बेनी बजारलाई चिनाउने माध्ययम ‘संगीत, संस्कृति र प्रकृति’
- २९ पुष २०८१, सोमबार
- कमल खत्री
- 1 पटक पढिएको
म्याग्दी , २९ पुस । कालीगण्डकी र म्याग्दी नदीको दोभानमा अवस्थित बेनी बजारको चिनारी गीत संगीत, संस्कृति र प्रकृतिको सुन्दरताबाट स्थापित बनेको छ । भौगोलिक भूवनोटका आधारमा सुन्दर सहरहरुमा पर्ने बेनी बजारलाई यहाँको कला, संस्कृति, परम्परा र गीत संगीतको माध्ययमले देश तथा विदेशमा चिनाएका छन् ।
म्याग्दीका कलाकार दम्पती मन छन्त्याल र टिकाबहादुर श्रेष्ठले सिर्जना गर्नुभएको ‘बेनीको बजार जता माया उतै छ नजर किरेमिरे जाले रुमाल’ गीतले बेनीबजारलाई देश विदेशमा चिनाएको छ । बेनीबजारको चिनारीसंग जोडिएको छ ‘माघे संक्रान्ति मेला’ । बेनीमा परम्परागत रुपमा लाग्दै आएको माघे संक्रान्ति मेलाले बेनीको महीमालाई उजागर गर्छ ।
बेनीमा लाग्ने माघे संक्रान्ति मेलाले बेनीबजारको व्यापार व्यवसाय, कला संस्कृति र पर्यटन विकासमा महत्वपूर्ण योगदान दिएको बेनीका पुराना व्यवसायि समेत रहनुभएका ८३ बर्षिय पुन्यबहादुर शाक्यले बताउनुभयो । उहाँका अनुसार, म्याग्दीका साथै पर्वत र बागलुङबाट समेत बेनी स्थित कालीगण्डकीमा माघी नुहाउन आउने र मेला भर्ने चलन थियो । तत्कालिन समयमा हुने माघि मेला बेनी क्षेत्रमा मनोरञ्जन, व्यापार व्यवसाय र आपसी भेटघाटको माध्ययम थियो ।
‘‘पहिले दुई दिन माघे संक्रान्ति मेलाजात्रा हुन्थ्यो, टाढा टाढाबाट आएकाहरुले नाचगान गर्ने, गाउँका सामान ल्याएर विक्रि गर्ने र घरमा आबश्यक पर्ने सामान किनेर लैजाने गर्थे, सञ्चारको कुनै माध्ययम नहुँदा समेत माघे संक्रान्तिमा बेनीमा मानिसहरुको भिड थामिनसक्नु हुन्थ्यो’’– शाक्यले भन्नुभयो । खासगरि बेनीमा डाला नाङ्ला, ठेका, फलामका भाडाकुडा र घरेलु हतियार, लत्ताकपडा र खाद्यान्न सामाग्री खरिद विक्रि गर्न माघे संक्रान्ति मेलालाई उपयोग गर्ने चलन रहेको थियो । जिल्लाभरबाट मेला भर्न आएकाहरुले मेलामा छेलो फाल्ने प्रतिस्पर्धा गर्थे भने बिजेतालाई साफा गुथाएर सम्मान गर्ने प्रचलन रहेको थियो।
बेनीबजारको परम्परागत संस्कृतिको रुपमा रहेको माघे संक्रान्ति मेलाले परिवर्तित समय अनुसार परिमार्जन र नयाँनयाँ प्रयोग सहित निरन्तरता पाइरहेको छ । माघे संक्रान्ति मेलाजात्रालाई २०५७ सालदेखि आधिकारिक आयोजक बनेर सञ्चालन गर्न थालिएको थियो । सुरुवातका दुई बर्ष निर्माण व्यवसायि संघले माघे संक्रान्ति मेला आयोजना गरेकोमा २०५९ सालमा म्याग्दी उद्योग बाणिज्य संघको नेतृत्वमा मेलालाई निरन्तरता दिईएको थियो । त्यसयता हरेक तीन÷तीनबर्षमा एक पटक म्याग्दी उद्योग बाणिज्य संघको आयोजनामा महोत्सव तथा अन्य बर्षहरुमा महिला उद्यम विकास समितिका आयोजनामा मेला तथा सडकखाना महोत्सव सञ्चालन हुँदै आएको छ ।
