सरकारलाई भेडिगोठबाट खुलापत्र :‘गोठालालाई बजेटले कहिले सम्बोधन गर्छ’ ?

  • २६ जेष्ठ २०८१, शनिबार
  • 469 पटक पढिएको

हिमबहादुर छन्त्याल, (देवान) ,म्याग्दी । बर्खा लाग्यो, वेशी झरेका गोठलाई बुकी लैजाने सुरसार गर्दै छौँ । हिउँदभर बेशीका फाँटहरुमा घाँस खुवाउने र जग्गा मोल्ने काम गरेर हामी यतिबेला हिमाली र लेकाली क्षेत्रका भन्ज्याङहरुमा उक्लदै छाँै । पहाडका अक्करे भिर, खोला नाला, घना जंगल छिचोल्दै बुकी पुगेपछि करिब चार महिना अब हाम्रो बसाई बुकीमै हुन्छ । चार महिनाको खर्चपानीको जोहो गर्न गाउँ झर्दा स्थानीय, प्रदेश र संघीय सरकारका बजेटका चर्चा र बहसहरु राम्रै चलेको सुनिन्छ । संघीय सरकारको बजेट नै सार्वजनिक भैसकेको रहेछ । प्रदेश सरकारको बजेट पार्न पनि गाउँ गाउँमा नेता कार्यकर्ताहरु माननिय साँसदहरुहरुलाई फोन लगाएको सुनिन्छ । वडा र पालिकाको बजेटका लागि पनि भेला, बैठक र छलफलहरु बाख्लै हुन थालेको भेटियो । तर हामी गोठाला, जो यहाँका वन जंगलमा घुम्ती गोठ राखेर भेडाबाख्रा पालन गर्छौ, यहाँसम्म राज्यका कुनै पनि सरकारका बजेटका बहस र छलफलले छोएको छैन् । बजेट भाषणमा सडक, भवन, पुल, खानेपानी, विजुली, स्वास्थ्य, रोजगकारका चिल्ला र आकर्षक योजना सार्वजनिक भैरहेका छन् । यहिबेला म म्याग्दीको रघुगंगा गाउँपालिका ७ चिमखोला र ८ कुइनेमंगलको लेकाली वनजंगलमा घुम्ती गोठमा भेडापालन गर्दै आएको छु । लामो वैदेशिक रोजगारिलाई विट मारेर वि.स. २०७३ सालदेखि आफ्नै जन्मथलोमा पसिना बगाउने अठोट लिएर म गाउँ फर्किएको थिए । शहरको जीवनशैलि मात्रै होइन, विकसित मुलुकको विकासलाई नजिकबाट महसुस गरेर भेडिगोठ पसेको मलाई यतिबेला विकासको पदचापले पिरोलेको छ । राज्यका नीति तथा कार्यक्रम र बजेटमा कृषि र पशुपालनलाई प्राथमिकता दिएको घोषणा हुने गरेपनि खास कृषक र किसान सामु बजेटले छुन नसकेको महसुस हुने गरेको छ । हरेक बर्षका बजेट खास किसान र कृषकलाई हर्ष न विस्मात हुने गरेको छ । बजेटमा ठूला ठूला सपना देखाउनु भन्दा हामी जस्ता किसान र कृषकका साना साना समस्या हल गर्नेमा समेटिए कति जाति हुन्थ्यो होला । उता सरकारले चिल्ला सडक बनाउने योजनामा बजेट बाँडीरहँदा यस पटक भने हामीले पुलको अभाबले भेडिगोठलाई आधार शिविरका बुकीमा लैजान नसक्ने भएका छौँ । विगतका बर्षमा जोखिम मोलेर भेडिगोठलाई बर्खामा धौलागिरि आइसफल आधार शिविर लैजाने गरेका थियौँ । यो बर्ष हिउँदमा हालेका अस्थायी साँघु बाढीले बगाइसकेको छ । सुंगुरथलादेखि आधार शिविर सम्मको करिब १० ठाउँमा अस्थायी साँघु हालेर खोला र खोल्साहरु वारपार गर्नुपर्ने बाध्यता छ । तर बाढीले साँघुहरु बगाएपछि हामीले यस पटक भेडिगोठलाई आधार शिविरको बुकीमा लैजान नसक्ने निचोट निकालेका छाँै , अब हामी अन्यत्रकै बुकीतीर चरन क्षेत्र र भेडीगोठ राख्ने विकल्प खोज्नुपर्ने अवस्थामा पुगेका छौँ । उता सरकारहरुले कृषि र पशुपालनलाई प्राथमिकतामा राखिरहने, हामी यता हत्केलामा ज्यान राखेर भेडीगोठ धान्नुपर्ने कस्तो बिडम्बना ? । घुम्ती गोठको पशुपालन हाम्रो पेशा मात्रै होइन, हाम्रो पुर्खाले छाडेर गएको चिनो पनि हो । हामी रहरले मात्रै यो पेसामा जोडिएका छैनौँ, हाम्रो कर्मले राज्यको आत्मनिर्भर अभियानमा सार्थकता पावस भन्ने भावनाले पनि यो पेसामा जोडिरहेका छौँ । खासमा थोरै रहर, धेरै बाध्यता र साना साना सपनाले हामी भेडिगोठमा घुमीरहेका छौँ । भेडीगोठबाट हुने आम्दानीको कमाईका लागि अरु थुप्रै विकल्पहरु पनि छन् , दिनहुँ प्रवासीनेहरुको लाइनमा लामबद्ध हुन हामीलाई पनि पटक पटक सुझाब र आफैभित्रको दबाब नहुने होइन, तर आफ्नै जन्मथलोमा , आफ्नै भूमिमा पसिना बगाउँदा आफु स्वरोजगार हुने र राज्यलाई पनि थोरै आत्मनिर्भर बन्न सहयोग पूग्ने पेसा किन छाड्ने भन्ने मनसायले आजसम्म यही वनजंगलमा भुलिरहेका हौँ । तर आजसम्म न कुनै तहका सरकारले हामीलाई भेट्छन नत उनका नीति तथा कार्यक्रम र बजेटले सम्बोधन नै गर्छन् । कम्तीमा खोलाखोल्साहरुमा पुल,भिर पहरामा बाटाे,  बुकी र वनजंगलमा अस्थायी टहरा र भेडाबाख्राको उपचारमा निशुल्क सुविधा हामी जस्ता घुम्ती गोठालाहरुको एकमात्रै माग हो । आगामी बर्षको नीति तथा कार्यक्रम र बजेट निर्माणमा जुटेका स्थानीय र प्रदेश सरकारलाई हामी घुम्ती गोठका किसानकोतर्फबाट यथोचित माग सम्वोधनको लागि अनुरोध गर्दछु ।