पवित्र तीर्थस्थल कागबेनीमा पितृ तर्पण गनेंको घुइँचो

  • १३ कार्तिक २०८१, मंगलवार
  • 199 पटक पढिएको

म्याग्दी, १३ कात्तिक । मुस्ताङको बारागुङ मुक्तिक्षेत्र–४ मा अवस्थित पवित्र तीर्थस्थल कागबेनीमा पितृ तर्पण गर्नेको घुँइचो लागेको छ । यस बर्षको सोह्र श्राद्धमा देशभर बाढी पहिरोले सडक अवरुद्ध भएपछि कागबेनीमा श्राद्ध गरेर पितृ तर्पण गर्न आउन नपाएकाहरु दसैँ लगत्तै आउन थालेका हुन् । कागबेनी स्थित कालीगण्डकी नदि किनारको श्राद्धस्थलमा पितृ तर्पण गर्नका लागि दैनिक सयौँको संख्यामा श्रद्धालु भक्तजनहरूको घुइँचो लागेको छ।


दिवंगत पितृका नाममा श्राद्ध तथा पिण्डदान गर्ने र तर्पण दिनका लागि देशका विभिन्न जिल्लाका साथै भारतबाट समेत धार्मिक तिर्थालुहरु कागबेनी आउने गरेको पुजारी हिमाल सुवेदीले बताउनुभयो । उहाँका अनुसार, दैनिक दुई सय बढी जनासम्मले दिवंगत आफन्तको सम्झनामा कागबेनीमा श्राद्ध गर्ने र तर्पण दिने गरेका छन् ।
मुक्तिनाथ र दामोदरकुण्डबाट बगेर आउने कालीखोला र मुक्ति गण्डकीको संगम रहेको कागबेनी पितृ तर्पणको लागि महत्वपूर्ण तिर्थस्थलको रुपमा मानिन्छ । कागबेनीमा बडा दसैँ र चैते दसैँको औशीमा हजारौँको सख्ंयामा पितृ तर्पण गर्नेहरुको घुँइचो लाग्ने भएपनि यस बर्ष बाढी पहिरोको कारण सोह्र श्राद्धको समयमा उल्लेख्य मात्रामा तिर्थयात्री आउन सकेका थिएनन् ।
‘‘बाढी पहिरोले सडक मार्ग अस्तव्यस्त बनाएपछि सोह्र श्राद्धमा ठूलो संख्यामा भक्तजन आउन सकेका थिएनन्, दसैँ पछि मौसममा सुधार भएपछि कागबेनीमा तर्पण दिन दिनहुँ भिड लाग्ने गरेको छ’’– पुजारी सुवेदीले भन्नुभयो । दामोदर कुण्डबाट बगेर आएको काली र मुक्तिनाथका १ सय ८ धाराबाट बगेर आएको गण्डकीको संगम भएकाले यहाँ पुगेर पिण्डदान गर्दा सबैभन्दा ठूलो फल मिल्ने कुरा शास्त्रहरूमा उल्लेख छ ।
परापूर्वकालमा काग भुसुण्डे ऋषिले हिमाली ताल तलैयाहरुमा तपस्या गरी कागखोलामा आएर स्नान गरी पितृहरूको नाममा तर्पण र पिण्ड दिएको हुनाले कागबेनीधाममा पितृ उद्धारका लागि श्राद्ध, तर्पण, पिण्ड आदि दिने चलनको सुरुआत भएको धार्मिक मान्यता छ।


कागबेनीमा भगवानको दैवी शक्ति प्रकट भएकाले यस स्थानमा आएर पितृको नाममा श्राद्ध ,पिण्ड र तर्पण दिनाले पितृ उद्धार हुने धार्मिक किवंदन्ती रहेको रघुगंगा गाउँपालिका–३ मौवाफाँटबाट पितृ तर्पण गर्न पुग्नीभएका शालिकराम रिजालले बताउनुभयो । विश्वमा शालिग्राम शिला पाइने एकमात्रै नदि कालीगण्डकीबाट संकलन भएका शालिग्राम शिलालाई भगवानको रुपमा भक्तजनहरुले लैजाने गरेका छन् । भक्तजनको आगमन बढेसंगै शालीग्राम शिलासंगै पूजा सामाग्रीको विक्रि बढेको स्थानीय देबबहादुर थापाले बताउनुभयो । उहाँका अनुसार, शालीग्राम शिलालाई भक्तजनहरुले विष्णु भगवानको अवतारको रुपमा मुस्ताङको चिनोको रुपमा लैजाने गर्छन् ।
कागबेनी धाममा श्राद्ध गर्न आउने तिर्थालुहरू यहाँ पितृ उद्धारका कर्म पुरा गरेपछि मात्र मुक्तिनाथ दर्शन गर्न जान्छन्। भक्तजनको संख्या बढेसंगै कागबेनी क्षेत्रका होटल भरिभराउ भएका छन भने व्यापार व्यवसाय समेत चलायमान भएको छ । दसैँ तिहारको विदाको समयमा मुस्ताङमा दैनिक करिब ५ हजार पर्यटकहरु भित्रने गरेका छन् । बेनी–जोमसोम सडक मार्ग र अन्नपूर्ण चक्रिय पदमार्ग हुँदै मुस्ताङ पुग्ने आन्तरिक तथा बाह्य पर्यटकहरु मध्ये अधिकाँश कागबेनी र मुक्तिनाथमा पुग्ने गरेका छन् ।