धौलागिरि आइसफल पदमार्गको प्रवद्र्धनमा चिमखोलाका युवाहरुको सक्रियता

  • १२ पुष २०८०, बिहीबार
  • 541 पटक पढिएको

कमल खत्री
नेपाल सरकारले पर्यटकीय गन्तव्यको रुपमा छनौट गरेको म्याग्दीको धौलागिरि आइसफल पदमार्गको प्रवद्र्धनमा युवाहरु सक्रिय भएका छन् । रघुगंगा गाउँपालिकाका प्रमुख पर्यटकीय गन्तव्यको रुपमा परिचित धौलागिरि आइसफल पदमार्ग अन्तरगत धौलागिरि हिमालको आधार शिविर क्षेत्रको प्रचार प्रसार र प्रवद्र्धनमा वडा नम्बर ७ चिमखोलाको मण्डली युवा क्लबले सक्रियता देखाएको हो ।
क्लबले आधार शिविरमा सूचनामुलक बोर्ड सहित दृश्यावलोकन केन्द्र स्थापना गरेको छ ।े क्लब अध्यक्ष प्रवीन बुढाको नेतृत्वमा चिमखोलादेखि छरी–सुंगरथला हुँदै आधार शिविर पुगेका युवाहरुको टोलीले समुद्री सतहदेखि चार हजार पचास मिटर उचाईमा सूचना सहितको स्वागत बोर्ड स्थापना गरेका हुन् ।
क्लब अध्यक्ष बुढा, उचिब सन्दीप तिलिजा, सहकोषाध्यक्ष अनोज गर्वुजा, पर्यटन व्यवसायी कुशल पाईजा, क्लबका सदस्यहरु एमन पुन, बिशेष बुढा, थमन गर्वुजा, निसान गर्वुजा र ओविन्द्र गर्वुजाको टोलीले आधार शिविरको साथै कालीबराह ताल र सेतीनी छहरामा समेत दृष्यावलोकन केन्द्र स्थापना गरेका छन् । आइसफल पदमार्ग अन्तरगत पर्ने कालीबराह ताल समुद्री सतहदेखि चार हजार तीन सय मिटर उचाईमा अवस्थित रहेको छ ।
ताल परिसरमा रहेको कालीबराह थानमा स्थानीयले पुजापाठ समेत गर्ने चलन रहेको छ । क्लबले यसअघि चिमखोलामा स्वागत वोर्ड स्थापना गर्नुका साथै सोवाङधुरी र पानी डाक्ने डाँडामा दृष्यावलोकन केन्द्र (भ्यू पोइन्ट) स्थापना गरेको अध्यक्ष बुढाले बताउनुभयो । ‘‘आइसफल पदमार्गका मुख्य–मुख्य पर्यटकीय गन्तव्यहरुको प्रवद्र्धनका लागि हामीले पहल थालेका हौँ, क्लब आफैले यसको नेतृत्व गरिरहेको छ भने देश तथा विदेशमा रहेका चिमखोलाबासीले हाम्रो प्रयासमा साथ दिनुभएको छ’’–अध्यक्ष बुढाले भन्नुभयो ।
उहाँका अनुसार,पर्यटनको अथाह सम्भावना भएपनि प्रचार प्रसार र पूर्वाधारको अभाबले ओझेलमा परेको धौलागिरि आइसफल पदमार्गलाई चिनाउन क्लबले अभियानकै रुपमा कार्यक्रमहरु सञ्चालन गरेको हो । टान, तत्कालिन जिल्ला विकास समिति म्याग्दी लगायतका विभिन्न निकायको अगुवाईमा म्याग्दी र मुस्ताङलाई बैकल्पिक पदमार्गले जोड्ने गरि वि.स. २०६८ सालमा म्याग्दीको गलेश्वर–राखुभगवती हुँदै धौलागिरि आइसफल पदमार्गको पहिलो पटक अध्ययन गरिएको थियो ।
