हिम्मतले भेडीगोठ धानेका हिमबहादुर (फोटो फिचर)

  • ६ फाल्गुन २०८०, आईतवार
  • 1287 पटक पढिएको

कमल खत्री

म्याग्दी (बेनी), ६ फागुन । दिनभर भेडाबाख्रालाई जंगलका चरन क्षेत्रमा लैजाने हिमबहादुर छन्त्यालको रात खुला आकासमुनी त्रिपालको छाप्रोमा वित्ने गरेको छ । धवलागिरि गाउँपालिका–५ मल्कबाङका हिमबहादुर छन्त्यालले यसरी जंगलमा भेडीगोठमा बस्न थालेको ८ बर्ष पुगेको छ । करिब दुई दशक लामो वैदेशिक रोजगारीबाट आफ्नो घरपरिवारलाई पोखरामा बसोबासको प्रवन्ध मिलाएर उहाँ भने आफ्नो पुख्र्यौली थातथलोमा पुर्खाहरुकै पेसालाई पच्छाउँदै भेडीगोठ पस्नुभएको थियो ।
सहरको सुविधासम्पन्न जीवनशैली छाडेर परम्परागत घुम्ती गोठ राखेर भेडापालन गर्ने पेसा अगाल्नुभएका छन्त्याल अधिकाँश समय पहाडी, उच्च पहाडी र हिमाली क्षेत्रका बन, जंगल, बुकी र खर्कमा भेटिनुहुन्छ । छन्त्यालले करिब ५ सय ५० बढी भेडाबाख्रा रहेको ‘मल्कबाङ भेडाबाख्रा’ फार्म सञ्चालन गर्दै आउनुभएको छ । हिउँदमा बेँसीका फाँटसम्म झारिने भेडीगोठ बर्खा लागेपछि हिमालका बुकीहरुमा पु¥याउने गरिन्छ ।
करिब तीन महिना सम्म मुस्ताङका हिमाली जंगलमा हुर्काएका भेडाहरुलाई यतिबेला छ महिनापछि आफ्नै गाउँ मल्कबाङको फाँटमा ल्याएको छन्त्यालले बताउनुभयो । मल्कबाङ गाउँको फेदी हुँदै बग्ने खालीखोलाको किनारमा रहेका बारीको फाँटमा छन्त्यालको भेडीगोठ राखिएको छ । घुम्ती गोठका भेडाबाख्रालाई एकै ठाउँमा राखेर पाल्न नमिल्ने भएकाले वेँसीका खेतवारीलाई मल पनि हुने र घाँस पनि व्यवस्थापन हुने भएकाले बारीको पाटा–पाटामा गोठ सार्ने गरिन्छ ।
मुस्ताङबाट गोठ हिडाएको एक महिनामा गाउँमा आउन सफल भएको छन्त्यालको भनाई छ । मुस्ताङको कोबाङ मुलीबुकीबाट लेते हुँदै म्याग्दीको दाना ल्याएर त्यहाँबाट भुरुङ, दोबा, बेग, चिमखोला, कुइनेमंगलेको लेकाली क्षेत्र र वनजंगल हुँदै भेडीगोठलाई मल्कबाङ ल्याइपु¥याएको छन्त्यालले बताउनुभयो । ‘‘ वैशाख–जेठसम्म्म अब बेँसी र पहाडका फाँट र जंगलमै भेडीगोठ राख्छौँ, जेठको अन्तिमतीर मात्रै हिमाली बुकीहरुमा पुग्छन गोठ, धौलागिरि हिमालको आधार शिविर सम्म नै गोठलाई लैजाने गर्छौ’’– छन्त्यालले भन्नुभयो ।
घुम्ती गोठ राखेर गरिने परम्परागत पशुपालन हराएर जाने अवस्थामा आएपछि आफुले पुख्र्यौली पेसाको निरन्तरता र स्थानीय स्तरमै आत्मनिर्भर बन्ने उदेश्यले भेडापालन गरेको छन्त्यालले बताउनुभयो । ‘‘ पहिले गाउँका सबैको गोठ थिए, भेडाबाख्रा र गाईभैँसीलाई घुम्ती गोठ राखेर पालन गरिन्थ्यो, आज त्यो परम्परागत पेसा हराएर जान थालेको छ, हाम्रो बाबा, बाजे सबैले यहिँका भीर–पाखामा पसिना बगाउनुभएको छ, हाम्रो जिजुहरुले पनि भेडापालन नै गर्नुभएको थियो, पुर्खाको पेसालाई पच्छाउँदै म पनि भेडीगोठ पसेको हुँ’’–छन्त्यालले भन्नुभयो ।
सहरको सुविधालाई छाडेर गाउँ पसेकोमा आफुलाई पछुतो नभएको र गौरवको अनुभूति हुने गरेको उहाँ बताउनुहुन्छ । ‘‘ मेरो सिपले शहरमै पनि सुविधायुक्त जीवनयापन गर्न सक्ने थिएँ, तर पुख्र्यौली ठाउँले मलाई तान्यो, म आफ्ना पुर्खाहरुको पसिनाले सिंचित भएको वनजंगलमै रमाउन आएको हुँ, यहाँका हरेक खर्कमा मलाई मेरा पुर्खाहरुको आर्सिवाद मिलेजस्तो सन्तुष्टि मिलेको छ’’– छन्त्याल भन्नुहुन्छ ।
४७ बर्षका छन्त्यालले भेडापालनबाट बार्षिक २० देखि २५ लाख सम्मको भेडाबाख्रा विक्रि हुने गरेको बताउनुहुन्छ । ‘‘भेडाबाख्राको बजारीकरणमा समस्या छैन, भेडा साढँ र खसी बोको खोज्दै ग्राहकहरु गोठमै आइपुग्छन्, हिउँदयाममा चरन क्षेत्रको अभाबले धेरै पाल्न सकिदैन’’–उहाँले भन्नुभयो । बर्खायाममा बुकीमा चरन क्षेत्रको अभाब नहुने भएपनि हिउँदयाममा बेँसीमा चरन क्षेत्र र घाँसको अभाब हुने भेडापालक कृषकहरु बताउँछन् ।
दशैँ र तिहारको समयमा सर्वसाधारणदेखि व्यापारीहरु समेत गोठमा पुगेर भेडा, खसी गरिद गर्ने गर्छन भने स्थानीय स्तरमा हुने मण्डली, भुमे, सिद्ध, देउराली, मालिका लगायतका देवी देवताको थानमा पुजा गर्न र भाकल पुरा गर्न समेत साँढ र बोकाहरु धेरै खपत हुने गरेको छ । हिमाली बुकीहरुमा समेत पालिने भएकाले भेडीगोठका भेडाहरुको माग अत्यधिक हुने गर्छ । भेडापालन पेसा अधिकाँश समय बन जंगलमै बस्नुपर्ने भएकाले गोठाला पाउन मुस्कील पर्ने गर्छ ।


