म्याद गुर्जिएका दैनिक उपभोग्य सामग्री गाउँका पसलमा बढी भेटिए

  • २७ भाद्र २०८०, बुधबार
  • धिरन खत्री
  • 317 पटक पढिएको

 

म्याग्दी, २७ भदौ । म्याग्दीको ग्रामिण बस्तीका पसलमा म्याद गुर्जिएका दैनिक उपभोग्य सामग्री बढी भेटिने गरेका छन् । सडक सुविधाको विस्तारसंगै गाउँका पसलहरुमा ब्यवसायीले म्याद गुर्जिन लागेका तयारी खाना पुर्‍याउने गरेको अनुगमनको क्रममा भेटिएको हो ।

गाउँमा तयारी खाद्य सामाग्रीको ब्यापार गर्ने ब्यापारीहरुमा सामानहरूको म्याद भएको वा सिद्धिएको बारे थाहा नपाउदाँ उपभोक्ताले म्याग्द गुर्जिएका सामाग्री किनेर खान बाध्य छन् । बजारका ब्यावसायीले म्याद सिद्धिन लागेका सामाग्री संस्तोमा गाउँका पसलमा पुर्‍याएको भेटिएको अन्नपूर्ण गाउँपालिकाको बजार अनुगमन इकाईका सचिव एवम् प्रशासकिय अधिकृत भगवती खड्काले बताउनुभयो ।


उहाँले बजार क्षेत्रबाट गाउँमा सामान लिएर आउने सवारीसाधनलाई पालिकाबाट अनुगमन गरेर पठाउने वातावरण निर्माण गर्ने सुझाव गाउँका खाद्यान्न ब्यापारीहरुबाट आएको बताउनुभयो ।

गाउँपालिका उपाध्यक्ष दिवाकुमारी पुनको नेतृत्वमा भदौ २५ र २६ गते अन्नपूर्ण गाउँपालिकाको वडानम्वर ५ को शिख, वडानम्वर ६ को घार र पर्यटकियस्थल घोरेपानीमा रहेका ३६ वटा होटल, १९ वटा किराना पसल, लगायतका ६० वटा पसल अनुगमन गर्दा करिब ३ लाख बराबरको म्याद गुर्जिएको सामाग्री भेटिएको अधिकृत खड्काले बताउनुभयो ।


“अनुगमन क्रममा धेरै जसो पेय पदार्थ (कोकाकोला, जुस र वियर) र खाद्यान्नतर्फ चामल, पैदा, सोयाविन, कुरकुरे, लेज, मसला, भुजा, मिठाई, सस, लगायतका दैनिक उपभोग्य सामाग्रीहरुको म्याद नाघेको भेटिएको छ”, उहाँले भन्नुभयो । “अनुगमनमा म्याद नाघेका ९ किसिमका औषधी पनि समुदायमा संचालित स्वास्थ्य संस्थामा भेटिएको छ । पहिलो चरणमा उपभोक्ता र ब्यवसायीहरुलाई खाद्य सामाग्री राख्दा सचेत भएर राख्न सुझाव दिएको छौ ।”

म्याद सिद्धिन लागेका आवश्यकताभन्दा बढी तयारी खाना (जंकफुड) र छुट दिएर गाउँका पसलमा बजारका ब्यापारीले पुर्‍याएको भेटिएको उपाध्यक्ष दिवाकुमारी पुनले बताउनुभयो ।

“गाउँमा नुन, खुर्सानाी, तेल र चामल बाहेक अन्य अनावश्यक वस्तुहरू बढी आएको छ”, उपाध्यक्ष पुनले भन्नुभयो । “अनुगमनको क्रम भेटिएको कमी कमजोरीहरुलाई तत्काल सुधार गर्न निर्देशन दिएका छौ । उपभोक्तालाई गुणस्तर बस्तु उपभोग गराउने वातावरण तयार गर्न अनुगमनलाई निरन्तरता दिन्छौ ।”

अन्नपूर्ण गाउँपालिकाको अनुगमन समितिले गत विहिबार बेनी जोमसोम सडक अन्तरगत पर्ने पोखरेबगर, भुरुङतातोपानी र दाना क्षेत्रमा संचालित होटल, खाद्यान्न, वर्कसप, मेडिकल कस्मेटिक, ईलेक्ट्रोनिक्स लगायतका ७० वटा पसलहरुको अनुगमन गरेको थियो ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l