बजारमा अर्गानिक टुसा र डौंडे निउरो बेचेर राम्रो आम्दानी (फोटोफिचर)

  • ३ भाद्र २०८०, आईतवार
  • धिरन खत्री
  • 629 पटक पढिएको

 

 

म्याग्दी, ३ भदौ । सडक सुविधाले गाउँमा उत्पादन भएको अर्गानिक बस्तुले बजार पाउन थालेको छ । गाउँबाट फर्कने सवारीसाधनमा गाउँमा पाईने अर्गानिक निउरो, टुसा र च्याउ लगायतको तरकारीलाई बजारसम्म ल्याउन सहज भएको छ । बर्षाको सिजनमा जंगलमा पाईने निगालोको टुसा र डौंडे निउँरो बजारमा पुर्याएपछि किन्नेको हानथाप हुने गरेको छ । म्याग्दीको सदरमुकाम बेनी बजारमा ब्यापारीले टुसो र निउँरो विक्रिबाट राम्रो आम्दानी गरेका छन् ।

बजारका सबै तरकारी पसलमा टुसा र निउरो विक्रिका लागि राखेका छन् । गाउँकालाई टिपेर बजार पठाउन भ्याईनभ्याई छ । स्वादिलो तरकारीको रुपमा परिचित ग्रामिण क्षेत्रमा पाइने निगालोको ‘टुसा’ र निउँरोको तरकारी र अचारको रुपमा धेरैले रुचाउने हुँदा बजारमा किन्नेको हानथाप हुने गरेको छ ।

टुसाको शहरी क्षेत्रमा अत्याधिक माग भएकोले ‘टुसा’ भाँच्न ग्रामिण भेगका बासिन्दाहरु लेकका जंगल पुग्ने गर्दछन् । प्राय: वर्षायाम सकिएर साउन देखि असोज महिनासम्म जंगलमा टुसा पाइन्छ । एक हजार आठ सय देखि चार हजार मिटर उचाइका जंगलहरुमा पाइने निगालोको टुसा ग्रामिण भेगका नागरिकका लागि आम्दानीको राम्रो स्रोत बनेको छ ।

बेनी नगरपालिका– २ बगरफाँट बस्नुहुने रघुगंगा गाउँपालिका कुईनेखानीकी चनमाया विश्वकर्माले रघुगंगा गाउँपालिका– ६ झिँबाट छोरीले वनबाट टिपेर पठाएको टुसा विक्रिका लागि सदरमुकाम बेनीस्थित विरेन्द्रचोकमा बस्नुभएको थियो । उहाँले एकसय रुपैयाँका दरले उक्त टुसाको मुठो बेच्नुभएको थियो । चौतारामा बस्नुभएका बुढापाकाले टुसा र निउरोको महत्वबारे चर्चा गर्नुभएको थियो ।

त्यस्तै रघुगंगा गाउँपालिका– ६ झिँबाट हिरा कुमारी विटालुले ल्याउनुभएको निउँरो पनि विरेन्द्रचोकको चौतारामा राख्नुभएको थियो । उहाँले राखेको निउँरोे विभिन्न कामले बजारमा आएका सेवाग्राहीले किन्नेको हानथाप थियो । “आज गाउँबाट ६० वटा मुठा लिएको थिए, विक्रि राम्रो भएको छ”– विटालुले भन्नुभयो । “ विक्रिबाट भएको आम्दानीले घरखर्च चलाउन सहयोग पुग्छ ।”

म्याग्दीको विभिन्न भागको वनजंगलमा पाईने टुसा, निउँरो र रातो च्याउको माग बजारमा बढ्दो छ । पछिल्लो समय बजारमा माग बढेपछि गाउँमा बस्नेहरुले फुर्सद मिल्याएर टिपेर बजारमा विक्रि लागि पसलमा पठाउने गर्छन् । बर्षायाममा गाउँको मुख्य आम्दानीको स्रोत टुसा र निउरोको विक्रिबाट गरेका छन् । वनजंगलको गोडमेल नहुदाँ, अनावश्यक घासँ र दाउँराले जंगल ओगट्दा उत्पादन हुने अर्गानिक टुसा, रातो च्याउ र निउरो उत्पादन कम हुन थालेको छ ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l