वि.स.२०६० सालमा तत्कालिन धौलागिरि अञ्चलमै पहिलो पटक बेनीमा माघे संक्रान्ति मेला तथा प्रथम म्याग्दी महोत्सव आयोजना भएको थियो । म्याग्दी उद्योग बाणिज्य संघका तत्कालिन अध्यक्ष प्रमोद श्रेष्ठको नेतृत्वमा माघे संक्रान्ति मेलालाई महोत्सवको रुपमा आयोजना गरिएको थियो । ‘‘ मौलिक पर्वको रुपमा माघे संक्रान्ति मेलालाई व्यवस्थित रुपमा सञ्चालन गर्न पहिलो पटक महोत्सव लगाएका थियौँ, आज आइपुग्दा आठौँ संस्करणको महोत्सव आयोजना भैरहेको छ, जिल्लाको पर्यटन प्रवद्र्धन, सम्भावनाको उजागर, व्यापार व्यवसायको विस्तारसंगै कला संस्कृति संरक्षणमा महोत्सवको सकरात्मक प्रभाब रहेको देखिन्छ’’– श्रेष्ठले भन्नुभयो ।
यस बर्ष म्याग्दी उद्योग बाणिज्य संघले आइतवारदेखि आठौँ म्याग्दी महोत्सव तथा माघे संक्रान्ति मेला सञ्चालन गरेको छ । मेलालाई मनोरञ्जन र व्यापार व्यवसायको माध्ययम संगसंगै जिल्लाको पर्यटन प्रवद्र्धन र आर्थिक विकासको सम्भावना उजागर गर्ने गरि सञ्चालन गर्न लागिएको मुल संयोजक एवं म्याग्दी उद्योग बाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले बताउनुभयो । ‘‘महोत्सव विगतको मेलाको निरन्तरता हो, तर हामीले नयाँपन दिने जमर्को गरेका छौँ, जिल्लामा रहेका कला संस्कृतिको संरक्षण, स्थानीय उत्पादनको प्रवद्र्धन र पर्यटन विकासलाई सघाउने गरि महोत्सवका कार्यक्रम तय गरेका छौँ’’– अध्यक्ष श्रेष्ठले भन्नुभयो ।
महोत्सवमा जिल्लामा रहेका उत्पादन र लघुउद्यमीहरुले तयार गरेका बस्तु तथा सामाग्रीको विक्रिवितरण र पदर्शनीका लागि निशुल्क स्टलको प्रवन्ध गरिएको छ । महोत्सवलाई जिल्लाको सम्भावना उजागरसंगै जलविद्युत, खानी, पर्यटन लगायतको क्षेत्रमा लगानी भित्र्याउन बहस, छलफल र उचित वातावरण बनाउने माध्ययम बनाउने जमर्को गरिएको संघका बरिष्ठ उपाध्यक्ष राजेश शाक्यले बताउनुभयो । म्याग्दी महोत्सवले जिल्लामा रहेका जातजातिका कला, संस्कृति संरक्षण र संवद्र्धनमा महत्वपूर्ण योगदान दिने गरेको छ । म्याग्दीको चिमखोलाबाट सुरु भएको थालीनाचलाई व्यापकबनाउन समेत बेनीमाहुने मेलाजात्राले सहयोग पुग्ने गरेको छ ।
मौलिक भेषभूषा, संस्कृतिको संरक्षणमा जागरण ल्याउन बेनीमा माघे संक्रान्ति पर्वको अवसरमा आयोजना हुने मेला महोत्सवले महत्वपूर्ण योगदान दिने गरेको नेपाल मगर संघ जिल्ला समन्वय समिति म्याग्दीका अध्यक्ष लोकबहादुर पुनले बताउनुभयो । ‘‘बेनीमा माघे संक्रान्तिको अवसरमा हुने मेलाजात्रा र महोत्सवहरु मनोरञ्जन संगसंगै संस्कृति संरक्षणको समेत माध्ययम बन्दै आएको छ, महोत्सवमा सबै समुदायको मौलिक कला संस्कृतिलाई प्राथमिकता दिने गरिएको छ, यसले संस्कृतिको संरक्षण गर्न र नयाँ पुस्तामा संस्कृति हस्तान्तरण गर्न समेत सघाएको छ’’– अध्यक्ष पुनले भन्नुभयो । यस पटकको महोत्सवमा कलाकारहरुको साँगेतिक प्रस्तुतीसंगै खुल्ला लोकदोहोरी गीत प्रतियोगिता, छेलो फाल्ने, खुला पुख्र्यौली नाच , लोकनृत्य, भजन र रत्यौली लगायतका मौलिककला र संस्कृतिसंग सम्बन्धित प्रतियोगितालाई समावेश गरिएको छ ।
कमल खत्री
म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l