भकिम्लीमा अर्म–पर्म मार्फत आलुखेती: उत्पादित आलुलाई बजारको समस्या ( फोटोफिचर)

  • २१ असार २०८०, बिहीबार
  • धिरन खत्री
  • 393 पटक पढिएको

 

म्याग्दी । बेनी नगरपालिका– ३ भकिम्ली स्थित भुकभुकेका कृषक आलु खेती भित्र्याउन ब्यस्त छन् । उपल्लो मूख्यबालीको रुपमा रहेको आलु खेतीलाई असारको मनसुन बर्षा सुरु भएसंगै किसानहरु अर्मपर्मबाट आलु भित्र्याउन ब्यस्त भएका हुन् ।

भकिम्लीमा लोक्कल आलु राम्रो उत्पादन हुन्छ । यहाँ रातो, सेतो निलो र गुलाफी कलरको आलु लगाउने चलन छ । पुष र माघमा लगाएको आलु असारमा खन्ने प्रचलन रहेको कृषक सरिता केसीले बताउनुभयो । यहाँका किसानको आम्दानीको मुख्य स्रोत नै आलु हो । अर्मपर्म गरेर आलु खन्ने काम भइरहेको उहाँले बताउनुभयो । ‘यस वर्ष आलु राम्रो फलेको छ ।’ राम्रो मूल्य पाउन बजारको समस्या देखिएको छ ।” उहाँले भन्नुभयो । “आलु पकेट क्षेत्र घोषणा गरी बेनी नगरले अनुदानमा विउविजन दिएको थियो । अहिल्य आलु उत्पादन राम्रो छ । उचित मूल्यमा आलु विक्रिको लागि बजारको ब्यवस्थापनमा स्थानीय सरकारले ध्यान दिनुपर्छ ।” मेहनत अनुसारको उत्पादन राम्रो भएपनि उचित मूल्य पाउन सकेका छैनौ ।

पुष र माघ लगाएको आलु बर्खा लागेसंगै भूकभूके, ठोडनेरी, मुसुङ बस्तीका एकसय ५० घुरधुरीले बारीमा लगाएको आलु भित्र्याउनमा ब्यस्त रहेको वडासदस्य रत्न जिसीले बताउनुभयो । “परम्परागत रुपमा नगदेबालीको रुपमा आलु र भाङ्गो लगाउने प्रचलन रहेकोे छ। यसबर्ष उपल्लो भकिम्लीमा आलु उत्पादन राम्रो भएकोले कृषकलाई आलु कहाँ राखौँ भएको छ।” उहाँले भन्नुभयो ।“ एक घरले १० देखि २५ मुरीसम्म आलु उत्पादन गरेका छन् । उत्पादित आलुलाई बजारको समस्या सिर्जना भएको छ ।”

बजारको समस्या विच स्वादिलो आलु भएको कारण भकिम्लीसंग जोडिएका आसपासका गाउँहरु सिंगा, राखु सुर्केमेला लगायत बेनी बजारमा पाथीको दुईसय रुपैयाँमा विक्रि गर्दै आएको कृषक एवम् वडासदस्य जिसीले जानकारी दिनुभयो । यहाँ अर्मपर्मबाट आलु खन्ने, कोदो रोप्ने चलन परपम्रागत रुपमा रहदै आएको छ भने सामुहिक रुपमा काम गर्न पनि सजिलो हुने अनुभव जिसीले सुनाउनुभयो ।

अन्य खाद्यान्न बाली कम फल्ने भएकाले यहाँका किसानले भेडाबाख्रा पालन र मूख्यबालीको रुपमा आलु उत्पादन गरेर बिक्रीमार्फत आएको पैसाले घरखर्च चलाउने र छोराछोरी पढाउनेमा प्रयोग गर्दे आएका छन् ।

यहाँका किसानले घरमा आएका पाहुनालाई आलु खुवाउनेदेखि कोसेली पठाउनेसमेत गर्छन् । हिमाली जिल्ला म्याग्दीमा किसानले आलु उत्पादन राम्रो गर्दे आएका छन् ।

    

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l