म्याग्दीको जनसंख्या घट्दो क्रममा

  • ६ असार २०८०, बुधबार
  • 385 पटक पढिएको

 

म्याग्दी, ६ असार । कृषि, पशुपालन, जलस्रोत र पर्यटनमा अथाह सम्भावनाले भरिपूर्ण म्याग्दीमा जनसंख्या घट्दै गएको छ भने गाउँघर रित्तिदै गएका छन् । सङ्घीयता कार्यान्वयन संगै विकास निर्माणका पूर्वाधार बन्ने क्रमसंग दुर्गम बस्तीहरु सुगम र विकसित बन्दै जान थालेपनि जनसंख्या भने घट्दै गएको छ ।

गाउँमा विद्यालय भवन, स्वास्थ्य चौकी भवन, खेलमैदान, पदमार्ग, मोटरबाटो लगायतका विकासका पूर्वाधारहरु धमाधम बनिरहेका छन् । तर घट्दो जनसंख्या र शहरी क्षेत्रमा हुने बसाइसराईका कारण गाउँघर रित्तिदै जान थालेका छन् ।
राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्क अनुसार, म्याग्दीमा २०६८ सालको जनगणनाको तुलनामा जनसख्ंया घट्दो देखिएको छ । तथ्याङ्क कार्यालय बागलुङले सार्वजनिक गरेको म्याग्दी जिल्लाको जनसांखीक नतिजामा जनंख्या बृद्धिदर माइनस शुन्य दशमलब ५७ प्रतिशतले ऋणात्मक देखाएको छ ।

२०७८ को जनगणना अनुसार, म्याग्दीमा १ लाख ७ हजार ३३ जनाको बसोबास रहेको छ । अघिल्लो जनगणना २०६८ मा यहाँ कुल १ लाख १३ हजार ६४१ जनसंख्या रहेको थियो । ०६८ को तुलनामा परिवासंख्या बढेपनि जनसंख्या भने घटेको तथ्याङ्क कार्यालय बागलुङका तथ्याङ्क अधिकृत चन्द्रकान्त सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार, म्याग्दीमा कुल २८ हजार ८३० घरपरिवार रहेका छन् ।

२०५८ सालदेखि म्याग्दीमा परिवार संख्या बढ्दै गएको छ भने जनसंख्या घट्दै गएको छ । २०५८ सालमा म्याग्दीमा १ लाख १४ हजार ४४७ जनाको बसोबास रहेकोमा २०६८ मा १ लाख १३ हजार ६४१ जनसंख्या रहेको थियो । ०७८मा समेत जिल्लाको जनसख्ंया घट्दो देखिनु समग्र जिल्लाको विकास र मानविय जनशक्ति व्यवस्थापनको दृष्टिकोणमा सकरात्मक नहुने जानकारहरु बताउँछन् ।

समाजशास्त्रका प्रध्यापक समेत रहनुभएका म्याग्दी बहुमुखी क्याम्पसका प्रमुख गोरखबहादुर जिसीले वैदेशिक रोजगारका कारण विदेशिने प्रचलन, सेवा, सुविधाको नाममा शहरी क्षेत्रतर्फको आकर्षण र बालबच्चा जन्माउने घट्दो दरका कारण जनसख्ंयामा निरन्तर गिरावट आएको बताउनुभयो । ‘‘विकासका पूर्वाधार विस्तार ग्रामीण क्षेत्रमा पुग्दै छन्, तर गुणस्तरीय सेवा सुविधा पुग्न नसक्दा गाउँघर रित्तिने गरि शहरी क्षेत्रमा आकर्षण बढ्दो छ, सरकारले विकास, सेवा र पहुँचमा गाउँ र शहरबिचमा सन्तुलन मिलाउन नसक्दा त्यसको असर जनसंख्यामा पनि परेको देखिन्छ ’’–उहाँले भन्नुभयो ।

