सिचाई मन्त्रालयको उच्च स्तरीय टोलीद्धारा म्याग्दीका योजना अनुगमन

  • १३ फाल्गुन २०८१, मंगलवार
  • 1 पटक पढिएको

बेनी, १३ फागुन । गण्डकी प्रदेश सरकारको उर्जा, जलस्रोत, सिचाई तथा खानेपानी मन्त्रालयको उच्च स्तरीय टोलीले मंगलबार म्याग्दीमा सञ्चालित योजनाहरुको अनुगमन गरेको छ । उर्जा, जलस्रोत, सिचाई तथा खानेपानी मन्त्री फडिन्द्र देवकोटा, मन्त्रालयका सचिव डा. राजन भट्टराई र खानेपानी, सिचाई तथा जलस्रोत डिभिजन कार्यालय म्याग्दीका प्रमुख झलकमोहन ओझाको टोलीले बेनी नगरपालिका र मंगला गाउँपालिकामा सञ्चालित सिचाई, खानेपानी र नदी नियन्त्रण योजनाको अनुगमनका साथै उपभोक्ता र सरोकारवालाहरुसँग छलफल गरेको हो ।
बेनी नगरपालिकाका योजना अनुगमनमा म्याग्दी १(१) बाट निर्वाचित प्रदेश सांसद हरिबहादुर भण्डारी, बेनी नगरपालिकाका प्रमुख सुरत केसी, बेनपा–१ का वडा अध्यक्ष टेकबहादुर थापा र मंगला गाउँपालिकाको अनुगमनमा गाउँपालिका अध्यक्ष सतप्रसाद रोका, उपाध्यक्ष पेमा अधिकारी, वडा नं.–२ का वडा अध्यक्ष धनबहादुर खाती क्षेत्री पनि सहभागी हुनुभएको थियो ।

मंगला गाउँपालिका–३ को पखेर लिफ्ट सिचाई, वडा नं.–२ को घुरेनी–कोत्रवाङ–सिम, रणवाङ सिचाई र खानेपानी आयोजनाको अनुगमन गरिएको थियो । बेनी नगरपालिका–४ सिंगा तातोपानी कुण्ड र बस्ति संरक्षण योजनाको अनुगमन गरेको मन्त्रालयको टोलीले सिंगा तातोपानी कुण्ड ब्यवस्थापन समितिका पदाधीकारीहरुसँग छलफल पनि गरेको थियो । यसैगरी बेनी नगरपालिका–१ मा निर्माणाधिन रत्नेचौर लिफ्ट खानेपानी आयोजनाको लामगरा स्थित सम्पवेल पम्प, पाइपलाइन निर्माण स्थलको अनुगमन गरेपछि टोलीले वडा कार्यालयमा उपभोक्ता समिति, स्थानीयबासी र सरोकारवालाहरुसँग छलफल गरेको थियो ।

मन्त्रि देवकोटाले प्रदेश सरकारले सञ्चालन गरेका मन्त्रालय मातहतका योजनाहरुको कार्यान्वयनको अवस्थाको बारेमा जानकारी लिने, आयोजनाहरुको प्रभावकारिताको बारेमा लाभग्राहीहरुको प्रतिक्रिया लिने र समस्या पहिचान गर्ने उद्देश्यले अनुगमनमा आएको बताउनुभयो ।

प्रदेश सरकारले आगामी आर्थिक वर्ष पुराना योजनाहरुलाई सम्पन्न गर्न पुग्ने गरि बजेट ब्यवस्था गर्ने नीति लिने बताउदै मन्त्री देवकोटाले सिचाई र खानेपानी योजनाको दिगो सञ्चालनका लागि उपभोक्ता समितिको क्षमता विकासमा जोड दिनुभयो ।

पानीका परम्परागत स्रोतको संरक्षणको लागि प्रदेश सरकारले नीतिगत प्राथमिकता दिने मन्त्रि देवकोटाको भनाई थियो । सचिव भट्टराईले सिचाई तर्फका योजना सञ्चालन भएका ठाउँका कृषकहरुले ब्यवसायिक फलफुल, तरकारी खेती मार्फत आयआर्जनमा अग्रसर बन्न आग्रह गर्नुभयो ।

प्रदेश सरकारको एक घर, एक धारा खानेपानी कार्यक्रमलाई उपलब्धीमुलक बनाउन पुराना योजनाहरुलाई पूर्णता दिन अध्ययन भइरहेको उहाँले बताउनुभयो । स्थानीय जनप्रतिनिधी र उपभोक्ताहरुले खानेपानीका योजनाहरुमा पर्याप्त बजेट नहुँदा बर्षौसम्म सम्पन्न हुन नसकेको, सिचाई योजनाहरुमा बाढी, कटान र भुक्षयको कारण क्षति पुगेकाले मर्मत तथा पुननिर्माणका कार्यक्रम आवश्यक रहेको बताउनुभयो । म्याग्दी नदी कटान, पहिरो र बाढीका हिसाबले जोखिमयुक्त जिल्ला भएपनि नदि नियन्त्रणका योजना र बजेट बढाउन मन्त्रि र सचिवको ध्यानाकर्षण गराइएको थियो ।

म्याग्दीमा यस वर्ष गण्डकी प्रदेश सरकार मार्फत खानेपानी र सिचाई सुविधा विस्तार तथा नदी नियन्त्रण सम्बन्धी ६५ वटा योजनाहरु सञ्चालन भएका खानेपानी, जलस्रोत तथा सिचाई डिभिजन कार्यालय म्याग्दीका प्रमुख झलकमोहन ओझाले बताउनुभयो । रु. १४ करोड ३८ लाख ५० हजार बजेटमा खानेपानीका ३६, सिचाइका २०, नदी नियन्त्रणका छ, उर्जाका दुई र सर्वेक्षण सम्बन्धी एक वटा योजना सञ्चालन गरेको उहाँले बताउनुभयो ।

गत वर्ष रु. १७ करोड ६५ लाख १० हजार पँुजिगत बजेट भएको कार्यालयले सञ्चाल गर्ने योजनाहरुमा यसपाली करिब रु. तीन करोड बजेट घटेको हो । बादुक, घोरेनी कोत्रवाङ, खोप्ती, सामतुङ सोता सिचाई र तातोपानी नदी नियन्त्रण योजना कार्यान्वयनका लागि निर्माण ब्यवसायीसँग ठेक्का सम्झौता भएको छ ।

चालु आर्थिक वर्षमा सम्पन्न हुने चरणमा रहेका केही योजनाहरुका लागि वजेट अभाव भएकाले थप बजेटको ब्यवस्था मिलाउन प्रदेश सांसद भण्डारी र कार्यालय प्रमुख ओझाले मन्त्रालयको टोलीसँग आग्रह गर्नुभएको थियो ।