बाल्यकाल, मामाघर अनी तिज

  • ३२ श्रावण २०७४, बुधबार
  • बन्दना शर्मा
  • 5772 पटक पढिएको

खेतका फाटँहरु धानले हरियै हुनथालेपछी अनी वारीभर मकै पाक्न थालेपछी कहिले मामा अनी कहिले सानिमाहरु टुप्लुक्क आईपुग्नुहुन्थ्यो हाम्रो घरमा । ममिले गएको दशैमा किनेको जामा लगाइदिएर मामा अनी सानिमाको जिम्मा लगाउदै मलाई फुर्सद छैन तिजको दिन आउँछु है यिनिहरुलाई लग्दै गर्नु भन्नुहुन्थ्यो । मामाघर जाने भन्ने कुराले फुरुङ्ग हुन्थ्यो दिदीको अनी मेरो मन ।
मामा अनी सानिमाले किनिदीएको चाउचाउ खादै एक घन्टाको पैदलमा पुगिन्थ्यो मामाघर । बाटोमा दिदी अनी म हिडेनौँ भने फुर्काउनुहुन्थ्यो ल को फस्ट बन्ने हिडेर ? अनी दिदी र म दौडीन्थ्यौ केही पलको लागी ।

रातो माटो र कमेरोले पोतेको लामो घर जसलाई सजिलोको लागि ठुलाघर भन्छन मान्छेहरु । त्यही घरमा जम्मा हुन्थ्यौँ हामी करिव २२ जना केटाकेटी अनी १२ जना छोरी चेलीहरु । मादलको तालमा ममि अनी सानिमाहरु आफ्ना बेदना अनी अनुभुतीहरु गितको भाकामा भन्ने गर्नुहुन्थ्यो अनी मामाहरु भान्साको काम गर्नुहुन्थ्यो ।

तिजकै मौका पारेर ममिहरु भान्साको कामबाट एकदिन फुर्सद पाउनुहुन्थ्यो । हामी भुराभुरीहरुको काम कहिले ममिहरुको लागि दतिबन खोजिदिने, कहिले पधेरोमा पुगेर पानी ल्याउने अनी पुजाको लागि डालिभरी फुल टिपिदिने हुन्थ्यो । उतीवेला ममिहरु रातो साडीमा सजिएर महादेवलाई पुर्कादा हामी भने कतिवेला दक्षिणा अनी प्रसाद पाउँछौ भनेर व्यग्र प्रतिक्षा गथ्र्यौ ।

मामाघरको करेसावारीछेउ उखु, भोगटे, निवुवा नास्पती, अम्वा अनी सुन्तलाको बोट । तिजताकै लटरम्म फलेको हुन्थ्यो नास्पती । हामी भुराभुरीहरु त्यतै झुम्मिन्थौ । मामाघरमा हजुरआमाहरु अनी माइजु मिलेर तिजकै लागि भनेर बनाएको काक्राँको अचारको स्वाद सम्झिदाँ अहिले पनि मुखबाट पानी आउँछ । दर खानेदिनको अघिल्लो दिन मामाले बजारबाट तिजका सामान बोकेर पिढीँको डिलछेउ झोला विसाउदा हामी भुराभुरीहरु सगरमाथामा नै छौ कि झै आभास हुन्थ्यो । मामाले बजारबाट तिजलाई भनेर ल्याएको मिठाई अनी लड्डुहरु खादै रात कटाउनुको मज्जा बेग्लै हुन्थ्यो ।

अहिलेत मामाघरसम्म पुगेर तिज नमनाएको पनि बषौँ भइसकेछ, चाहेर पनि जान सक्ने अवस्था छैन । न त्यही जामा छ साथमा न त त्यही उत्साह नै । लाग्छ समयले नेटो काटीसकेछ । अझै पनि बजारका गल्ली अनी चोकहरुमा तिजको नाममा गितका भाकाहरु गुन्जिन्छन तव ममि अनी सानीमाहरुले मादल ठोक्दै गाएको तिज भाका सम्झिन्छु । लाग्छ मामाघरबाट कोही हामीलाई लिन आउनुभएको छ की ? हरेक साल फोनमा हजुरआमाहरुले तिमीहरु सब दुर भयौ हामीदेखी भन्दा बेगले मामाघरनै पुगु जस्तो नभएको कहाँ हो र तैपनि बाध्यताहरु छन् यहाँ ।

