भकिम्लीमा ब्यवसायिक किवी खेती (फोटोफिचर)

  • १८ कार्तिक २०८०, शनिबार
  • धिरन खत्री
  • 277 पटक पढिएको

 

म्याग्दी, १८ काीत्तक । म्याग्दीका किसानहरुमा किवी खेतीको आकर्षण बढ्दै गएको छ । पछिल्लो समय बेनी नगरपालिक –३ भकिम्लीका किसानहरुले ब्यवसायिक रुपमा किवी खेती बढाउदै गएका छन् । २०६७ सालमा हालका वडाअध्यक्ष पदम पुनले १५० विरुवा लिएर किविको परिक्षण गरेका थिए । भकिम्लीको किविको सफल परिक्षण भएपछि किवि खेती गर्ने किसान बढ्दै गएका छन्। पछिल्लो चार/पाँचबर्षमा ब्यवसायिक रुपमा किवि खेती गर्ने कृषकले आम्दानी गर्न लागेका छन् । कोदो र मकैमा सिमित बारीमा किवि खेती लगाएर आम्दानी गर्न थालेका हुन् ।


हाल भकिम्लीमा ब्यवसायिक रुपमा घरायसी प्रयोजन लगायतका लागि करिव ६ हजार किविका विरुवा किसानले लगाएका छन् । यसबषै ५ लाख देखि १० लाखको किवि भकिम्लीबाट विक्रि हुने अनुमान वडाअध्यक्ष पदम पुनले गर्नुभएको छ । अवको पाचँबर्षमा ५० लाख भन्दा माथि आम्दानी किवि बेचेर यहाँका किसानले गाउँमा भित्र्याउने देखिन्छ ।

मुसुङस्थित लालबहादुर घर्तिले ७ रोपनीमा ब्यवस्थित रुपमा किवि खेती गर्नुभएको छ । उहाँले २०७७ सालदेखि मनोज कृषि फार्ममार्फत सुरु गर्नुभएको किवि खेती अघिल्लो बर्षदेखि उत्पादन दिन थालेको छ । यस बर्ष उहाँको फार्ममा तीन क्विनटल किवि फलेको बताउनुहुन्छ । ब्यवसायिक रुपमा किवि खेती गर्न तीन लाख लगानी गरेकोमध्ये घर्तिले एकलाख ५० हजार रुपैयाँ अनुदानसमेत पाउनुभएको छ । किविसंगै टिम्मुर खेती पनि गरेका छन् ।


त्यस्तै मुसुङस्थित लक्षु पुनले पनि ४ रोपनीमा १७० वटा किविका विरुवा लगाउनुभएको छ । उहाँले अघिल्लो बर्षदेखि किवि उत्पादन गरेर विक्रि गर्न थालेका छन् । अघिल्लो बर्ष ५ क्विनटल फलेको थियो भने यसबर्ष ४ क्विनटल फलेको अनुमान गर्नुभयो । उत्पादन भएको किवि अघिल्लो बर्ष बेनी र पोखराको बजारमा प्रतिकेजी दुईसय देखि तीनसय रुपैयासम्म विक्रि गर्ने गरेको बताउनुभयो । त्यस्तै अर्का कृषक पृथीप्रसाद पुनले पनि ८९ किविका विरुवा लगाउनुभएको छ । अघिल्लो बर्ष ३ क्विनटल उत्पादन गरेर बेचेका पृथीप्रसादले यसबर्षपनि सोही अनुपातमा उत्पादन भएको बताउनुभये ।


त्यस्तै भकिम्ली सिममा लालबहादुर पुनले पनि १५० विरुवा लगाउनुभएको छ । उहाँले फार्ममा राम्रो किवि उत्पादन भएको छ । ब्यवस्थित रुपमा लगाएको किविले राम्रो आम्दानी दिदाँ पुन पनि खुशी हुनुहुन्छ । अवको पाँचबर्षमा भकिम्लीमा करिव एक करोडको किवि उत्पादन हुने अनुमान वडाअध्यक्ष पुनले गर्नुभएको छ।

स्थानीय सरकारले बजारको ब्यवस्थापन नगर्दा किसानले बजार खोजेर प्रतिकिलो १५० देखि ३ सय रुपैयाँसम्ममा फार्मबाट बेनी र पोखराका ब्यापारीलाई बेच्ने गरेका छन् । भकिम्लीको विचको भाग र उपल्लो भागको ठन्नेरी, भुकभुके मुुसुङ लगायत क्षेत्रलाई किबिको पकेट क्षेत्रका रुपमा विकास गर्न बेनी नगरपालिका र कृषि ज्ञान केन्द्रले किसानलाई अनुदान, तालिम र विउविजन उपलब्ध गराउदै आएको छ ।


अवको पाँचबर्षपछि भकिम्लीमा सुन्तला, आलु र किवि विक्रिबाट यहाँका किसानलाई आत्मनिर्भर बनाउने उद्देश्यले भकिम्लीको तल्लो भागमा रहेका राखु मरेक, हल्लघौडा, ज्यामिरे र तोराखेतमा ३३ हजार सुन्तलाका विरुवा किसानले लगाएका छन भने विचको भागलाई किविको पकेट र उपल्लो भेगको भुकभुके, मुसुङ र ठन्नेरीलाई आलु र किवि खेतीको पकेट क्षेत्र घोषणा गरेर विउविजन, अनुदान र तालिम उपलब्ध गराउदै आएको वडाअध्यक्ष पुनले बताउनुभयो ।

भकिम्लीका किसानलाई संघ, प्रदेश र स्थानीय सरकारले सहयोग गरेमा अवको पाँचबर्षपछि सुन्तला, किवि र आलु विक्रिबाट करिव १० करोड गाउँमा आम्दानी हुने योजनासहित कृषिलाई प्राथकिता दिएको वडाअध्यक्ष पुनले जानकारी दिनुभयो ।

 

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l