‘अन्नपूर्ण आरोहणको हीरक महोत्सव’, उद्घाटनमा प्रधानमन्त्री ओली आउने
- ८ जेष्ठ २०८२, बुधबार
- कमल खत्री
- 49 पटक पढिएको
म्याग्दी , ७ जेठ । अन्नपूर्ण प्रथम हिमाल (८०९१ मि) मा पहिलो पटक मानव पाईला टेकेको ७५ बर्ष पूरा भएको अवसरमा म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा हीरक महोत्सव आयोजना गरिएको छ । महोत्सव उद्घाटनका लागि अन्नपूर्ण आधार शिविरमा पूधानमन्त्री केपी शर्मा ओली आउनुहुने भएको छ । ‘अन्नपूर्ण हीरक महोत्सव’ उद्घाटनका लागि जेठ २० गते प्रधानमन्त्री यहाँ आउन लाग्नुभएको हो ।
हीरक महोत्सवको अवसरमा म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ४ नारच्याङ स्थित अन्नपूर्ण आधार शिविरबाट सुरु हुने म्याराथुन दौड प्रतियोगिताको उद्घाटनसंगै मूल समारोहमा सहभागी हुन प्रधानमन्त्री आउने निश्चित भएको गाउँपालिका अध्यक्ष भारतकुमार पुनले जानकारी दिनुभयो । उहाँका अनुसार, प्रधानमन्त्रीले आधार शिविरमा प्रथम आरोही मौरिस हर्जोग, लुइस लचेनल र नेपाली आरोही सोनाम वाङ्चुक शेर्पाको सालिक अनावारण गर्नुका साथै आधार शिविरमा निर्माण भएको खुला सङ्ग्राहलय र नारच्याङदेखि आधार शिविर जोड्ने मौरिस हर्जोग पदमार्गको समेत उद्घाटन गर्ने कार्यक्रम छ ।
अन्नपूर्ण हिमाल आरोहण नेपालको पर्वतारोहण इतिहासमा ऐतिहासिक दिनको रुपमा परिचित छ । सन् १९५० जुन ३ मा फान्सेली पर्वतारोही मौरिस हार्जोगको नेतृत्वमा लुइस लचेनल र दुई नेपाली शेर्पासमेत चार जनाले अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गर्नुभएको थियो । पहिलो पटक अन्नपूर्ण हिमालको आरोहण गर्न प्रयोग भएको आधार शिविर र पदमार्ग म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ४ नारच्याङमा पर्छ । अन्नपूर्ण प्रथम हिमाल आरोहणको ७५ वर्ष पूरा भएको अवसरमा जेठ १६ देखि २१ गतेसम्म अन्नपूर्ण हीरक महोत्सव आयोजना गरिएका अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष दिवाकुमारी तिलिजा पुनले जानकारी दिनुभयो । अन्नपूर्ण गाउँपालिकाको नेतृत्वमा पर्यटन बोर्ड, पर्वतारोहण संघ, टान, एक्याप र अन्नपूर्ण गाउँपालिका पर्यटन विकास समितिको आयोजनामा महोत्सव हुनेछ ।
हीरक महोत्सवमा प्रथम आरोही फ्रान्सेली नागरिक मौरिस हर्जोगका छोरो माथिएस हर्जोग सहित फ्रान्सेली आरोहीहरु र विभिन्न देशका राजदुतहरुलेसमेत सहभागिता जनाउने भएका छन् । माथिएस हर्जोग गत कार्तिकमा ७५ वर्ष अघि आफ्ना बुबा हिँडेको बाटो हिँडेर अन्नपूर्ण हिमालको आधार शिविरसम्म पुगेर फर्कनुभएको थियो । अन्नपूर्ण प्रथम हिमालकै आधार शिविर र नारच्याङमा विविध कार्यक्रम सहित मनाउन लागीएको हीरक जयन्ती महोत्सव व्यवस्थापनको लागि वडा नम्बर ४ को वडा कार्यालय, सिर्जनशील आमा समूह, जनजागरण युवा क्लब, अन्नपूर्ण युवा क्लबलाई जिम्मेवारी दिईएको छ ।
आठ हजार मिटरभन्दा अग्ला हिमालमध्ये अन्नपूर्णमा पहिलो मानव पाइला परेको कारण अन्नपूर्णलाई जेठो हिमाल भनिन्छ । सन् १९५० मा जुन ३ मा फ्रान्सका मौरिस हर्जोग र लुई लचेनलको टोलीले अन्नपूर्णको शिखर चुमेको तीन वर्षपछि विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण भएको थियो ।
अन्नपूर्ण प्रथम हिमाल आरोहण दिवस पहिलो पटक सम्बन्धित भूगोलमा मनाउन लागिएको हो । यस अघि अन्नपूर्ण आरोहण दिनको अवसरमा सरकारी तवरबाट पोखरा र काठमाण्डौमा समारोह आयोजना हुँदै आएका थिए । अन्नपूर्ण आरोहण हुने प्रथम आधार शिविर म्याग्दीको नारच्याङमा पर्ने भएपनि सरकारी र राजनीतिक तवरबाट उपेक्षामा पर्दै आएको थियो । संघीयता कार्यान्वयन संगै स्थानीय तह बनेसंगै अन्नपूर्ण गाउँपालिकाले अन्नपूर्ण प्रथम हिमालको आधारशिविर र आरोहण पदमार्गको प्रचार प्रसार र पूर्वाधार निर्माणसंगै सरकारी अभिलेखहरुमा रहेका त्रुटीहरु सच्याउन पहल गर्दै आएको छ ।
हीरक महोत्सवका मुख्य आकर्षण
