ताकममा धवलागिरि गाउँपालिकाको छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
- २४ कार्तिक २०८२, आईतवार
- 1 पटक पढिएको
म्याग्दीकाे धवलागिरि गाउँपालिकामा आइतबारदेखि छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । धवलागिरि गाउँपालिकाको आयोजना र ताकम माध्यमिक विद्यालयको व्यवस्थापनमा ७ नम्बर वडा ताकममा छैंटौँ संस्करणको प्रतियोगिता सञ्चालन गरिएको हो ।
अन्तर विद्यालयबीच प्रतिसर््पर्धा हुने छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पालिका भित्रका विभिन्न १२ वटा विद्यालयहरुले सहभागिता जनाएका छन् । दुईवटा विधाहरु एथ्लेटिक्स र भलिबल प्रतियोगितामा कुल २८ स्वर्णपदकको लागि प्रतिसर््पर्धा हुने भएको छ । दुई विधातर्फ १ सय, २ सय, ४ सय, ८ सय, १५ सय, ३ हजार मिटर दूरीको दौड तथा चारचार जनाको बीचमा १ सय र ४ सय मिटरको रिलेदौड प्रतियोगिता आयोजना गरिएको छ भने हाईजम्प, लङजम्प, त्रिपजम्प, ज्याभलिन थ्रो, सटपुट तथा छात्रछात्राको भलिबल प्रतियोगिता हुने गाउँपालिकाले जनाएको छ ।
प्रतियोगिताको उद्घाटनपूर्व सहभागी विद्यालयहरुबीच गरिएको मार्चपासमा धनजनता माध्यमिक विद्यालय फलियागाउँ मुना प्रथम भई नगद १० हजार रुपैयाँसहित पुरस्कार हात पारेको छ । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन खेलमा १५ सय मिटरको छात्र र छात्राको दौड प्रतियोगिता सम्पन्न भएको छ । मङ्गलवारसम्म सञ्चालन हुने प्रतियोगितामा प्रथम हुने विद्यालयले रनिङ शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्रको साथमा नगद ६० हजार, द्वितीय र तृतीयले क्रमशः नगद ४० हजार तथा ३० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् ।
प्रतियोगिताको उद्घाटन गर्दै गण्डकी प्रदेश सभा सदस्य एवं पूर्वमन्त्री रेशमबहादुर जुग्जाली (सुविन)ले खेलकुद क्षेत्रमा कुनै जात, धर्म र राजनीति नहुने भएकाले यसबाट एकापसमा सहकार्य र एकताको भावना विकास हुने बताउनुभयो । उहाँले खेलकुद प्रतियोगितामा सहभागी विद्यार्थीहरु भर्खरै उम्रँदै गरेको विरुवा भएकाले अनुशासित र सक्रियतापूर्वक खेल प्रदर्शन गर्नुपर्ने बताउँदै स्थानीय तह, जिल्ला, प्रदेश हुँदै राष्ट्रलाई चिनाउनको लागि अहिलदेखि नै उत्कृष्ट खेल प्रदर्शनलाई जोड दिनुपर्ने बताउनुभयो । धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले पालिकामार्फत नयाँ खेलाडीहरु उत्पादन, खेलकुद क्षेत्रको विकास र वृद्धिसँगै प्रतिभा पहिचान गर्न विभिन्न कार्यक्रमहरु आयोजना गर्ने गरिएको बताउनुभयो ।
गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगर र प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले अनुशासनलाई विशेष ध्यान दिएर खेलाडी विद्यार्थीहरुले आफ्नो खेलको कला प्रदर्शन गर्नुपर्ने तथा प्रतियोगितामार्फत नयाँ प्रतिभाको उजागर गर्नका लागि सहयोग पुग्ने बताउनुभयो । जिल्ला खेलकुद विकास समिति म्याग्दीका अध्यक्ष सुमन श्रेष्ठले समाजमा खेलकुदमैत्री वातावरण निर्माण गर्नु, युवाहरुलाई खेलकुदमा आकर्षित गराउनु र जिल्ला, प्रदेश हुँदै राष्ट्रियस्तरसम्म पुग्ने खेलाडीहरु उत्पादनमा राष्ट्रपति रनिङ शिल्ड जस्ता प्रतियोगिताहरुले सहयोग पु¥याउने बताउनुभयो । धवलागिरि गाउँपालिका–३ नम्बर वडाका वडा अध्यक्ष देवेन्द्र रोकाले मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रम गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख ख्यामराज सुवेदीको सञ्चालन र ७ नम्बर वडा अध्यक्ष अशोक खत्रीको स्वागतमा सम्पन्न भएको थियो । कार्यक्रममा ताकम माविका महिला शिक्षकहरुले स्वागत नृत्य प्रस्तुत गरेका थिए ।
