अन्नपूर्ण आधार शिविरमा दुई महिनामा १२ हजार बढी पर्यटक भित्रिय
- २१ कार्तिक २०८२, बिहीबार
- 221 पटक पढिएको
म्याग्दी, २० कात्तिक । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा दुई महिनाको अवधिमा १२ हजारभन्दा बढी आन्तरिक पर्यटकहरुले भ्रमण गरेका छन् । असोजदेखि कात्तिक तेस्रो सातासम्म यस क्षेत्रमा अत्यधिक रुपमा आन्तरिक पर्यटकहरुको आगमन भएको थियो ।
उक्त अवधिमा दैनिक दुई सयदेखि पाँच सयसम्म पर्यटकहरु आएको अन्नपूर्ण प्रथम आधार शिविर पुग्ने ‘मौरिस हर्जोग’ पदमार्ग अन्तर्गत हुमखोलामा होटल व्यवसाय गर्दै आउनुभएका पर्यटन व्यवसायि तेज गुरुङले बताउनुभयो । उहाँका अनुसार, दसैँ–तिहार र छठ पर्व बिदाको अवसरमा अन्नपूर्ण आधार शिविरमा अहिलेसम्मकै धेरै पर्यटक आएका हुन् ।
गत बर्षदेखि यस पदमार्ग अन्तर्गत हुमखोला, फुतफुते झरना, साँधीखर्क, गुफाफाँट, भुसकेटमेला र पञ्चकुण्ड ताल परिसरमा पर्यटकहरुको सुविधाका लागि होटलहरु सञ्चालनमा आएका छन् । नारच्याङदेखि हुमखोलासम्म सडक सञ्जालको पहुँच पुगेको र त्यहाँबाट आधार शिविरसम्म आधारभूत पदमार्ग निर्माण भएकाले दुई दिनमै पदयात्रा पुरा गर्न सकिने भएपछि यस पदमार्ग अहिले आन्तरिक पर्यटकहरुको रोजाईमा छ ।
पदमार्ग सञ्चालनमा आएको छोटो अवधिमै यस क्षेत्रमा पर्यटकहरुको आगमन बढेपछि पर्यटन व्यवसायिहरु उत्साहित बनेका छन् । अन्नपूर्ण आधार शिविरमा रहेको मनमोहक पञ्चकुण्ड ताल, पदमार्गमा पर्ने फुतफुतेलगायतका झरना, मिस्त्रीखोलाको रमणीय दृष्यहरु सामाजिक सञ्चालमा भाइरल बनेको र यस क्षेत्रको सम्भावनाबारे सञ्चारमाध्ययबाट व्यापक प्रचार प्रसार भएपछि देशका विभिन्न ठाउँबाट युवायुवतिहरुको यस क्षेत्रको भ्रमणमा आउनेक्रम बढेको छ ।
अन्नपूर्ण प्रथम आधार शिविर क्षेत्रको प्राकृतिक सौन्दर्यताको प्रचार प्रसार, पूर्वाधार निर्माण र आधारभूत खाना बस्नको सुविधाले पर्यटकहरुको आगमन बढाएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताउनुभयो । उहाँका अनुसार, अन्नपूर्ण हिमाल आरोहण भएको ७५ बर्ष पुरा भएको अवसरमा गत बर्ष गाउँपालिकाको अगुवाईमा नारच्याङदेखि आधार शिविरमा मनाईएको ‘अन्नपूर्ण हीरक जयन्ती महोत्सव’ले यस क्षेत्रको प्रचार प्रसारमा व्यापकता गराएको हो ।
‘‘अहिले आधार शिविर क्षेत्रमा रहेका होटलहरुको क्षमता भन्दा बढी पर्यटकहरुको आगमन भयो, हामीले यसलाई थप व्यवस्थित गर्नेतर्फ योजना बनाएका छौँ, भुसकेटमेलादेखि पञ्चकुण्ड तालको बिचमा पनि थप एक होटल सञ्चालनमा ल्याउनका लागि एक्यापसंग समन्वय गर्न लागेका छाँै, पर्यटकहरुको बसाईलाई सहज बनाउनु हाम्रो पहिलो दायित्व हो’’– उहाँले भन्नुभयो । अन्नपूर्ण गाउँपालिकाले यस पदमार्गको आधार शिविर क्षेत्रमा सञ्चार र विद्युतको पहुँच पु¥याउन समेत आबश्यक पहल थालेको छ ।
पर्यटकहरुको आगमन बढेसंगै पदमार्ग र आधार शिविर क्षेत्रमा फोहोर बढेको कारण गाउँपालिकाले सरसफाई अभियन्ताहरुको टोलीलाई आधार शिविरमा खटाउने तयारी समेत गरेको गाउँपालिका अध्यक्ष पुनले जानकारी दिनुभयो । अन्नपूर्ण आरोहण दिवसलाई निरन्तर रुपमा मनाउने प्रवन्ध मिलाएको गाउँपालिकाले आधार शिविर पुग्ने पदमार्गलगायतका पूर्वाधार स्तरोन्नतीका लागि चालु आर्थिक बर्षमा विनियोजन गरेको रु २० लाख बजेट परिचालन गर्ने जनाएको छ ।