिले करिब १ हजार बढी शेयर सदस्य रहेका छन् ।

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l