स्वस्थानी व्रत शुरु

  • २८ पुष २०७३, बिहीबार
  • 2221 पटक पढिएको

शङ्करापुर नगरपालीकामा अवस्थित धार्मिक शाली नदीमा श्री स्वस्थानी व्रत कथामा उल्लेख भएअनुसार एक महिने धार्मिक मेला विहिबारदेखि सुरु भएको छ ।

प्रत्येक वर्ष माधवनारायणको मुर्ती शालीनदीमा ल्याएर मेला सुरु हुने व्यवस्थानपन समितीले जानकारी दिएको छ । तिथी ढिलाबाट सुरु हुने भएपनि बिहानैदेखि दर्शनाथीहरुको बाक्लो उपस्थिति मन्दिर वरपर रहेको छ ।श्री स्वस्थानीमा रचना भएअनुसार गोमा ब्रामहणी पुत्रनवराज राजाले राज्य गरेको प्राचिन नगर लावण्य देश साँखुको बाहिर रहेको नदी किनारमा भक्तजनहरु एक महिनासम्म पूजाआराधना गर्दै व्रत बस्ने गरेका छन् ।

salinadi-photo-1

प्रत्येक वर्षको पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म चल्ने एकमहिने स्वस्थानी व्रत आजबाट सुरु भएको छ । मनोकांक्षा पूरा हुने विश्वासका साथ एक महिना अवधिसम्म बसिने यो व्रत विशेषगरी पौराणिक धर्मग्रन्थ स्कन्द पुराणमा आधारित मानिन्छ ।

सत्ययुगमा भगवान् विष्णुको सल्लाहअनुसार हिमालयकी पुत्री पार्वतीले महादेव स्वामी पाउँ भनी बालुवाको शिवलिङ्ग बनाई निराहार व्रत बसेर तपस्या गरी मनोकाक्षा पूरा भएको कुरा स्वस्थानी ब्रत कथाको धार्मिक जनविश्वास रहेको छ ।

पौष शुक्ल पूणिर्मादेखि व्रत बस्ने भएकाले अघिल्लो दिनमा हातगोडाका नङ काटी आफ्नो शरीर सफा राखी सङ्कल्पपूर्वक व्रत बस्ने चलन रहेको छ । एक महिनापछि समापन हुने क्रममा अक्षता, बेलीपुष्प, सुपारी, फलफूल रोटी लगायतका नैबेत बनाई सबै १०८ का दरले चढाई शिवलिङ्गसहित ॐकारयुक्त अष्टदलमा स्वस्थानीको विशेष पूजा गरिने प्रचलन छ ।ग्रन्थमा उल्लेख भएअनुसार आफ्नो नजिकको मानीसलाई उक्त प्रसाद दिएमा ब्रत सिद्ध हुने जनविश्वास रहेको छ ।

शाली नदी पुग्नको लागि श्रद्धालुहरुले ललीतपुरको सातदोबाटो, काठमाडौ रत्र्नपार्क, चावहिल चोक, पर्यटकीय स्थल नगरकोटबाट समेत सार्वजनिक यातायातका साधन पाउन सकिन्छ ।यता भक्तपुर हुदै जान चाहने हरुले नगरकोट सडक खण्ड अन्र्तगतको तेलकोटबाट २० मिनेटको पैदल हिँडेर समेत पुग्न सकिन्छ ।

source: ratopati