मण्डली युवा क्लबको नेतृत्वमा पर्यटकीय स्थल सोवाङ धुरीको पर्यटन प्रवद्र्धन (फोटो फिचर)

  • २२ आश्विन २०८०, सोमबार
  • कमल खत्री
  • 709 पटक पढिएको

कमल खत्री
बेनी, २२ असोज : म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलामा अवस्थित पर्यटकीय स्थल सोवाङ धुरीको पर्यटन प्रवद्र्धनमा स्थानीय मण्डली युवा क्लबले सक्रियता बढाएको छ । धौलागिरि आइसफल पदमार्ग अन्तरगत पर्ने पर्यटकीय स्थल सोवाङ धुरीको प्रचार प्रसारका लागि युवा क्लबले प्रवद्र्धन अभियान सञ्चालन गरेको हो ।
समुद्री सतहदेखि ३८४० मिटरको उचाईमा अवस्थित सोवाङ धुरीमा युवा क्लबको नेतृत्वमा भ्यू पोइन्ट स्थापना गरिएको छ । क्लबका अध्यक्ष प्रबिन बुढाको नेतृत्वमा गएको आठ जनाको टोलीले सोवाङ धुरीमा भ्यू पोईन्ट स्थापना गरेका हुन् । अध्यक्ष बुढा सहित उपाध्यक्ष, मेकिन पुन, सचिब सन्दिप तिलिजा, सह–कोषाध्यक्ष अनोज गर्वुजा लगायतको टोलीले चिमखोला गाउँदेखि करिब सात घण्टाको पैदलयात्रा गरि सोवाङ धुरीमा पुगेका थिए ।
चिमखोलादेखि पात्लेखेत–सिजी–थामडाँडा, हुँदै सोवाङधुरी पुगेर त्यहाँको पर्यटन सम्भावनको खोजी र प्रवद्र्धन गरिएको क्लब अध्यक्ष बुढाले बताउनुभयो । ‘‘ अथाह सम्भावना भएर पनि ओझेलमा परेको सोवाङधुरीलाई प्रवद्र्धन गर्न पहल गरेका हौँ, यो क्षेत्रको प्रचार प्रसार र पूर्वाधार निर्माण गर्न सकेमा उत्कृष्ट गन्तव्य बनाउन सकिन्छ’’–अध्यक्ष बुढाले भन्नुभयो ।
धौलागिरि आइसफल पदमार्ग अन्तरगत सोवाङ धुरी एकैठाउँबाट धौलागिरि र अन्नपूर्ण हिमशृङखला अन्तरगतका दर्जनौँ हिमाललाई एकै ठाउँबाट अवलोकन गर्न सकिने ठाउँको रुपमा परिचित छ । सोवाङधुरीबाट मनोरम हिमशृङ्खला संगै म्याग्दीका विभिन्न ग्रामीण बस्तीहरुलाई समेत अवलोकन गर्न सकिने र जैविक विविधतायुक्त क्षेत्र भएकाले यहाँको दृष्यले पर्यटकहरुलाई लोभ्याउने गरेको क्लबका सदस्य वकिल पुन मगरले बताउनुभयो ।
म्याग्दी र मुस्ताङलाई बैकल्पिक पदमार्गले जोड्ने गरि पहिचान भएको धौलागिरि आइसफल पदमार्ग अन्तरगत म्याग्दीको रघुगंगा गाउँपालिका–३ गायत्री मन्दिरदेखि सुरु भएर भगवती–रुइसे–भेडिओढार–मुटुकाटे–पजत्राधुरी हुँदै सोवाङधुरी जोड्ने मुख्य पदमार्ग रहेको छ । मुख्य पदमार्ग र चिमखोला हुँदै सोवाङधुरी पुगेपछि पर्यटकहरु नेपाने–लोसधाप–लाटीबराह–कालीबराह ताल हुँदै धौलागिरि हिमालको आधार शिविर पुग्ने गर्छन् ।
आधार शिविरबाट बाँझोबुकी हुँदै कुईनेमंगलेमा अवस्थित प्रसिद्ध धार्मिक स्थल रिखार हुँदै र रघुगंगा नदीको किनार नै किनार हुँदै सुंगुरथला भएर कुइनेमंगलको घ्यासीखर्क–चिमखोला हुँदै फर्कन मिल्ने गरि दुई वटा पदमार्गहरु सञ्चालनमा रहेको रघुगंगा गाउँपालिका–७ चिमखोलाका वडा अध्यक्ष थकप्रसाद पाईजाले जानकारी दिनुभयो । ‘‘ हरेक बर्ष पदमार्ग निर्माणको काम भैरहेको छ, अहिले पनि पर्यटन बोर्डबाट आएको बजेटबाट पदमार्ग स्तरोन्नतीको काम जारी छ, तर अक्करे पहाड र भिरमा अझैपनि पदमार्गलाई सुधार गर्न सकिएको छैन, त्यसको लागि थप बजेटको आबश्यकता छ’’–वडा अध्यक्ष पाईजाले भन्नुभयो ।
टुरिजम एजेन्सिज अफ पश्चिमाञ्चल क्षेत्रिय च्याप्टर’ (टान), तत्कालिन जिल्ला विकास समिति म्याग्दीको अगुवाईमा २०६८ सालमा म्याग्दीको गलेश्वर–राखुभगवती हुँदै धौलागिरि आइसफल पदमार्गको अध्ययन गरिएको थियो । यस पदमार्गले म्याग्दीको रघुगंगा गाउँपालिकाको पिप्ले, भगवती, बेगखोला,दग्नाम, चिमखोला, कुईनेमंगले, अन्नपूर्ण गाउँपालिकाको दोबा, भुरुङतातोपानी, दाना लगायतका ठाउँको उच्च पहाडी डाँडाको धुरी हुँदै मुस्ताङको लेते जोडिएको छ । राससमा प्रकाशित           

तस्बिर :वकिल पुन मगर

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l