म्याग्दीमा करिब ४५ करोड मुल्य बराबरको दुध उत्पादन

  • ६ श्रावण २०७४, शुक्रबार
  • कमल खत्री
  • 3113 पटक पढिएको

म्याग्दी ६ साउन । पहाडी जिल्ला म्याग्दीमा एक बर्षमा करिब ४५ करोड मुल्य बराबरको दुध उत्पादन भएको छ । आर्थिक बर्ष २०७३/०७४ मा ५ हजार ५ सय ९२ मेट्रिक टन अर्थात ४४ करोड ७३ लाख ६० हजार मुल्य बराबरको दुध उत्पादन भएको जिल्ला पशु सेवा कार्यालयले जनाएको छ ।

 

सामान्यतया दुधको मुल्य प्रतिलिटर रु ८० रहेको छ । जिल्लामा व्यवसायिक रुपमा पशुपालनमा लाग्ने किसानहरुको संख्या बढेसंगै दुध उत्पादन समेत हरेक बर्ष बढ्दै गएको कार्यालयका पशु सेवा प्राविधिक डिल्लीराम रेग्मीले जानकारी दिनुभयो ।

उहाँका अनुसार, अघिल्लो आर्थिक बर्षको तुलनामा १.७१ प्रतिशतले दुध उत्पादनमा बृद्धि भएको छ । अघिल्लो आर्थिक बर्षमा कुल ५ हजार ४९८ मेट्रिक टन दुध उत्पादन भएको थियो ।

जिल्लामा उत्पादन भएको दुधको परिमाणले २०६८ सालको जनगणना अनुसार बार्षिक प्रतिव्यक्ति ४९ लिटर मात्रै पुर्ति गरेको छ । सामान्यतया हरेक व्यक्तिलाई बार्षिक रुपमा ९१ लिटर दुध आबश्यक पर्छ । जिल्लामा बार्षिक न्युनतम १ करोड ३ लाख ३३१ लिटर दुध आबश्यक पर्ने भएपनि हाल ५५ लाख ९२ लिटर दुध मात्रै जिल्लाभित्रबाट पुर्ति भएको छ ।

जिल्लामा उत्पादन भएको अधिकाँश दुध घरायसी उपभोगमै उपयोग भएको र थोरै मात्रैमा विक्रिवितरण हुने गरेको पशु सेवा कार्यालयले जनाएको छ । बजारको नजीकका गाउँबस्तीका किसानले मात्रै व्यवसायिक रुपमा दुध उत्पादन गर्दै आएको कार्यालयका पशु विकास अधिकृत नरबहादुर बानियाँले बताउनुभयो ।

सदरमुकाम बेनीमा मात्रै दैनिक ३ हजार देखि ३ हजार ५ सय लिटर सम्म दुध आबश्यक पर्ने भएपनि जिल्लाभित्रबाट १ हजार ८ सय देखि २ हजार २ सय लिटर सम्म पुर्ति हुने गरेको र बाँकी दुध पर्वतको उत्तरी मल्लाज, माझफाँट, मिलनचोक लगायतका ठाउँबाट पुर्ति हुँदै आएको कार्यालयका पशु सेवा प्राविधिक रेग्मीले जानकारी दिनुभयो ।

म्याग्दीमा दुध उत्पादनका लागि ८ हजार २७२ वटा स्थानीय र ८ सय ७५ वटा उत्नत जातको भैसी तथा ४ हजार ६५३ वटा स्थानीय र ९१८ वटा उत्नत जातका दुधालु गाई रहेको जिल्ला पशु सेवा कार्यालयको तथ्याङमा उल्लेख गरिएको छ । कार्यालयले आगामी आर्थिक बर्ष ०७५÷७६ भित्रमा जिल्लालाई दुध उत्पादनमा आत्मनिर्भर बनाउने लक्ष्य अनुसार किसानहरुलाई उन्ननत जातको गाई भैसी पालनतर्फ आकर्षित गराउने अभियान चलाएको छ ।

कार्यालयले आर्थिक बर्ष २०७३÷०७४ मा पात्लेखेत र दरबाङमा व्यवसाियक भैसी प्याकेज स्थापना गरेको थियो भने व्यवसायिक रुपमा गाई भैसी पालन गर्ने किसानहरुलाई आहारा विकास, नश्ल सुधार, दुध बोक्नको लागि खिया नलाग्ने भाँडो सहयोग, परजिबि नियन्त्रणको लागि औषधी सहित आबश्यक जनचेतनाको लागि तालिमहरु समेत सञ्चालन गरेको थियो ।

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l