गाउँको मौलिकता झल्काउने घरहरु लोप हुँदै

  • ९ मंसिर २०८०, शनिबार
  • धिरन खत्री
  • 195 पटक पढिएको

 

म्याग्दी, ९ मंसिर । ग्रामीण बस्तीमा सडकको पहुँचले मौलिकता झल्किने गाउँका घरहरु हराउदै गएका छन्। बैदेशिक रोजगारीको आम्दानीले नयाँ पुस्तामा शहर केन्द्रित कङ्क्रिटका पक्की भवन गाउँमा बनाउने आकर्षण बढ्दै गएपछि मौलिकता झल्किने पुराना घरहरु गाउँमा खाली हुने क्रम बढ्दै गएको हो। गाउँको मौलिकता झल्किने परम्परागत ढुङ्गे घर पातलिँदै जान थालेका छन् । नयाँ पुस्ताले पुराना किसिमका घरहर बनाउने क्रम हटेको छ ।

केही समय अगाडी म्याग्दीका ग्रामीण क्षेत्रमा ढुङ्गाले छाएका, रातोमाटो र सेतो कमेरोले पोतिएका घर बाक्लै थियो । विदेश र सहर बजारबाट जो कोही गाउँमा पुग्दा ती घरले मनै लोभ्याउने गर्थे । रैथाने सीप र स्रोतको प्रयोग गरी परम्परागत रूपबाट निर्माण गरिएका ती घरले धेरैलाई आकर्षित गर्ने गरेको पाइन्थ्यो । मौलिक घरसंगै स्थानीय परिकारको स्वादले गाउँको पहिचान फरक थियो ।

जब सडक विस्तार भएर गाउँमा यातायातका साधन पुग्न थाले तब रड र सिमेन्टको प्रयोग गरी गाउँमा पक्की घर निर्माणका क्रमले पुराना मौलिक घरहरु भत्काउने र जिर्ण छोड्ने क्रम बढेको रघुगंगा गाउँपालिका–२ राखु भगवतीका ८४ बर्षिय लेठबहादुर खत्रीले बताउनुभयो । “परम्परागत ढुङ्गा र काठहरु मिलाएर बनाएका घरहरु गाउँबाट विस्तारै हराउँदै गएको छ । पुराना घरमा पनि रातोमाटो र सेतो कमेरोले पोत्न छोडेर बजारकेन्द्रित कलहरु लगाउने चलन बढेकोले मौलिकता झल्कने घरहरु लोप हुने क्रम बढेको छ,” उहाँले भन्नुभयो ।

“अहिले गाउँमा धमाधम सिमेन्ट र कङ्क्रिटका घर ठडिँदै गएका छन् । यसले पुराना मौलिक घर विस्तारै विस्थापित हुने अवस्थामा पुर्‍याएको छ ।”पहिले गाउँमा नुन र तेलबाहेक सबै यही गाउँमा उत्पादन गरेर खान्थ्यौ, स्थानीय उत्पादनको आदानप्रदान गरेर जिविकोपार्जन गर्ने चलन पछिल्लो समय हराउँदै गएको खत्रीले बताउनुभयो ‘अहिल्य गाउँमा खेतबारी बाझो हुने क्रम बढेको छ।

गाउँको बसाई शहरको खाना प्रयोग बढेको छ ।’बैदेशिक रोजगारीले र बसाईसराईले बेनी नगरपालिका–३ भकिम्लीको मुसुङगाउँमा पहिल्य ८४ घरपरिवार थियो भने अहिल्य घटेर ५० घरमा सिमित भएको वडाअध्यक्ष पदम पुनले बताउनुभयो। उहाँले पुराना मौलिक घरहरु खाली हुने क्रम बढ्दै गएको बताउनुभयो ।
गाउँमा सडक आएपछि गाउँलेले सहरको जस्तो सिकेर परम्परागत घरलाई भत्काएर महंगो लागतमा नयाँ स्वरूपमा घरहरु बनाउने क्रम बढ्दै गएको रघुगंगा गाउँपालिका–२ साझपानी निवासी नैनकली कार्कीले बताउनुभयो । उहाँले करिब एकदशक अगाडिसम्म ढुङ्गे घरहरु टन्नै थिए । तर अहिले ढुङ्गाका घर भएका ठाउँमा ठूलाठूला कङ्क्रिटका घर बनाउने क्रम बढेको बताउनुभयो ।

गाउँको मौलिकता जोगाउने तर्फ स्थानीय सरकारले बेवास्ता गरेको देखिन्छ । गाउँको घरको मौलिकतासंगै पुराना कुटानीपिसानीका पानी मिल, ढिकी, जातो, गोरु मार्फत खेत जोत्ने प्रचलन लगायतका मौलिकतालाई बेवास्ता गर्दै आधुनिक प्रविधितर्फ आर्कर्षित गराउनतर्फ स्थानीय तहका जनप्रतिनिधि र कर्मचारी अग्रसर भएको देखिन्छ ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l