प्रकाश माविमा कपाल काट्ने सीप सिक्दै विद्यार्थी (तस्बिर/भिडियाे)

  • २० असार २०८१, बुधबार
  • कमल खत्री
  • 569 पटक पढिएको

म्याग्दी सदरमुकाम बेनी स्थित प्रकाश माध्यमिक विद्यालयका विद्यार्थीहरुले कपाल काट्ने सीप सिक्न थालेका छन् । बेनी नगरपालिकाले विद्यालय तहबाटै विद्यार्थीहरुलाई जीवन उपयोगी सीप सिकाउन सञ्चालन गरेको ‘विइ क्यान विइ डु’ (‘हामी सक्छौ, हामी गर्छौ’) कार्यक्रम अन्तर्गत प्रकाश माविले कपाल काट्ने तालिम सञ्चालन गरेको छ । विद्यालयका कक्षा ७ देखि १० सम्मका ३० जना विद्यार्थीहरु सहभागी तालिम एक महिनासम्म सञ्चालन हुनेछ ।

तालिममा विद्यार्थीहरुलाई कागज काटेर कैँची चलाउन सुरु गरिएकोमा दुई साताको अवधिमा विद्यार्थीहरु कपाल काट्न सिपालु भैसकेका छन् । नियमित पठनपाठन पश्चात साँझको समयमा दैनिक दुई घण्टा कपाल काट्ने तालिम सिकेका विद्यार्थीहरुलाई अहिले विद्यालयकै विद्यार्थीहरुको कपाल काटेर अभ्यस्त गराउन थालिएको विद्यालयका प्रधानध्यापक लेखबहादुर हमालले जानकारी दिनुभयो ।

