पुलाका आदर्श युग पुरुष सुवेदार भीमबहादुर बानियाँको संक्षिप्त चिनारि
- १९ भाद्र २०७४, सोमबार
- पण्डित प्रेम प्रकाश पौडेल
- 3149 पटक पढिएको
पण्डित प्रेम प्रकाश पौडेल / सिउर बानियाँ जुम्लाबाट म्याग्दी पुलामा आएर बस्ने पहिला बानियाँ हुन् । उनको पाँचौ पुस्तामा पर्ने ऋतुध्व बानियाँका माहिला छोराको नाम हो, सुवेदार भीमबहादुर बानियाँ । उनको जन्म सम्वंत १९३६ मा पुलाडाँडामा भएको थियो । सानै उमेरमा भारत त्यति बेलाको ब्रिटीस सेनामा भर्ति भएर बहादुरी साथ काम गरेकाले ३२ वर्षमा सुवेदार भै तिन पुस्ते बहादुरी पेन्सनमा घरमा आएका हुन । सेनामा रहदा नै उनले घरको ब्यवस्था मिलाई सकेका रहेछन् । आफु अत्यन्त दयालु सामाजिक स्वाभाव भएका ब्यक्ति हुदाँ, पेन्सनमा आउँदा ल्याएको पैसाले आफ्नै समाजलाई फाईदा हुन सक्ने अलि गतिलो काम गर्ने विचार लिएछन् ।
त्यो बेला गाउँघरमा अत्यन्त्रै गरिबी थियो, हुने खाने अत्यन्त्रै थोरै हुन्थे बाँकि सबै गरिवै गरिव, सबैले छाक र गुजारा गर्न सकेपनि पैसाको आवश्यक पर्दा अत्यन्तै पीडा हुन्थ्यो । पैसाको बहुतै कठिन थियो । घरको सामान्य विवाह व्रतबन्ध न्वारान आदि काममा पैसा नभै नहुने हुदाँ त्यतिबेला झन अप्ठेरो खप्नु पथ्र्यो । यस्ता कामहरु नगरि नहुने हुदाँ साहुहरु कहाँ नगैँ हुदैनथ्यो । यो अवस्थामा साहुहरुले मौका छोपेर ढ्याके चोके खेताला कोशेली आदि आदि थप्दा यसमा ७० प्रतिशत ब्याज हुन आउँथ्यो । यसरी त्यँहाका जनता साहुहरुबाट ज्यादै नै पिल्सिएका थिए । प्रायः जसो त्यतातिर थाक खोलाका थकालिहरुले लगानी गर्थे । यी समाजका गतिविधिहरु पहिले नै छुट्टिमा आउँदा नियालिरहेका हुनाले आफुसँग भएको पैसा यही काममा लगाएर गाउँलेहरुलाई सहयोग गरेर थोरै मात्र पनि गरिबी ब्यथामा मलम लगाउने विचार लिएछन् । र एक जना बहिदार भर्ना गरेर केवल वार्षिक १० प्रतिशत ब्याज लिने गरि पैसा वितरण गर्ने गरि तुरुन्तै काम आरम्भ गरेछन् । उनीसंग कति पैसा थियो । कति लगानी गरे त्यो त थाहाँ भएन तर त्यँहाका प्राय सबै जसो जनताहरुले यस्को प्रत्यक्ष लाभ पाएका थिए । केहि बर्ष पछि पनि, अभाव भएका मान्छेहरु घरमा आएको, तम्सुक बनाएर पैसा वितरण गरेको र कतिका व्याजहरु लिदै गरेको तम्सुकका मुठाहरु बाधेर बाकसमा थन्काएको कुराहरु लेखकबाट अनुभूति भएको थियो । त्यो जमानामा त्यस्तो किसिमको आर्दश कामको आरम्भ गर्ने ब्यक्तिलाई धन्यबाद दिनुपर्छ उनको अनुकरण गनुपर्छ । यस्ता ब्यक्तिलाई युग पुरुष पुरुष भन्नुपर्छ ।
चेप्टो र गोरो अनुहार मझौला कद बाक्ला दारि जुँगा प्राय बर्दि पोशाकमा रम्ने अत्यन्तै प्रभावशालि ब्यक्ति थिए । उनले पुलाचौरको ढाडपानिमा राम्रो चिटिक्क परेको दुईतले खरले छाएको सुन्दर घर बनाएका थिए । घरमा सबै कुराको बन्दोबस्त मिलाएर र बसेका थिए । गाई भैसीँ बाख्रा, घोडा र हासँहरु पालेका थिए । धर्ममा पनि उनको अन्यन्तै आस्था देखिन्थ्यो, घरमै मन्दिर बनाएका थिए पुजाआजा यज्ञहरु भैरहन्थ्यो चौतारी, पोखरी, पाटि, पौवा पनि बनाएका थिए ।
दैनिक पूजाआजा गर्नु, शंख घण्टा बजाउनु, श्रीखण्डको चन्दन सिरमा लगाउनु उनको दैनिकी थियो । भजन गाउने, ब्रह्मानन्द भजन मालाको पुस्तक सधै गोजिमा हुन्थ्यो । कठरस भनेर फलफूलको मदिरा सेवन गर्थे, तमाखु खान्थे खुवाउथे, त्यो घरमा आउने भद्र भलादमी ब्राह्मण पुरोहित र गोठाला खेतालाहरुमा पनि उचित आदर र सम्मान हुन्थ्यो । बिहान बेलुका फुर्सदमा गाउँ घर डुली सबैको अवस्था बुझ्थे र सहयोग गर्थे । यी उनको सोख थियो । समग्रमा भन्नुपर्दा त्यतिबेलाका आदर्श युग पुरुष थिए, भिमबहादुर बानियाँ ।
पहिलो बिबाहबाट सन्तान नभएकोले आफ्नै सालीसंग दोश्रो विवाह गरेका हुन तर पनि सन्तान भएनन् निरास भएर भाईको छोरालाई घरमा ल्याएर पालेका पनि थिए । पछि कान्छी पत्नीबाट डेकबहादुर, लालबहादुर थबहादुर तीन छोरा र तीन छोरिको जन्म भयो फेरि अर्कि पत्नीबाट पनि गणेशबहादुर एक जना छोरा जन्मे बुढेसकालमा भएपनि धेरै परिवारहरु भएर खुसि भएका थिए । आजभोलि सबै परिवारका छोराछोरीहरुको राम्रो बन्दोबस्त भएको छ । आर्थिक, राजनैतिक, सामाजिक क्षेत्रमा प्रगति भएको छ । सबै दरसन्तानहरुको राम्रो प्रगति भएको देख्दा खुसि लाग्छ ।
यसरी ऐतिहासिक कामको थालनि गरेर जनताहरुको सेवा गर्दै जनताका प्रिय पात्र हुदाँहुदै अचानक असमयमा नै ६९ वर्षको उमेरमा जनतालाई रुवाएर २००५ सालको आश्विन दशैको एकादशी पूण्य तिथि पारेर सदाको लागि यो संसारबाट विदा लिएर गएका थिए । यस्ता महापुरुषको आत्मा परआत्मा मिलोस हार्दिक श्रद्धाञ्जली ।