जहाँ संस्कार र संस्कृतिले गाउँ फर्काउँछ ……(फाेटाे फिचर)

  • १२ माघ २०८०, शुक्रबार
  • 2251 पटक पढिएको

म्याग्दी १२ माघ : उमेरले ४ बर्ष पार गरेका धवलागिरि गाउँपालिका–५ मलम्पारका लिएन घरब्जा छन्त्याल आफ्नो परिवारका आफन्तसंग पोखरामा बसोबास गर्नुहुन्छ । लिएनका बुबा खिमबहादुर र आमा दमायाँ रोजगारको शिलसिलामा अष्ट्रेलियामा हुनुहुन्छ । पोखरामा घर समेत बनाएर बसोबास गर्दै आएका छन्त्याल परिवारले खिमबहादुरका जेठा छोरा लिएनको पुर्पुरो भने गृहगाउँ मलम्पारमै गर्नुभयो । लामो समयदेखि पोखरामा बसोबास गर्दै आएपनि आफ्नो परिवारमा जन्मिएका जेठा छोराको पुत्र बढाउ अर्थात पुर्पुरो भने उहाँहरुले पुख्र्यौली गाउँमा गर्नुभएको हो ।
छन्त्याल समुदायमा घरमा जेठा छोरा जन्मिएको खुसीयालीमा हर्ष बढाउ स्वरुप पुर्पुरो गर्ने पुख्र्यौली परम्परा र संस्कृति रहेको छ । यस दिनमा आफ्ना आफन्त र मान्यजनलाई निम्ता दिएर घरमा पुख्र्यौली नाच देखाउने गरिन्छ भने पुर्पुरो गर्ने परिवार र बालकलाई टिका लगाएर आशिष् दिने चलन रहेको छ । लामो समयदेखि पोखरामा बसोबास गर्दै आएपनि आफ्नो पुख्र्यौली गाउँ ठाउँमा आएर नै जेठो छोरा लिएनको पुर्पुरो गरेको उहाँका ठूलोबुबा कृष्ण छन्त्यालले बताउनुभयो । ‘‘ हामीले पोखरामै पनि बाबुको पुर्पुरो गर्न सक्थ्यौँ, तर हामी यहि गाउँमा जन्मियौँ, हुर्कियौ, आज जहाँ भएपनि हामीले आफ्नो संस्कारलाई गाउँमै आएर पुरा गर्नुपर्छ भन्ने मान्यताले जन्मथलोमा आएर गरेका हौँ’’– उहाँले भन्नुभयो । पुर्पुरोको अवसरमा पुख्र्यौली समुहले नाचगान गर्ने र स्थानीय आमा समूह र युवा क्लबहरुले स्वागत र सम्मान गर्ने चलन समेत रहेको छ ।
पुर्पुरोकोे समयमा पुख्र्यौली समूह मार्फत स्थानीय सामाजिक गतिविधिमा उपयोग गर्ने गरि घरपरिवारले आर्थिक सहयोग समेत प्रदान गर्ने भएकाले गाउँकै सामाजिक सेवामा सहयोग पुगोस भनेर समेत आफुहरु गाउँ फर्किएर संस्कारजन्य कार्यहरु गर्ने गरेको गरेको छन्त्याल परिवारको भनाई छ । लिएनको पुर्पुरोमा घरपरिवारबाट र अन्य आफन्तबाट समेत गरि रु २ लाख ४ हजार ५ सय सहयोग जुटेको धवलागिरि गाउँपालिका–५ का वडा सदस्य र स्थानीय महेन्द्र आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भक्त छन्त्यालले जानकारी दिनुभयो ।
उहाँले उक्त सहयोग रकमलाई विद्यालयको निजी स्रोतका शिक्षकको तलब सुविधामा खर्च हुने जानकारी दिनुभयो । विकट बस्ती भएकाले अवसर, रोजगार र सुविधाका लागि हरेक बर्ष गाउँ छाडेर अन्यत्र जानेक्रम बढेपछि संस्कारजन्य कार्यहरुमा भने पुख्र्यौली थलोमै फर्कने परम्परा नै बनेको छ । मलम्पारका अधिकाँश घरबाट वैदेशिक रोजगारमा गएका छन भने धेरैले गाउँदेखि सहरतर्फ बसाई समेत सार्न थालेका छन् ।
दुर्गम गाउँको रुपमा चिनिएको मलम्पारबाट रोजगार, व्यापार व्यवसाय र अन्य कारणले गाउँ छाडेकाहरु आफ्नो परिवारको पुर्पुरो, छेवर, विवाह लगायतका संस्कार र परम्पराजन्य कार्यका लागि भने गाउँ फर्कने गरेको वडा सदस्य छन्त्यालले बताउनुभयो । यस गाउँबाट बेनी, पोखरा, काठमाण्डौ, बुटवललगायतका सहरी क्षेत्रमा बसाईसराई गरेकाहरु संस्कारजन्य कार्यका लागि गाउँ फर्कने भएकाले गाउँको विद्यालय सञ्चालन र सामाजिक कार्यहरुमा राहत हुने गरेको छ ।
यहाँका हरेक व्यक्तिले आफ्नो मनोकांक्षाका लागि मालिकालगायतका शक्तिपिठहरुको भाकल गर्ने भएकाले पनि विश्वका जुनसुकै ठाउँमा पुगेकाहरु पनि गाउँ सम्झिएर फर्कने गरेको स्थानीय विष्णुमायाँ घरब्जा बताउनुहुन्छ । पुर्पुरोको दिनमा पुख्र्यौली समूहले गीत र नाचबाटै आशिष् दिने भएकाले यस दिन देखाउने पुख्र्यौलीलाई पुर्पुरो गर्ने भन्ने चलन समेत रहेको छ । दिनभर सारेठी भाकामा नाच देखाउने पुख्यौली समूहले घरपरिवारको सम्मान र दानपछि परिवारलाई एकै ठाउँमा राखेर गीतको भाका, नाचको रौनक र फुलपाती दिएर आशिष् दिने चलन दिने गरिन्छ । रासस