संरक्षकहरुको आयआर्जनमा सघाउन बाटेको धुप बनाउने तालिम प्रदान
- १० पुष २०८१, बुधबार
- 101 पटक पढिएको
म्याग्दी १० पुस । मानसिक रोगका विरामीका संरक्षकहरुको आयआर्जनमा सघाउन बाटेको धुप बनाउने तालिम प्रदान गरिएको छ । लिड्स नेपालले भिसेन्टी फेरर फाउण्डेशन, स्पेनको सहयोगमा म्याग्दीमा रहेका मानसिक रोगका विरामीका संरक्षकहरुलाई आयआर्जनमा सघाउन निःशुल्क रुपमा बाटेको धुप बनाउने तालिम प्रदान गरेको हो ।
२५ जनाको सहभागिता रहेको तालिममा प्रशिक्षक विष्णु गर्वुजाले स्थानीय धुपि, फुलहरुको धुलो र नेपाली कागजको प्रयोग गरेर बाटेको धुप बनाउने सिप सिकाउनुभएको थियो ।
बाटेको धुप वातावरणमैत्री हुने र स्वास्थ्यमा समेत प्रतिकुल असर नगर्ने भएकाले पछिल्लो समय यसको माग बढ्दो छ । तालिमको उद्घाटन गर्दै लिड्स लेपालका कार्यकारी निर्देशक डाक्टर पदमराज श्रेष्ठले स्थानीय स्र्रोत, साधनको उपयोग गरि बाटेको धुप बनाउन सकिने भएकाले तालिमबाट प्राप्त गरेको सिपलाई व्यावसाकिय बनाउन सकेमा आयआर्जन बृद्धि हुनेमा जोड दिनुभयो । उहाँले संरक्षकहरुले उत्पादन गरेका बस्तु तथा सामाग्रीको बजारीकरणको लागि संरक्षक कोसेली घर सञ्चालनमा ल्याईएको जानकारी गराउँदै संरक्षकहरु उत्पादन र उद्यमशिलतामा जोडिनुपर्ने बताउनुभयो । लिड्सले म्याग्दीमा रहेका मानसिक रोगका विरामीका संरक्षकहरुले उत्पादन गरेका उपजहरुको बजारीकरणमा सघाउन ‘संरक्षक कोसेली घर’ दर्ता गरेर सञ्चालनमा ल्याउने तयारी गरेको छ ।
बेनी नगरपालिका–९ गलेश्वरमा सञ्चालन हुने संरक्षक कोसेली घरमा बजारीकरणको लागि राखिने उपजहरुको संकलनका लागि विभिन्न सात ठाउँमा संकलन केन्द्र स्थापना गरिएको लिड्स नेपालका कार्यक्रम संयोजक निशा महतले जानकारी दिनुभयो । उहाँका अनुसार, निकट भविश्यमा बेनीमा हुन लागेको म्याग्दी महोत्सवमा समेत संरक्षकहरुले उत्पादन गरेका उपजहरुलाई प्रदर्शनी र विक्रिका लागि स्टल राखिने भएको छ ।
म्याग्दीका संरक्षकहरुले उत्पादन गरेका टिमुर, भट्ट, सिमि, लोकल चामल, कोदाको पिठो, सिस्नोको पाउडर, अचार, मसौरा लगायतका उपजहरुलाई लेबलिङ र प्याकेजिङ गरेर विक्रि वितरण गरिने कार्यक्रम संयोजक महतले बताउनुभयो । ‘‘ हामीले कम्पनी रजिष्टर्ड कार्यालय र वडा कार्यालयमा समेत कोसेली घरलाई दर्ता गरेका छौँ, संरक्षकहरुले जतिपनि उत्पादन गरेका उपजहरु हुन्छन, तिनलाई हामीले संकलन केन्द्र मार्फत संकलन गछौँ र कोसेली घरबाट विक्रि गर्छौँ, यसले कृषकहरुले उत्पादन गरेका थोरै थोरै सामानको पनि मुल्य पर्छ र उनीहरुको आयआर्जनमा सुधार हुन्छ भन्ने विश्वास लिएका छौँ’’–महतले भन्नुभयो ।
लिड्सले म्याग्दी कार्यक्षेत्र बनाएर मानसिक रोगका विरामीको उपचार तथा उनका संरक्षकहरुको आयआर्जनमा सुधार ल्याउन विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । लिड्सले यस अघि संरक्षकहरुलाई आलुको विउ वितरण, उद्यमशिलताका लागि औजार उपकरण सहयोग, प्राकृतिक प्रकोपका कारण घर भत्किएकाहरुको आवास पुननिर्माण, कुखुराका चल्ला र माउ बाख्रा वितरण, सिपमुलक तालिम प्रदान गर्दै आएको छ ।