पदमार्ग पहिचान गरेर पदमार्ग लगायतका पूर्वाधार बनाउन थालेको एक दशक बढी समय भएपनि अझै यो क्षेत्र आझेलमा रहेको आइसफल पदमार्ग निर्माण अभियानका अगुवा ध्रुर्व पाईजाले बताउनुभयो । ‘‘धेरैजसो अप्ठेरो ठाउँमा बाटो बनायौँ, कतिपय ठाउँमा त हामीले बनाएको बाटो नै बाढीले पनि बगायो, तर फेरी पनि पदमार्ग बनाउने काम भैरहेको छ, यो पदमार्गमा पूर्वाधार संगै प्रचार प्रसार र नक्साङ्कन गरेर योजनाबद्ध रुपमा अघि बढ्न जरुरी छ’’–तिलिजाले भन्नुभयो । समुदायस्तरबाट धौलागिरि आइसफल र आधार शिविरको प्रचार प्रसारका लागि धेरै प्रयासहरु भएपनि पदमार्गको नक्साङ्कन सहित सरकारी तवरवाट उचित पहलकदमी हुनुपर्ने उहाँको भनाई छ । पर्यटन मन्त्रालयबाट विनियोजन भएको बजेटबाट अहिले पनि धौलागिरि आधार शिविर जाने पदमार्ग निर्माण भैरहेको छ । गत आर्थिक बर्षमा पर्यटन विभागले ठेक्का लगाएको रु १ करोड ५४ लाख बजेटबाट १८ किलोमिटर पदमार्ग बनाउने सम्झौता अनुसार, ससलधारा क्षेत्रबाट पदमार्ग बनाउने काम जारी रहेको छ ।
ठेक्का सम्झौता गर्दा भिरमा पदमार्ग बनाउने स्टिमेट नगरेको कारण उक्त बजेटबा पुछार ओढार र चेप्टेओढार क्षेत्रको भिरमा पदमार्ग बनाउन अझै बाँकी रहेको रघुगंगा गाउँपालिका–७ चिमखोलाका वडा अध्यक्ष थकप्रसाद पाईजाले बताउनुभयो । ‘‘ यो बजेटबाट जहाँ अप्ठेरो थियो, त्यहाँ पदमार्ग अझै नबन्ने भएपछि हामीले पदेश र संघीय सरकार संग थप बजेटको माग गरेका छौँ, कम्तीमा अक्करे भीरमा डोरीको सहायताले हिड्नुपर्ने ठाउँमा सुरक्षित पदमार्ग बनाउन सक्यौ भने आइसफल पदमार्ग र आधार शिविर क्षेत्रमा पर्यटकको ओहोरदोहोर बढाउन सकिन्छ की भन्ने अपेक्षा छ’’–वडा अध्यक्ष पाईजाले भन्नुभयो । उहाँले कालीबराह खोला लगायतका ठाउँहरुमा झोलुङ्गे पुलको समेत अभाब रहेको बताउनुभयो ।
आइसफल पदमार्ग अन्तरगत धोलागिरि आधार शिविर, नीलिबराह ताल, कालीबराह ताल, सोवाङधुरी लगायतका दर्जनौँ आकर्षक पर्यटकीय गन्तव्यहरु रहेका छन् । प्राकृतिक रुपमा सुन्दर र मनमोहक दृष्यहरुले भरिपूर्ण धौलागिरि आइसफल पदमार्गको प्रवद्र्धनमा चिमखोलाका युवाहरुले देखाएको सक्रियताले यस क्षेत्रको प्रचार प्रसारमा सघाउ पु¥याएको वडा अध्यक्ष पाईजाले जानकारी दिनुभयो । पदमार्ग अन्तरगत सेतीनी छहरा नजीकैको फाँटमा स्थानीय युवा कुशल पाईजाले होटल सञ्चालनमा ल्याएपछि पर्यटकहरुको लागि ठूलो सुविधा भएको छ ।
