म्याग्दीमा उद्योग र ब्यवसाय दर्ता संख्या घट्यो

  • ११ श्रावण २०८०, बिहीबार
  • धिरन खत्री
  • 249 पटक पढिएको

 

म्याग्दी, ११ साउन । म्याग्दीमा उद्योग र ब्यवसाय दर्ता घट्दै गएको छ। अर्थतन्त्रमा देखिएको आर्थिक मन्दीले उद्योग र ब्यवसाय दर्ता घटेको हो । पछिल्लो समय जिल्लामा उद्योग र ब्यवसाय बन्द गर्ने क्रम बढेको म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवालले बताउनुभयो।

उहाँले अर्थतन्त्रमा देखिएको आर्थिक मन्दीले उद्योग र ब्यवसाय धरासायी बनेको उल्लेख गर्नुभयो । ‘‘जिल्लामा युवा ब्यवसायी उद्योग तथा ब्यवसाय छोडेर सुविधा सम्पन्न देशमा रोजगारीमा जाने संख्या बढेको छ, विदेशमा नेपालीलाई लगानी गर्ने वातावरण बनाएपछि विदेशबाट आउने रेमिटान्स पनि घटेको छ’’–उहाँले भन्नुभयो ।

विगतका आर्थिक बर्ष भन्दा २०७९/०८० मा उद्योग तथा ब्यवसया दर्ता आधा कम भएको छ। गतबर्षमा उद्योग एक सय ७१ दर्ता भएका छन् भने ब्यापारतर्फ एक सय ४६ वटा दर्ता भएको पर्यटन तथा उद्योग कार्यालय म्याग्दीका प्रमुख पोषनाथ शर्माले बताउनुभयो । विगतको तथ्यांक हेर्दा उद्योग र ब्यापारतर्फ दर्ता गर्ने संख्या घटेको उहाँले भन्नुभयो ।

हालसम्म म्याग्दीमा पाँच हजार ४४० उद्योग र ब्यापारका संस्था दर्ता भएका छन् । त्यसमध्ये उद्योगतर्फ दुई हजार ८३२ र ब्यापारतर्फ दुई हजार ६१० संस्था दता भएको कार्यालय प्रमुख शर्माले उल्लेख गर्नुभयो । गतबर्ष १४ उद्योग र २९ वाणिज्य फर्म बन्द भएका छन् ।

आर्थिक बर्ष २०७८÷०७९ मा तीन सय ३८ उद्योग र दुईसय ३२ ब्यापारतर्फ दर्ता भएको कार्यालय प्रमुख शर्माले बताउनुभयो । ‘विगत भन्दा गत बर्ष उद्योग र ब्यापार दर्ता आधा घटेको छ कृषि, पशुपाल, वनपैदावार, होटल र सेवामूलक उद्योग दर्ता कम छ ।’ उहाँले भन्नुभयो । ‘बैदेशिक रोजगारी, सुलभ ऋणका लागि केही उद्योग र वाणिज्य फर्महरु दर्तामा सिमित छन् । उद्योग ब्यापार दर्ता कम हुदाँ राजश्व संकलन पनि घटेको छ ।’

उद्योग तथा वाणिज्य फर्म दर्ता र नविरकण वापत १९ लाख ४७हजार रुपैयाँ राजश्व संकलन भएको छ । उद्योगबाट नौँ लाख ३४ हजार आठसय, वाणिज्यतर्फ ९ लाख ६९ हजार ६५० र अन्य तर्फबाट ४२ हजार ५५० रुपैयाँ राजश्व संकलन भएको कार्यालयले जानकारी दिएको छ।

तीन तहका सरकार जिम्मेवार नवन्ने हो भन्ने यस बर्षदेखि उत्पादन र ब्यापार गर्दै आएका उद्योग र वाणिज्य तर्फका संस्थाहरु बन्द गर्ने संख्या बढ्ने संघका अध्यक्ष कटुवालले बताउनुभयो । पछिल्लो समय गाउँगाउँमा पुगेको सडक लगायतको सुविधाले स्थानीय उत्पादन भन्दा बढी आयातिथ बस्तुलाई प्राथमिकता दिदाँ जिल्लाका उद्योगाी र ब्यवसायी धरासायी बनेका छन् ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l