तातोपानी कुण्डमा पूर्वाधार थपिए, प्रविधिमैत्री बनाउने तयारी

  • १३ भाद्र २०८१, बिहीबार
  • 219 पटक पढिएको

म्यागदी  १२ भदौ ।  म्याग्दीको बेनी नगरपालिका– ४ सिंगा तातोपानीमा रहेको प्राकृतिक उपचार केन्द्रको रुपमा ख्याती कमाएको तातोपानी कुण्डलाई पूर्वाधार र प्रविधिमैत्री बनाउन थालिएको छ । जमिनमुनीबाट निस्कने प्राकृतिक तातोपानीको मुहानलाई संरक्षण गरेर व्यविस्थत कुण्ड सहित कार्यालय भवन, पहुँचमार्ग, पदमार्ग, बाहिरी कुण्ड लगायतका पूर्वाधार निर्माण भैसकेको छ ।


तातोपानी कुण्डमा पछिल्लो एक दशकमा करोडौँको भौतिक पूर्वाधार विस्तार भएका छन् । कुण्डमा उपचारका लागि आउने व्यक्तिको शुल्क तथा सहयोग र सरकारी तवरबाट प्राप्त बजेटबाट तातोपानी कुण्डलाई व्यवस्थित गरिएको र विरामीहरुको सहजकताका लागि प्रविधिमैत्री संरचना निर्माणको पहल थालिएको तातोपानी कुण्ड व्यवस्थापन समितिका अध्यक्ष कृष्ण खड्काले बताउनुभयो ।

उहाँका अनुसार, गत आर्थिक बर्षमा पर्यटन बोर्ड, गण्डकी प्रदेश कार्यालय पोखराको रु १५ लाख बजेट र समितिको रु तीन लाख लागत साझेदारीमा तातोपानीको मुख्य कुण्ड प्रवेशद्धार निर्माण गरिएको छ । भक्तपुरे इट्टाको प्रयोग गरेर निर्माण भएको प्रवेशद्धारले तातोपानी कुण्ड परिसरलाई आकर्षक र कलात्मक बनाएको छ । गत बर्ष नै कुण्डमा स्नान गर्न आउनेहरुका लागि कपडा फेर्ने भवन, मुख्य कुण्डको छानो पुननिर्माण, कुण्ड परिसरमा पदमार्ग, तातोपानीको चिनारी स्तम्भ लगायतका पूर्वाधार निर्माण गरिएको छ ।

कुण्ड परिसरमा थरिथरिका फूलका विरुवा रोपेर सौन्दर्यकरण समेत गरिएको छ। एक बर्षको अवधिमा पूर्वाधार निर्माण र सुविधा विस्तारमा आन्तरिक आम्दानीबाटै करिब रु ३० लाख लगानी गरेको कुण्ड व्यवस्थापन समितिले बाहिरी कुण्डमा जाने प्रवेशद्धार र टिकट काउण्टर समेत कलात्मक शैलिमा निर्माण गरीरहेको छ भने नुहाउने पानीको लागि ३० वटा धारामा एकसाथ तातोपानी पुग्ने पूवार्धार बनाइरहेको छ ।


कुण्डमा स्नान गरेर उपचारका लागि अपांगता र अशक्त व्यक्तिहरु आउने भएकाले पूर्वाधारलाई अपांगमैत्री र प्रविधिमैत्री बनाउने तयारी गरिएको छ । कुण्डमा जानका लागि लिफ्ट जडान गर्ने र विद्युतिय ह्विलचियरको प्रवन्ध गर्ने तयारीमा जुटेको अध्यक्ष खड्काले बताउनुभयो । लिफ्ट प्रविधि जडानका लागि विज्ञ प्राविधिकहरुको टोलीद्धारा कुण्डमा स्थलगत अध्ययन गराइएको र अध्ययन टोलीको प्रतिवेदन र सुझाबका आधारमा पूर्वाधार बनाउन आबश्यक पहल थालिने जनाइएको छ ।