पदमार्गमा खुलेको यस होटलमा खाना, खाजा र बसोबास समेत सुविधा भएपछि आन्तरिक पर्यटकहरुको आगमन बढ्न थालेको छ । चिमखोलादेखि दुईदिनको पदयात्रामा धौलागिरि आधारशिविर पुग्न सकिने भएपनि बिचमा होटल नहुँदा यसअघि पर्यटकहरु टेन्ट र ओढारमा बास बस्नुपर्ने बाध्यता रहेको थियो । धौलागिरि हिमालको आधारशिविरलाई समेटिएको १ सय २२ किलोमिटर लामो आइसफल पदमार्गको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार गरि पूर्वाधार निर्माणको लागि पहल गरिएको रघुगंगा गाउँपालिकाले जनाएको छ ।
अहिले कुइनेमंगलेको छरी देखि चिमखोलाको ससलधारा हुँदै आधार शिविर पुग्ने पदमार्ग निर्माण भैरहेको छ भने आधार शिविर देखि कालीबराह हुँदै मुस्ताङको लेते निस्कने परम्परागत गोरेटोबाटो र भगवतीको रुइसेदेखि पछेत्राधुरी, सोबाङधुरी, लोसधुरी, दहबुकी, फेदी, सुगुरथला हुँदै ससलधारा क्षेत्रसम्म पहिचान गरिएको पदमार्गमा समेत सिँढी चिनेर पदमार्गलाई स्तरोन्नती गर्नुपर्ने काम बाँकी रहेको छ ।

?????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????

नेपाल सरकारले धौलागिरि आइसफल पदमार्गलाई नयाँ पर्यटकीय गन्तव्यको रुपमा छनौट गरेकोे एक दशक पुगिसकेको छ । संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नयाँ तथा विकास गर्नुपर्ने पर्यटकीय गन्तव्यको रुपमा समेत रुईसे डाँडादेखि धवलागिरि आइसफल सम्मको पदमार्गलाई छनौट गरेको थियो । तर पूर्वाधार र आबश्यक व्यवस्थापकीय अभाबले यो पदमार्ग औपचारिक रुपमा अझै सञ्चालनमा आउन सकेको छैन ।
म्याग्दी सदरमुकाम बेनीदेखि हिमाल पारिको जिल्ला मुस्ताङ जोड्ने परम्परागत पदमार्ग सडक सञ्जाल विस्तार संगै विस्थापित भएपछि म्याग्दी हुँदै मुस्ताङ जोड्ने नयाँ बैकल्पिक पदमार्गको रुपमा धौलागिरिआइसफल पदमार्गलाई सम्भाव्यत्ता अध्ययन गरिएको थियो । कुमारी पदमार्गको रुपमा रहेको धौलागिरि आइसफल पदमार्गबाट धौलागिरि र अन्नपूर्ण रेञ्जका दर्जनौँ हिमालहरुलाई नजीकबाट अवलोकन गर्न सकिन्छ ।
पदमार्गमा डाँफे, मुनाल, कालिज, कस्तुरी, झारल, नाउर, घोरल, थार, रतुवा, हिमचितुवा लगायतका जंगली पशुपंक्षी र तीनको बासस्थानलाई समेत प्रत्येक्ष अवलोकन गर्न सकिन्छ । यस पदमार्गमा हिमालको हिउँ खसेको दृष्य (आइसफल) संगै कालिबराह, लाटीबराह, निली बराह, सेती बराह र पहेँलीबराह ताल थप आकर्षणको रुपमा रहेका छन् । यस पदमार्गले म्याग्दीको पिप्ले, भगवती, बेगखोला, चिमखोला, कुईनेमंगले, दोबा लगायतको ठाउँको उच्च पहाडी डाँडाको धुरी हुँदै मुस्ताङको लेते जोडिएको छ ।