मुस्ताङको ठिनीमा पहिलो होमस्टे
- ११ भाद्र २०७४, आईतवार
- सुन्दरकुमार थकाली
- 1715 पटक पढिएको
मुस्ताङ, ११ भदौ । मुस्ताङपूर्वको नीलगिरि तथा पश्चिमको मनमोहक धौलागरि हिमशृंखला यिनको सौन्दर्यको जतिसुकै वर्णन गरे पनि अधुरै रहन्छ । त्यसमाथि यी दुई हिमालबीचको समथर बगरको भू—भागमा बग्ने कालिगण्डकी करिडोरको बखान गरिसाध्य छैन । यहाँ धार्मिक, सांस्कृतिक, ऐतिहासिक, प्राकृतिक र सामाजिक संस्कृति र सभ्यता छन् जसको अवलोकनले मुस्ताङ घुम्ने पर्यटकको मन छुन्छ ।
सदरमुकाम जोमसोम बजारनजिकै २ किलोमिटर परपर्ने थकाली गाउँ हो ठिनी । यो गाउँलाई थकाली सभ्यताको उद्गम स्थलका रुपमा लिइन्छ । साविक जोमसोम ९ र हालको घरपझोङ गाउँपालिका ५ अन्तर्गत पर्ने आदिवासी जनजाति थकालीको मौलिक कलासंस्कृति र सभ्यताको महत्वपूर्ण किंवदन्ती यहाँ जीवितै छ । यहाँका पुराना प्राचीन शैलीका एकआपसमा जोडिएका घर, तिनै घरका छतमाथि दाउरा सिगार्ने प्रचलन र धार्मिक तथा पर्यटकीय सम्पदाले ठिनी घुम्नेपर्ने ठाउँमध्येको एक मानिन्छ ।
पूर्वको निलगिरि हिमालको फेदमा अवस्थित ठिनीमा करिब सय घरधुरी छन् । अरु गाउँभन्दा विशेष फरक शैलीको नमूना गाउँ मध्येको गाउँ ठिनी पर्दछ । नीलगिरि हिमालको फेदमा ऐतिहासिक घरपझोङ किल्ला, कुछ्प तेरङ्गा गुम्बा, यारुझो भ्युटावर, ढुम्बालेक, स्नो लियोपार्ट, नमखुलेक र तिलिचो पदमार्ग महत्वपूर्ण गन्तव्य हुन् ।ठिनी गाउँमा यति धेरै पर्यटकीय गन्तव्य छन् तैपनि ठिनीबासीले कहिल्यै पनि पर्यटन पूर्वाधार विकास गरेर हालसम्म आर्थिक लाभ लिन सकेको छैन । यसक्षेत्र वरिपरि प्रशस्त घुम्ने डुल्ने थलो भए पनि पर्यटक बास बस्न जोमसोमै झर्नुपर्ने बाध्यता छ । ठिनीमा पर्यटकले बाँस बस्ने स्तरीय होटल नहुँदा यो समस्या आएको जनमुक्ति युवा क्लबका अध्यक्ष नरेन्द्र थकालीको भनाइ छ ।
उनले पछिल्लो समय होमस्टे सुविधा सुरु हुन थालेपछि यसको प्रभाव ठिनीमा पनि परेको बताए । एक वर्षअघि क्लबकै सक्रियतामा ठिनीका केही घरले होमस्टे व्यवसाय सुरु गरेको भए पनि कानुनी र व्यवस्थापन पक्षमा जटिलता थपिएको थियो । जिल्ला घरेलु तथा साना उद्योग तथा अन्नपूर्ण संरक्षण क्षेत्र एक्यापको सहयोगमा स्थानीयबासीलाई होमस्टे अवधारणा सम्बन्धी प्रशिक्षण, होटल सञ्चालनका लागि कुकिङ तालिम र होमस्टे सञ्चालन भएका क्षेत्रको भ्रमण गराएको थियो । सामान्य हिसाबले होमस्टेको नाम दिएर व्यवसाय सञ्चालन गर्दै गरेका ठिनीका ५ घरका स्थानीयले शुक्रबारदेखि वैधानिकता प्राप्त गरेका छन् ।