तातोपानी कुण्डलाई जल चिकित्सासंग जोडेर फिजियो र मसाज थेपारीको सेवा समेत सञ्चालन गर्ने गरी भौतिक पूर्वाधार र आबश्यक मेसिन उपकरणको बन्दोबस्त गरिएको छ । संघीय सरकारको रु ५० लाख र कुण्ड व्यवस्थापन समितिको रु तीन करोड बढी लगानीमा जल चिकित्सा सेवाको लागि भवन निर्माण गरिएको र गण्डकी प्रदेश सरकारबाट रु ५० लाख बराबरको मेसिन उपकरणहरु प्राप्त भैसकेको कुण्ड व्यवस्थापन समितिले जनाएको छ ।

कुण्डलाई प्राकृतिक चिकित्सालयका साथै धार्मिक पर्यटनको रुपमा समेत विकास गर्न गत साउन देखि हरेक साताको सोमबार सन्ध्याकालिन आरती समेत सुरु गरिएको कुण्ड व्यवस्थापन समितिका सचिब कुमार केसीले बताउनुभयो । म्याग्दी नदिको किनारमा रहेको र कुण्ड परिसरमा शिवालय मन्दिर समेत रहेकाले सन्ध्याकालिन आरती सुरु गरिएको र यसले यस क्षेत्रमा धार्मिक र आध्यात्मिक पर्यटनको विकास गराउन सहयोग पुग्ने उहाँको भनाई छ ।

यस तातोपानीको मुख्य कुण्डमा एक सातासम्म बसेर प्राकृतिक उपचार गर्नका लागि बार्षिक करिब २० हजार जना आउने गरेका छन् । एक सातासम्म नियमित कुण्डमा स्नान गर्नेहरुबाट रु ३०० शुल्क लिने गरिएको छ । यहाँ नियमित स्नान गरेर उपचारका साथै थकान मेटाउनका लागि समेत तातोपानीमा डुब्न आन्तरिक पर्यटकहरु आउने गर्छन् । आन्तरिक पर्यटकहरुका लागि बाहिरी भागमा दुई वटा नयाँ कुण्डहरु समेत निर्माण गरिएको छ ।

आर्थिक बर्ष २०८०÷०८१ मा उपचारका लागि मात्रै १९ हजार ४०३ जनाले स्नान गरेको कुण्ड व्यवस्थापन समितिका कर्मचारी रेशमबहादुर कार्कीले जानकारी दिनुभयो । गत आर्थिक बर्षमा कुण्डमा स्नानका लागि आएका विरामीहरुको शुल्कबाट रु ६७ लाख ९१ हजार ५०, चन्दा संकलनबाट रु ४५ लाख १० हजार , मन्दिरबाट रु ६ लाख ९ हजार ८३२ र आजिवन सदस्यबाट रु ५ लाख १० हजार ९११ रकम संकलन भएको उहाँले जानकारी दिनुभयो ।

कुण्डमा आउने विरामीहरुले तिर्ने शुल्कबाट प्राप्त हुने रकमबाट सरकारलाई १३ प्रतिशत भ्याट कर तिर्ने र २५ प्रतिशत रकम बेनी नगरपालिकालाई बुझाउने गरिएको छ भने अन्य रकमलाई कुण्ड व्यवस्थापनमा परिचालन भएका कर्मचारीको तलब, स्थानीय सरस्वती माविका शिक्षकको तलबमा सहयोगका साथै कुण्डको पूर्वाधार निर्माणमा परिचालन हुने गरेको छ ।

गन्धक र बिरेनुनको गन्ध आउने प्राकृतिक तातोपानीको कुण्डमा शरिरको बाहिरी भाग डुबाएर उपचार गरिन्छ । कुण्डमा डुबेपछि बाही निस्कीएर कम्बल वा बाख्लो कपडा ओढेर पसिना बगाएपछि नजीकै बनाईएका तातोपानीका धारामा नुहाउने गरिन्छ । यस कुण्डमा नियमित नुहाउनाले ग्याष्ट्रीक, नसा, बाथरोग, ढाड दुख्ने, छाला सम्बन्धी रोग, सुन्निएको, बज्रिएको, मर्किएको, पेट सुनीने, गलगाँड, एसाईतिस लगायतका रोगहरु निको हुने मान्यता रहेको छ ।
(तस्बिर उपलब्ध छ)
कमल खत्री – – –