अन्नपूर्ण हीरक जयन्तीको अवसरमा ३० किलोमिटर लामो दुरीको म्याराथुन दौड प्रतियोगिता हुने भएको छ । आधार शिविरदेखि नारच्याङ गाउँसम्मको म्याराथुन प्रतियोगितामा करिब ६० जनाले सहभागीता जनाउने भएका छन् । अन्नपूर्ण गाउँपालिकाका ८ वटै वडाबाट ५/५ जना र जिल्लाका अन्य पाँच स्थानीय तहबाट २/२ जना र नारच्याङ क्षेत्रबाट थप युवाहरुले समेत म्याराथुनमा भाग लिने म्याराथुन दौड प्रतियोगिता उपसमितिका सदस्य चित्र तिलिजाले जानकारी दिनुभयो । उहाँका अनुसार, प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुनेलाई क्रमशः नगद रु ५० हजार, ३० हजार र २० हजार पुरस्कार प्रदान गरिनेछ ।
उक्त अवसरमा आधार शिविरमा शिलाखेलमा आरोहीहरुको अभिलेख राख्ने समेत यतारी गरिएको अन्नपूर्ण गाउँपालिका पर्यटन विकास समितिका सदस्य एवं अन्नपूर्ण प्रथम आधार शिविर पदमार्गका अभियन्ता तेज गुरुङले बताउनुभयो । उक्त अवसरमा नारच्याङमा हुने मूल समारोहमा अन्नपूर्ण गाउँपालिकाका आठ वटै वडाको सहभागितामा पुख्र्याैली नृत्य तथा झाँकी प्रदर्शनी, खुला नृत्य प्रस्तुती संगै अन्नपूर्ण हिमालका विदेशी तथा नेपाली आरोही र यस हिमालको प्रचार प्रसारमा योगदान दिने व्यक्तिहरुलाई सम्मान तथा पुरस्कार वितरण लगायतका कार्यक्रमलाई समावेश गरिएको आयोजकले जनाएको छ । त्यसैगरि हीरक महोत्सवकै अवसरमा प्रथम आरोही हर्जोगले प्रयोग गरेका उपकरण उहाँका परिवारबाट नेपाल पर्वतारोहण संघद्वारा सञ्चालित अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय पोखरालाई हस्तान्तरण गर्ने र हर्गोजले लेखेर फ्रान्सेली राजदूतावासले अनुवाद गरेको पुस्तक ‘द अन्नपूर्ण’ को विमोचन गर्ने कार्यक्रम समेत तय भएको छ ।
गुमनाम पहिचान स्थापित गराइने
म्याग्दी, कास्की, मनाङ र मुस्ताङ जिल्लाको सिमानामा रहेको आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल आरोहण गर्ने बाटो र मुख्य आधार शिविर म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको भूगोलमा पर्छ । तर अहिलेसम्म म्याग्दीले अन्नपूर्ण प्रथमको पहिचान र आरोहण रोयल्टीमा संघर्ष गरिरहनुपरेको छ । अन्नपूर्ण आरोहणको लागि प्रयोग हुने आधार शिविर म्याग्दीको भूगोलमा पर्ने भएपनि यो क्षेत्र ओझेलमा परेकाले पालिकाले अभियानकै रुपमा पूर्वाधार निर्माण गरिरहेकाले यस क्षेत्रको प्रचार प्रसार र प्रवद्र्धनका लागि अन्नपूर्ण हीरक महोत्सव आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष पुनले बताउनुभयो । नेपालमा हिमाल आरोहणको इतिहास बोकेको मौरिस हर्जोग पदमार्गको पहिचान र प्रचार प्रसार संगै पर्यटन प्रवद्र्धनका लागि महोत्सवले रचनात्मक भूमिका खेल्ने उहाँको भनाई छ ।
अनुपम पर्यटकीय सौन्दर्य
अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जोड्ने पदमार्ग अनुपम पर्यटकीय सौन्दर्यले भरिपूर्ण छ । आधार शिविरमा रहेको मनमोहक पञ्चकुण्ड ताल र फुतफुते झरना पर्यटकहरुको आकर्षण बन्ने गरेका छन् । प्राकृतिक सौन्दर्य र जैविक विविधतायुक्त भूगोल अन्नपूर्ण पदमार्गका मुख्य आकर्षण हुन् । हर्जोगले आरोहणका लागि आधार शिविर जान प्रयोग गरेको पदमार्गलाई पछ्याउँदै वि.स. २०६८ मा नारच्याङका पर्यटन व्यवसायि तेज गुरुङको नेतृत्वमा यस पदमार्ग पहिचान गरिएको थियो । पदमार्गको पहिचान गरि पदमार्ग, आश्रयस्थल, टिसप, होटल लगायतका पूर्वाधार बनेर प्रचार प्रसार हुन थालेपछि अहिले पो पदमार्ग निकै चर्चामा छ । दुई दिनको यात्रामा पुग्न सकिने यस पदमार्ग अन्तरगत पोखरेबगरदेखि हुमखोला सम्मको २० किलोमिटर दूरीको बाटोमा सडकको पहुँच पुगेको छ भने हुमखोलादेखि १६ किलोमिटर दूरीमा पदमार्ग बनाइएको छ । हिमाल आरोहणमा सबैभन्दा कठिन मानिने अन्नपूर्ण प्रथम हिमालको आधार शिविर पूग्न भने सबैभन्दा सहज बनेपछि अहिले यस क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकहरुको आगमन बढ्दो छ । पूर्वाधार निर्माण र सुविधाको विस्तार गर्दै अन्नपूर्ण आधार शिविरलाई सुरक्षित, साहसिक र उत्कृष्ट गन्तव्यको रुपमा विकास गर्न अभियान सार्थक बन्दै गएको छ । रासस

कमल खत्री
म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l