म्याग्दीका भूकम्प पिडितको आवास निर्माणमा पैशा आयो, इञ्जिनियर आएनन्
- १३ भाद्र २०७४, मंगलवार
- गोपाल छन्त्याल
- 1871 पटक पढिएको
म्याग्दी, १३ भदौ । जिल्ला समन्वय समिति म्याग्दीले गत आर्थिक बर्ष २०७३÷०७४ मा जिल्लामा ८ सय ६८ भुकम्पपीडितको पहिचान ग¥यो । सोही अनुसार, पहिलो किस्ता बापत पहिलो चरणमा ६ सय ४५ पीडितलाई ५० हजार रुपैयाँका दरले निजी आवास निर्माणका लागि तीन करोड २२ लाख ५० हजार अनुदान समेत वितरण गरियो । अहिले पहिलो किस्ता लिन बाँकी रहेका र प्रक्रिया पुगेका लाभग्राहीका लागि भन्दै जिससलाई थप तीन करोड रुपैयाँको अख्तियारी आएको छ । तर, राष्ट्रिय पुननिर्माण प्राधिकरणले जिल्लामा इञ्जिनियर नखटाउँदा पहिलो किस्ता बुझेका लाभग्राहीले चाहेर पनि आवास निर्माणको काम अघि बढाउन पाएका छैनन् ।
लाभग्राहीमा आवास निर्माणका लागि लिईएको रकम कता मासिन्छ भन्ने त्रास उत्पन्न भएको छ । बेनी नगरपालिका–१० भीमराज दर्जीले रकम पाएपनि घर बनाउने कामका लागि प्राविधिक सहयोग नपाएको बताउनुभयो । घर भत्किने अवस्थामा पुगेपछि दर्जी परिवार करिब दुईबर्षदेखि आफन्त कहाँ आश्रय लिएर बसेका छन् । ‘घर भत्केको १८ महिनापछि ५० हजार पायौँ, घर बनाउन सुरु गरेपछि अरु पैशा पनि पाइन्छ भन्छ तर एकदमै ढिला भयो’, उहाँले गुनासो गर्नुभयो । जिससका अनुसार, गत आबमा बेनी नगरपालिका क्षेत्रमा ३ सय ५९, रघुगंगा गाउँपालिकामा ३४, अन्नपूर्णमा ७३, मँगलामा १ सय २६, मालिकामा ३५ र धौलागिरिमा १८ जना पीडितलाई अनुदान उपलब्ध गराईएको छ । लाभग्राहीलाई पायक पर्ने बैंक मार्फत अनुदान वितरण गरिएको थियो ।
अझै रघुगंगामा १सय ११, अन्नपूर्णमा ४१, बेनीनगरपालिकामा ५८ र धौलागिरिमा १२ जना लाभग्राहीले पहिलो किस्ता बापतको अनुदान बुझ्न बाँकी छ । जिससका सूचना अधिकारी पदम भण्डारीले इञ्जिनियर खटाउन प्राधिकरणलाई पत्र मार्फत ध्यानाकर्षण गरिएको बताउनुभयो । ‘दुईहप्ता अघि नै हामीले इञ्जिनियर खटाउन प्राधिकरणलाई माग गरेका छौँ, दोश्रो किस्तालाई थप तीन करोड रुपैयाँको अख्तियारी आएपनि आवास निर्माणको काम भएकै छैन’ उहाँले भन्नुभयो । लाभग्राहीले ५० हजार रुपैयाँले आवास निर्माणका लागि अतिआवश्यक सरसामान खरिद गरेको उहाँको भनाई छ । जिससले सबै नगर तथा गाउँपालिकामा छुटेका भूकम्पपीडितको नाम समावेश गर्न वडा कार्यालय मार्फत काम गरिरहेको जनाएको छ । प्राधिकरणका सह–प्रवक्ता डा. भीष्मबहादुर भुसालले कम प्रभावित १७ जिल्लामा आवास निर्माणका लागि एक हजार इञ्जिनियर आवश्यक पर्ने भएकाले भर्नाका लागि प्रक्रिया सुरु गरिएको बताउनुभयो । विज्ञापन, परिक्षा र अन्र्तवार्तासम्म काम हुँदा दशैं पछि सबै जिल्लामा इञ्जिनियर खटिनेछ र निर्माणको कामलाई तीब्र बनाउने उहाँको भनाई छ ।
गोपाल छन्त्याल
म्याग्दी अनलाईन डट् कमका निर्वर्तमान सम्पादक हुन् l