होमस्टे सञ्चालक समितिका अध्यक्ष सनप्रसाद थकालीले होमस्टेले वैधानिकता प्राप्त गरेपछि चुनौती र जिम्मेवारी बढेको बताए । ‘ठिनी गाउँमा सञ्चालन भएको यो पहिलो होमस्टे हो, यसलाई पर्यटन बोर्डले इजाजत दिएको छ,’ थकाली भने, ‘अब गाउँको विकास गर्न र आयआर्जनको स्रोत बढाउन सबै स्थानीयलाई यसतर्फ आर्कषित गर्ने प्रयत्नमा जुट्ने छौं ।’ ‘ठिनी गाउँको एकता, हिउँ चितुवा जोगाउने प्रतिबद्धता’भन्ने उद्घोषसहित पर्यटकीय गाउँ ठिनीमा शनिबार होमस्टेको विधिवत उद्घाटन भएको छ । एक वर्षअघि थालिएको लामो प्रयासपछि उक्त सामुदायिक होमस्टेले कानुनी मान्यता प्राप्त गरेको हो ।
पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशीले होमस्टेको उद्घाटन गर्दै ठिनी गाउँको पर्यटन विकासमा पर्यटन बोर्ड सकारात्मक भएको बताए । उनले मुस्ताङको पर्यटन विकास थकाली सभ्यता धार्मिक, सांस्कृतिक गतिविधि महत्वपूर्ण भएको उल्लेख गरे । ‘अरु देशको पर्यटन व्यवसाय व्यापार हो र हामी कहाँको पर्यटन व्यवसाय आतिथ्यता बढी र व्यपार दुबै हो,’ उनले भने, ‘हाम्रो संस्कृति, हाम्रो आतिथ्यता, हाम्रो भेषभूषालाई कहिल्यै छोड्ने नहुने कुरा हुन्, होमस्टे सञ्चालन गरेपछि आफै भईहाल्छ ,अरु कसैले गरिदेला भन्ने मान्यता राख्नु हुँदैन ।’
उनले होमस्टे सञ्चालन गर्दा सिर्जनशीलता र व्यावसायिकतामा जोड दिनुपर्ने बताए । ‘होटलको सस्तो रुप होमस्टे हो भन्ने मान्यता गलत हो,’ जोशीले भने, ‘होमस्टे भनेको विशिष्ट अनुभव र संस्कृति बुझ्ने अवसर हो ।’ उनले प्रत्येक घरका ६ देखि क्रमागत दुरी घटाउँदै जान सकिए होमस्टे सार्थक हुने बताए । सहायक प्रजिअ लक्ष्मणबहादुर खड्काले व्यवसाय सुरु गर्दा आन्तरिक पर्यटकप्रति पनि लक्षित हुनुपर्ने उल्लेख गरे । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप जोमसोमका प्रमुख तुलसी दाहालले विगत ३१ वर्षदेखि एक्यापले जिल्लाको पर्यटन विकासमा योगदान गर्दै आएको बताए । कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख राजेन्द्र शेरचन, घरपझोङ गाउँपालिका अध्यक्ष आशबहादुर थकाली, होमस्टे सञ्चालक समितिका सचिव प्रवीण थकाली बोलेका थिए ।
यसअघि ठिनी गाउँमा होमस्टे सञ्चालन गर्दै आएका आशबहादुर थकाली, बत्ती थकाली, जुमा थकाली, लालप्रसाद थकाली र मीना थकालीलाई अन्नपूर्ण संरक्षण क्षेत्र एक्यापले उपलब्ध गराएको एकथान सिरक र डसना वितरण गरिएको थियो । त्यस्तै संस्थाले पर्यटन बोर्डका सिइओ दीपकराज जोशीलाई मायाको चिनो गलैंचा हस्तान्तर गरिएको थियो कार्यक्रममा जनमुक्ति क्लबले परम्परागत थकाली नृत्य प्रस्तुत गरेको थियो । कार्यक्रम सनप्रसाद थकालीको अध्यक्षता भएको थियो । कार्यक्रममा स्वागत नरेन्द्र थकालीले गरेका थिए भने सञ्चालन सरीता थकाली गरेकी थिइन् ।