२३ औं अन्तर मा.वि. जेसीज कप फुटबल प्रतियोगिताको तयारी पुरा

  • ८ मंसिर २०८२, आईतवार
  • 1 पटक पढिएको

म्याग्दी, ७ मङ्सिर । म्याग्दी सदरमुकाम बेनीमा सञ्चालन हुन लागेको २३ औँ अन्तर मा.वि. जेसीजकप फुटवल प्रतियोगिताको तयारी पुरा भएको छ । आइतवार आयोजित पत्रकार सम्मेलनमा म्याग्दी जेसीजका शाखा अध्यक्ष विनोद घर्तीले मङ्सिर ८ देखि १३ गतेसम्म बेनीको खुलामञ्चमा सञ्चालन हुने प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिनुभयो ।

कक्षा १० सम्मका विद्यार्थीहरुले सहभागीता जनाउने जेसीज कप फुटवल म्याग्दीमा विद्यालय तहमा प्रतिस्पर्धा हुने लोकप्रिय र चर्चित प्रतियोगिताको रुपमा परिचित छ । प्रतियोगिताका मुल संयोजक एवं म्याग्दी जेसीजका कोषाध्यक्ष नवीन पौडेलले प्रतियोगिताको प्रचार प्रसार, आर्थिक संकलन, अफिसिलय व्यवस्थापन, खेलमैदान व्यवस्थापन लगायतका कार्यहरु अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो ।

सोमबार साँझ औपचारिक रुपमा उद्घाटन हुने प्रतियोगिताको खेल भने बेनीको खुलामञ्चमा सञ्चालन हुनेछन् । प्रतियोगितामा प्रथम हुनेले रनिङ शिल्डसहित ट्रफी, मेडल, प्रमाणपत्र सहित नगद रु ५५ हजार पाँच सय ५५ र उपबिजेताले ट्रफि, मेडल र प्रमाणपत्र सहित नगद रु ३५ हजार पाँच सय ३५ पुरस्कार प्राप्त गर्नेछन् ।


प्रतियोगितामा उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, राइजीङ प्लेयर, उत्कृष्ट प्रशिक्षकलाई नगदरु २ हजार पाँच सयसहित ट्रफिद्धारा पुरस्कृत गरिनेछ । त्यस्तै, अनुसासित टिम र सेमिफाइनल पुग्ने दुई टिमलाई नगद रु ५ हजार सहित सहित सम्मान गरिने प्रतियोगिताका संयोजक पौडेलले जानकारी दिनुभयो ।

प्रतियोगिता सञ्चालनको लागि एभरेष्ट ग्लोबल एजुकेसन भिसा सर्भिस मुख्य प्रायोजक रहेको छ भने गंगा जिसी फाउण्डेसन र प्रभु बैँक सहप्रायोजकको रुपमा रहेका छन् । पत्रकार सम्मेलनमा म्याग्दी जेसीजका पूर्व अध्यक्ष समेत रहनुभएका नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष सन्दिप खत्रीले म्याग्दी जेसीजले हरेक बर्ष सञ्चालन गर्ने जेसीज कप फुटवलले म्याग्दीमा विद्यालय तहबाटै फुटवल खेलको विकास गर्न र खेलाडी उत्पादनमा रचनात्मक भूमिका खेल्दै आएको बताउनुभयो ।