उबेलाका दिनहरु कती गज्जबका थिए । तिजताकै मामाघरको बारीभरी (जसलाई देउरालीडाडाँ, लामोगह्रो, मोठ आदी भन्छन क्यारे ) बादँरले बच्चा बोकेर मकै खाएको हेर्दा रमाईलो लाग्थ्यो । थाहा छैन आजभोली बाँदर आउँछन कि आउँदैनन । अहिलेत मुस्कीलले बर्षको एकदिन पुगिन्छ मामाघर त्यो पनि दशैँमा न पहिला जस्तो बाटो छ त्यहाँ न त पहिले जस्तै जमघट । हामी लड्दै खेल्दै गर्ने मामाघरको गोठ रित्तै छ उवेलाका भैसि अनी बाघले समेत खान नसकेका बाख्राहरु अव सम्झनामा सिमित भए । मामाघरको दक्षिणपट्टी रहेको ठुलो भीरमा बसेर बेनीको बजार नियाल्दै खन्निम र मैडल खाएको क्षण अझै पनि याद छ मलाई । हामी बस्ने त्यही डिलछेऊबाटै कच्चि बाटो पुगेको छ आजभोली ।

खडेरी परेको दिन डिगा बाख्रा लगेर गोविन डाडाँको आहालमा थुप्रै पटक पौडी खेलियो कतीपटक मामाले थाहा पाएर गाली खाको हिजोजस्तै लाग्छ । आजभोली त त्यहाँ ठुलो जगंल भएको छ जान पनि डरलाग्दो । मामाघरको ठ्याक्कै पछाडी रहेको उखुका बोटहरु आजभोली दुर्लभ जो भएका छन् । उखुको साटो त्यहाँ झारपात देख्न पाइन्छ । उवेला खचाखच हुने मामाघरको आगँन आजभोली सुनसान छ ।
आज परिवेश फेरिएको छ । हिजो विवाहिताहरु पतीको दीर्घजीवनको कामना गर्दै व्रत बस्ने गरेता पनि आज अविवाहिताहरु पनि राम्रो जीवनसाथी पाउँ भन्दै व्रत बस्ने चलन छ । हिजो हिन्दु सम्प्रदायले मात्रै मनाउने गरेको तिज आज गैरहिन्दु समाजले पनि अगालेको छ । हिजो एउटा घरमा सिमित चाड आज पार्टी प्यालेस, बैङ्कक्युट र क्याफे लगायतकाठाउँसम्म फैलिएको छ ।

तिज हाम्रो चिनारी हो जसले सवैलाई एकैठाउँमा भेला हुने अवसर प्रदान गर्दै सौहार्दता अनी अपनत्व विकास गर्नका लागि सघाउ पु¥याएको छ । भौगोलिक रुपमा टाढीएका हरुलाई एकत्रित गर्दै हाम्रो आस्था एवम् श्रद्धालाई जिवित राखीदिएको छ तिजले । हिजो नारीको मात्रै चाडको रुपमा लिइन्थ्यो तिजलाई तर आजभोली नारी जतिकै अग्रसर छन् पुरुषहरु । यस्ता राम्रो पक्ष हुदाँहुदैँ पनि तिज एउटा फेसनको रुपमा प्रचारप्रसार भएको कुरा हाम्रो मीडियामा बज्ने गित अनी भाकाले पुष्टि गरेको छ । हिजो मुस्किलले २÷४ दिन मनाउने गरेको तिज आज आएर महिनौँ अगाडीदेखी मनाउन थालिएको छ । जसकोकारण तडकभडक एवम् खर्च चुलिदै छ । यो बर्ष मलाई मात्रै दरको निम्तो २० बटा भन्दा माथि आएछन कुनै संस्थाको, कुनै व्यक्तिको अनी कुनै राजनैतिक दल एवम् सम्पर्क समितीको ।

एकमन सोचे जानुपर्छ फेरी अर्काे मन सोचे यहाँ दर खानलाई बस्या होर अनी कतै गईन । कती यस्ता मान्छे पनि छन् जो अघिपछी वास्ता गर्दैनन् तर तिज आउन थालेपछी दर खान आउ है भन्छन । तिनीहरुको ताल देखी वाक्क छु किन यत्रो औपचारिक हुन्छन भनेर ।
हिजो चेलीको वास्तविक भावनामा आधारित रहेर मादलको तालमा तिजका भाकाहरु बन्थे तर आजभोली मादल अनी मौलिक कला संस्कृतीहरु साउण्ड सिस्टमले ओझेलमा पारिदिएको छ । जसमा छाडा गितहरुले प्रथमिकता पाउदैँछन् । छोरी मान्छेलाई नै उडाएर तिज गित बनेका छन् । जसले गर्दा हाम्रो बास्तविकता छायाँमा परेको छ । हुने खानेले त बर्षैभर तिज मनाउलान तर नहुनेहरु मारमा छन् । आजको पुस्ता हिजो म रमाएको जस्ता कुरालाई गाउले अनी पाखे पारा भन्दै डिस्को बारमा वाइन चुस्किसँगै पोईल जान पाम कम्मर मर्काउँछ । यसले भावी पुस्तामा कस्तो असर पार्छ त्यतातिर हाम्रो सोच पुग्न सकेको छैन । हाम्रो ध्यान खाली देखाउन अनी हेर्नमा सिमित रह्यो । परिवर्तनको नाममा हामीले हाम्रै मौलिक कुराहरुलाई दाउमा राख्यौ ।

बन्दना शर्मा