जंगलमा भेडीगोठमा बाघ, भालुको आक्रमण देखी चट्याङ, बर्षा, हिमपात लगायतको प्राकृतिक विपत्तिहरुकोसमेत सामना गर्नुपर्छ । आफुले निरन्तर रुपमा अस्थायी टहराको लागि माग गरेपनि सम्वोधन नभएको छन्त्यालले बताउनुभयो । उहाँले हिमपात र भारी बर्षा हुँदा भेडाका पाठापाठीहरु बचाउन मुस्किल पर्ने भएकाले आफुले चरनक्षेत्रमा सामुहिक रुपमा भेडाबाख्रा राख्न मिल्ने अस्थायी टहरा बनाउन माग गरेको बताउनुभयो । छन्त्यालको भेडीगोठमा अहिले तीन जना हेरालु छन भने बन्यजन्तुको आक्रमणबाट बचाउन पाँच वटा भोटे प्रजातिका कुकुरहरु समेत रहेका छन् ।
पछिल्लो समय भेडापालन गर्ने कृषकहरु घट्दो छन् । युवापुस्ता रोजगारका लागि विदेश पलायन हुने र गोठ बस्न कठिन हुने भएकाले घुम्ती गोठको भेडापालन हराएर जाने अवस्थामा पुग्न थालेको छ । हराउँदो घुम्ती गोठमा पशुपालन गर्ने परम्परात पेसालाई अंगाएर स्वदेशमै आत्मनिर्भर बन्न सकिन्छ भन्ने सन्देश हिमबहादुरको हिम्मतले देखाएको धवलागिरि गाउँपालिका–५ कल्कबाङका वडा अध्यक्ष अमर छन्त्यालले बताउनुभयो । ‘‘दुई दशक लामो समय विदेश बसेर पुन आफ्नै गाउँ ठाउँमा फर्किएर भेडापालन गर्नुभएका हिमबहादुरको हिम्मत सबैको लागि प्रेरणादायी छ, अहिले युवाहरु गोठ बस्न रुचाउने कुरा भएन, गोठलाई व्यवस्थित बनाउन र अनुदानमा सरकारी तवरबाट खासै प्रोत्साहन हुन सकेको छैन, तर हामीले उहाँलाई आबश्यक सहयोग गर्न सहजीकरण गर्ने पहल थालेका छौँ’’–वडा अध्यक्ष छन्त्यालले भन्नुभयो । रासस