पछिल्लो समय अध्ययन र रोजगारको लागि विदेश पलायन हुने क्रमले समेत जनसख्ंया घट्दो देखिएको र त्यसले दिर्घकालिन रुपमा स्थानीय स्तरमा आवश्यक पर्ने शैक्षिक र सक्षम जनशक्तिको अभाब हुने जोखिम रहेको प्रध्यापक जिसी बताउनुहुन्छ । म्याग्दीमा जनसख्ंया घट्दै जाँदा बसाइसराइ पनि ह्वात्तै बढेको छ । यस जिल्लाको ग्रामीण भेगबाट शिक्षा, स्वास्थ्य लगायतको सुविधाका लागि स्थायी र अस्थायी रुपमा शहरी क्षेत्रमा बसोबास गर्नेहरु हरेक बर्ष बढ्दै गएका छन् । गाउँमा बसाइसराईको कारण घरहरु रित्तिदै गएको रघुगंगा गाउँपालिका–८ चौरखानीका स्थानीय शिक्षक चन्द्रमान छन्त्यालले बताउनुभयो ।

म्याग्दीमा कुल २८ हजार ८ सय ३० परिवारको बसोबास रहेकोमा ३० हजार ३९० भौतिक संरचनाको गणना भएको थियो । त्यसमध्ये सबैभन्दा धेरै २३ हजार ८६८ वटा आवासीय क्षेत्रमा प्रयोगमा रहेको छ भने व्यापार, सरकारी, शैक्षिक, स्वास्थ्य, उद्योग , कलकारखाना, लगायतको क्षेत्रमा प्रयोग भएको बाहेक कुल २ हजार ९४० भौतिक संरचना खाली रहेको छ । यि भौतिक संरचनामध्ये अधिकाँश प्रयोग गर्न मिल्ने घरहरु नै खाली रहेको पाईएको तथ्याङ्क अधिकृत सुवेदीले बताउनुभयो ।

यस्तो छ म्याग्दीको जनसांखीक तथ्याङ्क

तथ्याङ्क कार्यालय बागलुङले राष्ट्रिय जनगणना २०७८ म्याग्दी जिल्लाको प्रमुख नतिजा सार्वजनिक भएको छ । मंगलवार बेनीमा एक कार्यक्रम आयोजना गरेर राष्ट्रिय जनगणना–२०७८ अन्तर्गत जनगणना कार्यक्रममार्फत सङ्कलित विभिन्न तथ्याङ्कहरुको विवरण सार्वजनिक गरिएको हो ।

जनगणना अनुसार, म्याग्दीमा कुल जनसंख्या १ लाख ७ हजार ३३ रहेको छ । पुरुषको जनसंख्या ५२ हजार १ सय ५३ रहेको छ भने महिलाको ५४ हजार ८ सय ८० रहेको छ । जनगणनाको सार्वजनिक नतिजाअनुसार म्याग्दीमा साक्षरतादर कुल ७९ दशमलव ७० प्रतिशत रहेको छ । जनगणनामा १० हजार ७ सय ६६ जना विदेशमा रहेको तथ्याङ्कले देखाएको छ । कुल जनसंख्यामध्ये ५ हजार १ सय ५ जना अपाङ्गता रहेको भेटिएको छ ।

पालिकातर्फ सबैभन्दा धेरै बेनी नगरपालिकामा र सबैभन्दा कम अन्नपूर्ण गाउँपालिकामा रहेको छ । जनगणना अनुसार, बेनीमा ३२ हजार ६ सय ९७ जनसंख्या रहेको छ भने मालिका गाउँपालिकामा १८ हजार ३ सय ३२ रहेको छ । मंगला गाउँपालिकामा १४ हजार ६ सय ८८ जनसंख्या रहेकोमा रघुगंगामा १४ हजार १ सय १४ जनसंख्या रहेको छ भने गाउँपालिकाको १२ हजार ६ सय १६ र अन्नपूर्णमा १२ हजार ३ सय २३, जनसंख्या रहेको छ ।

तथ्याङ्क सार्वजनिक कार्यक्रममा जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापाले सार्वजनिक भएको म्याग्दीको जनसंख्याको तथ्याङ्कले आगामी दिनमा नीति, कार्यक्रम र योजना निर्माण र कार्यान्वयनमा सहयोग पुग्ने बताउनुभयो । कार्यक्रम म्याग्दीका प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलको अध्यक्षता र तत्कालीन म्याग्दीका जनगणना अधिकृत घनश्याम सापकोटाको सञ्चालनमा सम्पन्न भएको थियो ।