विद्यालय सञ्चालन हुने दिनमा साँझ र विदाको दिनमा अन्य समयमा समेत विद्यार्थीहरु कपाल काट्ने तालिममा सहभागी हुने गरेका छन् । सुरुवातमा कैँची समाउन र चलाउन समेत कठिन मान्ने विद्यार्थीहरु विस्तारै कपाल काट्न पोख्त भैसकेका छन् । तालिममा विद्यार्थीहरुलाई अभिषेक श्रेष्ठले कपाल काट्ने सीपबारे व्यवहारिक ज्ञान, सीप र क्षमताको विकास गराउनुभएको छ । ‘‘ अहिले १० कक्षा सम्मका बालबालिकाहरुले कपाल काट्न सिक्नुभएको छ, हामीले कक्षा ११ र १२ का विद्यार्थीलाई पनि छिटै यो तालिममा सहभागी गराउँछौँ, तालिममा सहभागी हुने धेरै विद्यार्थीहरुको रुचिका आधारमा कपाल काट्ने तालिम सञ्चालन गरेका हौँ, अधिकाँशमा सीप विकास भएको पाएका छौँ’’–प्रअ हमालले भन्नुभयो । तालिममा अधिकाँश छात्राहरु सहभागी भएका छन् । भविश्यमा व्युटिसियन बन्ने लक्ष्य रहेकाले आफुले कपाल काट्ने तालिममा सीप सिक्न थालेको कक्षा ८ का छात्रा सरुना पुनले बताउनुभयो । उहाँले कपाल काट्ने सीपले आफुलाई भविश्यमा व्यावसायिक बन्ने बाटो खोल्ने समेत बताउनुभयो । यस विद्यालयले गत बर्ष विद्यार्थीहरुलाई नौमती पञ्चेबाजा बजाउने तालिम प्रदान गरेको थियो । उक्त तालिममा सहभागी विद्यार्थीहरु बाजा बजाउन सिपालु भएका थिए । विद्यालयमा नियमित पठनपाठनका अतिरिक्त उनीहरुका रुचि र क्षमताको पहिचान र दक्षता विकास गराउन विद्यालयले सिपमुलक कार्यक्रमहरुलाई अघि बढाएको प्रअ हमालले जानकारी दिनुभयो । आगामी बर्ष विद्यालयले व्युटिसियन र पलम्बीङ तालिम दिने तयारी गरेको छ । बेनी नगरपालिकाभित्र रहेका १६ वटा सामुदायिक माध्यमिक विद्यालयलाई नगरपालिकाले सिपमुलक तालिम सञ्चालन गर्नका लागि चालु आर्थिक बर्षमा रु १’/१ लाखका दरले बजेट उपलब्ध गराएको छ । म्याग्दीको स्थानीय बजारमा कपाल काट्ने पेसामा अधिकाँश भारतीय नागरिकहरु संलग्न छन् । आकर्षक आम्दानी हुने भएपनि यो पेशामा स्थानीय जनशक्ति नभएको अवस्थामा विद्यालयले सञ्चालन गरेको तालिमले भविश्यमा स्थानीयले नै कपाल काट्ने पेसा अंगालेर स्वरोजगार बन्ने अवसर पाउने नगरपालिकाका मेयर सुरत केसीले बताउनुभयो । उहाँका अनुसार, यस बर्ष नगरपालिकाले सञ्चालन गरेको ‘विइ क्यान विइ डु’ कार्यक्रम अन्तर्गत पेन्टिङ, पलम्बीङ, वायरिङ, कपाल काट्ने लगायतका सीपमुलक तालिम प्रदान गरिएको छ । सीपमुलक तालिमले विद्यार्थीहरुलाई स्वरोजगार बन्न र सीप सिकेर आत्मनिर्भर बन्न सघाउने अपेक्षा गरिएको छ । नगरपालिकाले आगामी बर्ष समेत हामी सक्छौँ, हामी गर्छौ कार्यक्रमलाई निरन्तरता दिने भएको छ ।
विद्यालयमा पढाइ संगै सिकाइ गर्न पाउँदा विद्यार्थी खुसी
सामान्यता विद्यालयमा झोलाभरी किताब, कापि बोकेर आउने , शिक्षकले सिकाएका र पढाएका ज्ञानका कुराहरु सिकेर घर जाने र गृहकार्य गर्ने विद्यार्थीहरुको दैनिकी हो । हिजोका दिनमा विद्यार्थीहरुको काम पढ्ने मात्रै हुने भएपनि आजभोली भने विद्यालयमा नियमित पठनपाठन संगै सीप सिकाई र अतिरिक्त क्रियाकलपाहरुमा पनि सक्रिय बन्नु हो । प्रकाश माध्यमिक विद्यालयको कक्षा १० मा अध्ययनरत विद्यार्थी अमृता श्रीपालीले विद्यालयमा अध्ययन संगै सीपमुलक तालिम, खेलकुद गतिविधि, साँस्कृतिक कार्यक्रम र अतिरिक्त क्रियाकलापहरुमा