बेनीमा परम्परागत ‘बर्षे नाच’ को रौनकता, परम्परागत संस्कृति जोगाउन युवाहरु सक्रिय
- १ भाद्र २०८१, शनिबार
- कमल खत्री
- 531 पटक पढिएको
म्यागदी १ भदौ । म्याग्दी सदरमुकाम बेनीमा परम्परागत बर्षेनाचको रौनकता छाएको छ । बेनी बजारमा बस्ती बसेदेखी नै देखाउन थालिएको परम्परागत बर्षेनाचलाई नेवार समुदायको अगुवाईमा निरन्तरता दिदै आइएको छ । घण्टाकर्ण चर्तुदर्शी देखी सुरु भएको बर्षे नाच हरितालीका तीजको दिनसम्म एक महिना बढी समय देखाउने गरिन्छ । बेनीमा नेपाल भाषा मंका : खल : अन्तरगतको युवाहरुको समूह ल्याम्ह : पुचः को नेतृत्वमा बर्षेनाच देखाउने गरिएको छ ।
यस बर्ष लाखे नाच, घोडा नाच, जोगि नाच, नागानागिनी नाच सहित श्रीकृष्ण रथयात्रा लगायतका कार्यक्रम समावेश गरिएको ल्याम्ह ः पुचः का अध्यक्ष जेनेश श्रेष्ठले बताउनुभयो । अघिल्ला बर्षहरुमा रोपाइँ, धानको बाला, गोरु लगायतका नृत्यहरु समेत बर्षेनाचमा समावेश गरिएको भएपनि यस बर्ष नाच व्यवस्थापनमा जनशक्ति थोरै भएकाले लाखे, घोडा, जोगी र नागानागिनी नाचलाई प्राथमिकता दिएर देखाउने गरिएको उहाँको भनाई छ ।
पुर्खाहरुले सुरु गरेको परम्परागत नाचलाई तालिम र अभ्यासका माध्ययमबाट युवा र बालबालिकाहरुमा समेत सिप हस्तान्तरण गर्ने गरिएको अध्यक्ष श्रेष्ठको भनाई छ । बेनी बजारमा दिनहुँ जसो साँझ पख विभिन्न नाचहरु देखाउन थालेपछि बर्षेनाचको रौनकता बढेको छ । सडक र चोक चोकमा देखाइने बर्षेनाच हेर्न बालबालिका, युवायुवति देखि बृद्धबृद्धासम्म सडकतीर जम्मा हुने गर्छन् ।
बर्षेनाचमा नेवार समुदायका साथै बेनीमा बसोबास गर्ने अन्य जातजातिका युवायुवति र बालबालिकाहरु समेत सहभागी हुने गर्छन् । बेनीकै साँस्कृतिक पहिचानको रुपमा रहेको बर्षेनाचमा नयाँ नयाँ कलाकारहरुको आगमनले मौलिक नाचको संरक्षण र निरन्तरतामा सहयोग पुगेको लाखे नाचका संयोजक सन्दिप श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार, यस बर्ष १२ बर्षका विहान भण्डारीले समेत लाखे नाचमा लाखेको भूमिकामा नाच देखाउँदै आउनुभएको छ ।
परम्परागत रुपमा देखाइदै आइएको बर्षेनाचलाई संरक्षण गर्दै हराएर जाने अवस्थामा पुगेका नाचहरुलाई समेत निरन्तरता दिने गरिएको छ । बर्षेनाचमा समावेश गरिने नागानागिनी नाच नेपालभरमा म्याग्दीमा मात्र देखाउने नाचको रुपमा परिचित छ । जनैपूर्णिमा पर्वको दिनमा बर्षभरी दिवंगत भएका नेवार समुदायका व्यक्तिहरुको सम्झनामा सापारु अर्थात नागानागिनी नाच देखाउने चलन रहेको छ ।
दुई सय बर्ष भन्दा पुरानो बर्षेनाचको निरन्तरताको लागी बेनीमा नयाँ कलाकारहरुलाई तालिम दिने गरिएको छ । परम्परादेखि चलिआएको संस्कृतिको निरन्तरता र मौलिकताको संरक्षणमा युवाहरुको उत्साहजनक सहभागीताले सहयोग पुगेको युवा कलाकार अभिनेष श्रेष्ठले बताउनुभयो । आधुनिकताको प्रभाबले मौलीक र रैथाने संस्कृतिहरु लोप हुँदै गैरहेको सन्दर्भमा बर्षेनाचलाई संरक्षण गर्ने दायित्व युवाहरुको काँधमा आएको उहाँको भनाई छ।
बर्षे नाचमा मृढृङ्गा र मादलको तालमा नृत्य देखाउने गरिन्छ । सबै जसो नाचमा परम्परागत समाजको चित्रण गर्ने चलन छ । खास गरि लाखे नाचमा परापुर्व कालमा समाजमा दुख दिएको र विकृती फैलाएको घण्टाकर्ण नामको राक्षसको हत्यापछि राक्षसकी श्रीमतीले पति बियोगमा गरेको चरित्रलाई देखाउने गरिन्छ । बर्षेनाच अन्र्तगत तिजको दिनमा दानविय स्वरुपको लाखेलाई भगवान श्रीकृष्णले बध गरेपछी असत्यमाथि सत्यको विजयी हुने सन्देश सहित यो नाच समापन गरिने चलन छ ।
कमल खत्री
म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l