गलेश्वर शिवालयमा एक महिनामा एक लाख भक्तजनले दर्शन गरे (फोटो फिचर)
- २८ श्रावण २०८१, सोमबार
- कमल खत्री
- 311 पटक पढिएको
म्याग्दी , २८ साउन । म्याग्दीको बेनी नगरपालिका–९ मा अवस्थित प्रसिद्ध धार्मिक स्थल गलेश्वर शिवालयमा साउन महिनामा मात्रै एक लाख बढी भक्तजनले दर्शन तथा पूजाआजा गरेका छन् । भगवान शिवको पूजा आराधनाको लागि उत्तम मानिने साउने सोमबारमा गलेश्वर शिवालयमा म्याग्दीका साथै, पर्वत, बागलुङ, कास्की, तनहुँ, गोरर्खा, चितवन, बुटवल, भैरवा, काठमाण्डौ लगायतका ठाउँबाट समेत उल्लेख्य मात्रामा भक्तजनकहरु आएको गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ ।
यस बर्षको साउन महिनाको चार वटै सोमबारमा मौसम अनुकुल भएकाले एक लाख बढी भक्तजनहरुले गलेश्वरको दर्शन तथा पूजा गरेको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधव प्रसाद रेग्मीले जानकारी दिनुभयो । उहाँका अनुसार, विभिन्न उपसमिति मार्फत झक्तजनहरुलाई सहजीकरण गरेर मन्दिरमा सहज, सरल, व्यवस्थित, शान्त र मर्यादित तवरले पूजाआजा गर्ने व्यवस्था मिलाईएको थियो ।
‘‘ साउन महिनाको चार वटै सोमबार उल्लेख्य मात्रामा भक्तजनहरु आएपछि सुरक्षाकर्मी र स्वयंसेवक परिचालन गरेर लाइन व्यवस्थित गराएर पूजा गर्ने प्रवन्ध मिलाइएका थियौँ, साउन महिनामा नेपालका साथै छिमेकी मुलुक भारतबाट समेत उल्लेख्य मात्रामा भक्तजन र तिर्थयात्रीहरु गलेश्वरमा आएका छन्’’– अध्यक्ष रेग्मीले भन्नुभयो । गलेश्वरको बढ्दो महिमाको कारण बेनी–जोमसोम कोरला सडक हुँदै मुक्तिनाथ दर्शन गर्न हिँडेका भारतीय धार्मिक पर्यटकले गलेश्वरको दर्शन गर्ने गरेको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष रेग्मीको भनाई छ । यस बर्ष बर्षातको समयमा समेत उल्लेख्य मात्रामा भारतीय तिर्थयात्रीहरु गलेश्वर र मुक्तिनाथ क्षेत्रमा आएका छन् । गत बर्ष गलेश्वरस्थित कालिगण्डकीको शिला भारतको अयोध्यामा लगेपछि गलेश्वर क्षेत्रको महिमाको प्रचार प्रसार भएसंगै भारतीय तिर्थयात्रीहरुको आगमन बढ्दो छ । गलेश्वर शिवालयमा भक्तजन र तिर्थयात्रीहरुको संख्या बढेसंगै भेटीघाटी संकलनमा समेत बृद्धि भएको छ ।
गत आर्थिक वर्ष २०८०÷८१ मा पूजाआजा र दर्शनका लागि आएका भक्तजनहरुले चढाएको भेटीबाट रु ५८ लाख ४० हजार पाँच सय १० आम्दानी भएको गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ । गत आर्थिक वर्षसम्म कोषको आम्दानी भेटी, दान र बैङ्कको ब्याजसहित रु चार करोड ४१ लाख २५ हजार दुई सय २२ पुगेको छ । मन्दिरको आम्दानीलाई कर्मचारीको तलब, कार्यालय सञ्चालन, मन्दिरका पुुजारी, ज्येष्ठ नागरिक आश्रमका भान्सेको तलबका साथै संस्कृति विद्यालय सञ्चालन र मन्दिरको पूर्वाधार निर्माणमा परिचालन गरिँदै आइएको कोषका सदस्य सचिब बलबहादुर खत्रीले जानकारी दिनुभयो ।
यस वर्षको साउन महिनाको तेस्रो सोमबारसम्म गलेश्वर शिवलायमा १० लाख ७४ हजार सात सय ४७ भेटी सङ्कलन भएको छ । गलेश्वरमा भक्तजनले चढाउने भेटी मेलाको भोलिपल्टै र अन्य समयमा मासिकरुपमा गणना गरेर सार्वजनिक गर्ने प्रचलन छ । गलेश्वर क्षेत्रमा भक्तजनको आगमन बढेसंगै यस क्षेत्रमा धार्मिक र भौतिक पूर्वाधार निर्माणले समेत तिब्रता पाएको छ । गलेश्वरमा धर्मशाला, सभाहल, वाटिका, यज्ञशाला, पाठशाला, पुजारी निवास, भोजनालय, कालीगण्डकीसम्म पुग्ने मार्ग, एक सय आठ शिवलिङ्ग, जडभरत, नटराज र लक्ष्मी नारायणको मूर्ति स्थापना लगायत भौतिक संरचना निर्माण भएका छन् ।
कालीगण्डकी नदी किनारको नौ रोपनी क्षेत्रफलमा फैलिएको विशाल चट्टानमाथि अवस्थित गलेश्वर शिवालय क्षेत्र हिन्दू तथा बौद्ध धर्मावलम्बीहरुको साझा तीर्थस्थल मुक्तिनाथको प्रवेशद्वार मानिन्छ । विशाल चट्टानमाथि कहिल्य नसुक्ने जलकुण्ड यहाँको अनौठो शक्तिको रुपमा परिचित छ । हिन्दु धार्मिक सास्त्रहरुमा सतिदेवीको गला पतन भएर गलेश्वर नाम रहन गएको उल्लेख गरिएको यस मन्दिरमा साउन महिनाको सोमबार, बालाचतुर्दशी र शिवरात्रि पर्वमा विशेष मेला लाग्ने छ । दैनिक नित्य पूजाआजा हुने गलेश्वर मन्दिरको दर्शन र पूजाआजा गरेमा मनोकांक्षा हुुने धार्मिक विश्वास छ ।
कमल खत्री
म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l