सहभागी हुन पाउँदा खुसी लागेको बताउनुभयो । ‘‘ पहिले स्कुलमा पढाइ मात्रै हुने गथ्र्यो, आजभोली विभिन्न कार्यक्रमहरु पनि हुन थालेका छन्, अझ गत बर्षदेखि विद्यालयमा सीपमुलक कार्यक्रमहरु आयोजना हुन थालेको छ, अहिले हामीले विद्यालयमा कपाल काट्ने एक महिने तालिम लिइरहेका छौँ,’’– श्रीपालीले भन्नुभयो । बेनी नगरपालिकाको विइ क्यान विइ डु कार्यक्रम अन्तर्गत प्रकाश माध्यमिक विद्यालयले सञ्चालन गरेको कपाल काट्ने तालिममा सहभागी सुजता तुलाचनले कलम, कापी र किताब समाउने हातहरुमा सीप सिकाईको अवसर पाउँदा आफुहरु उत्साहित बनेको बताउनुभयो । ‘‘ सुरुसुरुमा हातले कैँची समाउन समेत सक्दैनथे, कागज काट्दै सीप सिक्दै जाँदा अहिले हामी सजिलै कपाल काट्न सक्ने अवस्थामा पुगिसकेका छौँ, आफ्नो ज्ञान र सीप जीवनका जुनसुकै क्षणमा पनि काम लाग्ने भएकाले हामी पढाइ संगै सीप सिक्न पाउँदा हर्षित छौँ’’–कक्षा १० मा अध्ययतरत छात्रा तुलाचनले भन्नुभयो ।
विद्यालयहरुलाई शिक्षा र सीप सिकाउनुपर्ने दायित्व आएको छ : प्रअ लेखबहादुर हमाल
हिजोका दिनमा अधिकाँशको घरमा कृषि पेसा थियो । खेती नगरीकन कसैलाई खानु थिएन् । बालबालिकाहरुले दिनमा स्कुल पढ्ने र विहान बेलुका घरायसी काम गर्नुपथ्र्यो । कम्तीमा हिजोका बालबालिका र विद्यार्थीहरुमा घाँस काट्ने, दुध दुहुने, खाना पकाउने, खेतवारीको सामान्य खेतीकिसानीको काम गर्ने सीप हुन्थ्यो । तर आज समाज धेरै परिवर्तन भैसकेको छ । बालबालकाहरुले केहि पनि गर्नै हुन्न भन्ने भाष्य बनेको छ । कम्तीमा जीवन उपयोगी सीप सबै बालबालिकाहरुले सिक्नुपर्छ ।आज धेरै परिवारमा खान लाउनको समस्या छैन, त्यसको प्रमुख कारण भनेको बैदेशिक रोजगारबाट हुने आय हो । अधिकाँशका बुबा आमाहरु वैदेशिक रोजगारमा आबद्ध हुँदा आजभोली विद्यार्थीको काम भनेको पढ्ने मात्रै भएको छ । विद्यालयमा पढ्ने घरमा पुगेपछि मोवाइल र टेलिभिजनमा भुल्ने भएकाले धेरै विद्यार्थीहरुलाई जीवन उपयोगी सीपहरु सिक्ने अवस्था छैन् । कतिपय बालबालिकाहरुलाई धान कहाँ फल्छ भन्दा चामलको बोरामा भन्ने दिन आउने जोखिम छ । त्यसैले अब बालबालिकाहरुको शिक्षालाई नयाँ ढंगले अगाडी लैजानुपर्ने छ । त्यसको लागि अब विद्यालयहरुमा शिक्षा संगै जीवनउपयोगी र अत्याबश्यक सीपहरु पनि सिकाउनुपर्ने दायित्व थपिएको छ । विद्यार्थीहरुलाई जीवन उपयोगी र व्यावसायिक सीपहरु समेत सिकाउनुपर्छ । बेनी नगरपालिकाले गत बर्षदेखि सञ्चालन गरेको विइ क्यान विइ डु कार्यक्रम अन्तर्गत विद्यालयहरुमा सीपमुलक तालिमहरु सञ्चालन हुनथालेपछि विद्यालयहरुलाई पनि व्यवहारिक सीप सिकाउन र विद्यार्थीहरुलाई पनि सीप सिक्न सहज भएको छ । यो कार्यक्रमले कम्तीमा बालबालिकाहरुलाई सीप र श्रमसंग जोड्न प्रेरीत गरेको छ । विद्यार्थीहरुलाई सिर्जनसिल बनाउन पनि मद्धत पुगेको छ । अब विद्यार्थीहरुलाई उनीहरुको रुचि र क्षमताको पहिचान गरेर विभिन्न सीपमुलक तालिमहरु दिन सकियो भने मात्रै भोलिका दिनमा योग्य, दक्ष र आत्मनिर्भर जनशक्ति उत्पादन गर्न सहयोग पुग्छ । त्यसको लागि स्थानीय सरकार संगै प्रदेश र संघीय सरकारहरुले समेत विशेष कार्यक्रमहरु ल्याउन जरुरी छ ।

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l