घुम्तीगोठ भेडापालनमा चारपुस्ता

  • १९ पुष २०८०, बिहीबार
  • धिरन खत्री
  • 207 पटक पढिएको

 

म्याग्दी, १९ पुस। म्याग्दीमा पुर्खाले सुरु गरेका भेडाबाख्राका गोठहरु नयाँ पुस्ताले छोड्ने क्रम बढेको छ। बैदेशिक रोजगारी लगायत अन्य पेशाले गर्दा पुर्खाले जिविकोपार्जनका लागि सुरु गरेको परम्परागत शैलीको घुम्ती गोठलाई नयाँ पुस्ताले निरन्तरता दिनेक्रम कम हुदै गएको छ।

पुर्खाले सुरु गरेको भेडाबाख्राको घुम्ती गोठलाई रघुगंगा गाउँपालिका– २ भगवतीका नन्दबहादुर भण्डारीले निरन्तरता दिदै आउनुभएको छ । चार पुस्तादेखिको ब्यवसायिक भेडाबाख्रा गोठको इतिहास एकसय १२ बर्ष पुगेको छ । महाविरले सुरु गरेको भेडागोठ रोहीतबहादुर, नन्दबहादुर हुँदै रामकृष्ण भण्डारीको हातमा आईपुग्दा जिल्लाकै सबै भन्दा ठुलो भेडाबाख्रा गोठ बनाउन सफल भएका छन् । महाविरबाट सुरु भएको गोठ रोहीत हुदै नन्दबहादुर निरन्तरता दिएका थिए। नन्दबहादुर भण्डारीलाई अहिल्य उहाँका जेठा छोरा रामकृष्णले साथ दिएका छन्। ६६ बर्ष पुगेका नन्दबहादुरले ५३ बर्ष भेडीगोठमा विताउनुभएका छ। उहाँ अहिलेपनि भेडाबाख्राको हेरचाहमा खटिराख्नुभएको छ।

उहाँको गोठमा अहिल्य आठसय भेडाबाख्रा छन्। यो भेडाबाख्रोका संख्या सिजन अनुसार तलमाथि भईरहन्छ । हिमाली भेगेको जाँडो छल्न बेशी झरेको भण्डारीको गोठ रघुगंगा गाउँपालिका–१ बेगमा रहेको छ। पशुको बृद्धि र विकासमा चाहिने आहार पुर्‍याउन हिउँदमा बेशी झर्ने र बर्खाको समयमा हिमाली क्षेत्रमा भेडा गोठलाई लगिने प्रचलन रहेको नन्दबहादुर भण्डारीले बताउनुभयो । उहाँको गोठमा आठसय भेडाबाख्रा चरण क्षेत्रमा रेखदेख गर्नका लागि आफुसंगै पाँचजना गोठाला, चारवटा कुकुर पनि पालेको जानकारी दिनुभयो ।

‘भेडापालनबाट चारपुस्ताको घरखर्च चलेको छ, भेडाको आहार पुर्‍याउन चरणक्षेत्रमा बढी खट्नुपर्छ, भेडाबाख्रा पालनमा कहिल्य ठुलो गोठ बन्छ, कहिल्य सानो गोठ बन्छ, बर्षभरिको दुख केही सिजनमा भेडाको साड,खशी र बोका विक्रिबाट हुने आम्दानीले घरखर्च, गोठालाई तलव गर्दा ठिक्क हुन्छ’, –उहाँले भन्नुभयो । ‘चारपुस्तासम्मको मुख्य सारथी कुकुर भएको छ, गोठको सुरक्षाका लागि बसेको कुकुरले नचिनेको मानिस र जंगली जनावरको आक्रमणलाई रोक्न कुकुरले जानकारी गराउने गर्छ, रात वा दिनमा भेडा गोठालो र भेडाबाख्रालाई जोगाउने जिम्मा कुकुरको हुन्छ, कुकुर सुतेपनि चरन क्षेत्र वा गोठ वरीपरि आउने बस्तुहरु गन्धले थाहा पाएपछि भुकेर सुरक्षा दिने गर्दछ।’

घुम्ती चरण गर्दा एक ठाउँबाट अर्को ठाउँमा पुर्‍याउदाँ बाटोमा, विभिन्न अनकान्टर हिमालको फेदीमा चरणका लागि लगेपनि कुकुर विना भेडागोठ जोगाउन ग्राहो हुन्छ । ‘चरण क्षेत्र जंगल हो, जंगलमा बाघ, भालु र चितुवाबाट जोगाउनुपर्छ, म्याग्दीमा भेडापालनको मुख्य हतियार कुकुरलाई मानिन्छ,’– उहाँले भन्नुभयो, ‘कुकुरले जंगली जनावरको चाल थाहा पाएपछि भुकेर गोठालोहरुलाई संकेत गर्ने काम गर्छ।’

ठुलो गोठ हुदाँ चरीचरणमा घाँसको अभाव हुने भण्डारीले बताउनुभयो। घुम्ती गोठमार्फत भेडापालन गर्दै आएका कृषकलाई चरीचरण क्षेत्रमा नजाती( पुशपन्छीले नखाने) घाँस उम्रने फैलने क्रम बढ्दो छ, प्राप्त आहार पुर्‍याउन सकिएन भने राम्रो आम्दानी गर्न ग्राहो हुन्छ, ठुलो गोठमा हिउँदको समयमा आहारा पुर्‍याउन चिन्ता हुन्छ । पुरानो चरीचरणमा क्षेत्रमा वनजंगल बढ्नु, अनावश्यक नखाने घासँ फैलनु, जनावर पाल्ने क्रम घट्दै गएपछि घुम्ती गोठलाई चरीचरण क्षेत्रमा घासँको अभाव बढ्दै गएको भण्डारीले भन्नुभयो।

 

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l