महोत्सवले संस्कृति र परम्परा संरक्षणमा जागरण ल्यायो

  • ७ माघ २०७९, शनिबार
  • कमल खत्री
  • 777 पटक पढिएको

कमल खत्री
बेनी, ७ माघ : बेनी बजारका १३ बर्षका अप्रिम श्रेष्ठ हनुमान नाच नाच्नुभयो । बेनीमा २२ बर्षयता नचाउन नसकिएको हनुमान नाच यस पटकको सातौँ म्याग्दी महोत्सवमा पदर्शन गरिएको थियो । दुई दशक बढी समयपछि प्रदर्शन गरिएको हनुमान नाचमा बालकदेखि युवासम्मले नाचेपछि हनुमान नाचले धेरैको ध्यान तान्यो । नेवार समुदायको ऐतिहासिक साँस्कृतिक धरोहरको रुपमा चिनिने हनुमान नाच महोत्सवमा देखाउन नेपाल भाषा मंका खलले नयाँ पुस्तालाई तालिम र प्रशिक्षण नै दिएको थियो । मंका खलले महोत्सवमा देखाएको नागा नागीनी नाचमा ६ बर्षका आरभराज श्रेष्ठ र ६ बर्षकै सालिन श्रेष्ठले नृत्य देखाउनुभएको. थियो ।


अन्य संस्कृतिको प्रभाब बढ्दै जाँदा आफ्ना मौलिक संस्कृति हराएर जाने खतरा बढेपछि म्याग्दीका जातजातिहरु आफ्नो मौलिक, कला, परम्परा, सस्कृति संरक्षणमा जागरुक बनेका छन् । कलाकारहरुको अभाब र नयाँ पुस्तामा संस्कृति हस्तान्तरण हुन नसकेको अवस्थामा तालिम दिएर नयाँ कलाकारहरु तयार गरि हनुमान नाच देखाइएको मंका खलका साँस्कृतिक संयोजक सञ्जयकुमार श्रेष्ठले बताउनुभयो ।
२०५७ साल भदौमा बेनीको माई भगवती मन्दिर निर्माण गर्न आर्थिक संकलनको लागि हनुमान नाच देखाइएको थियो । त्यस यता कलाकारहरुको अभाब र नृत्य पुस्तान्तरण नहुँदा हराएर जाने अवस्थामा पुगेको नाचलाई मंका खलले पुनर्जागरण गराएको हो । मृढंगना र झ्यालीको तालमा हनुमानको रुप धारण गरेका कलाकारहरुले नृत्य देखाउने यस नाचमा नौ जाडी सहभागी थिए ।
अधिकतम ११ जोडीसम्मले यस नाचमा नृत्य गर्न सक्ने हनुमान नाचलाई संरक्षण गर्नका लागि नेपाल भाषा मंका खल म्याग्दीले तालिम नै सञ्चालन गरेको छ । यस पटकको म्याग्दी महोत्सवमा क्षत्री समाजले आफ्नो परम्परागत सरुन नाच र गुरुङ समुदायले घाटु नाच देखाएका थिए । महोत्सवले आम समुदायलाई आफ्नो संस्कृति, भेषभुषा र परम्पराको संरक्षणमा जागरुक बनाएको म्याग्दी उद्योग बाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवाल बताउनुहुन्छ ।
‘‘यस पटक महोत्सवलाई व्यापार व्यवसायको प्रवद्र्धन संगै कला संस्कृति र पर्यटन प्रवद्र्धनमा जोड दिएका छौँ, दैनिक रुपमा हरेक समुदायले आफ्नो मौलिक प्रस्तुतीहरु राखिरहनभएको छ’’–अध्यक्ष कटुवालले भन्नुभयो । महोत्सवम गाउँघरको संस्कृतिलाई पनि सहरसम्म ल्याइपुर्याउने माध्ययम बनेको छ । रघुगंगा गाउँपालिका–७ चिमखोलाबाट सुरु भएको थाली नाच महोत्सवको आकर्षण बनेको छ ।
हरेक दिनजसो नयाँ कलाकारहरुले थाली नाचमा नृत्य प्रस्तुत गर्ने गरेको महोत्सवका साँस्कृतिक संयोजक समेत रहनुभएका म्याग्दी उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष सुविन श्रेष्ठले बताउनुभयो । उहाँले महोत्सवमा स्थानीय कलाकारलाई प्राथमिकता दिइएको कारण पनि यस पटक महोत्सव जिल्लाभित्रका कला, संस्कृति देखाउने थलो बनेको बताउनुभयो । धवलागिरि गाउँपालिका–७ ताकमको स्थानीय मौलिक संस्कृतिको रुपमा रहेको राधाकृष्ण नाच बेनीमा पदर्शन भएको थियो भने भने थकाली, मगर, छन्त्याल, परियार लगायतका जातजातिहरुले आफ्नो संस्कृति, भेषभुषा र परम्परालाई महोत्सवमा पदर्शन गरेका छन् ।
महोत्सवमा नेपाली विवाहको महत्वपूर्ण पाटो मानिने रत्यौली पर्दशन थप अर्को आकर्षण बन्यो । ताकम र राक्सेका आमा समूहसंगै ब्राहमण समाज, र क्षेत्री समाजले मौलिकता देखिने गरि प्रस्तुत गरेको रत्यौलीले दर्शकहरुमा विवाहकै झल्को दिएको थियो । महिलाहरु आफैले बाजा बजाउने, जन्ति जाने, दुलहा, दुलही समेत बनेर विवाहको झल्को दिँदै रत्यौली गीत र नाचमा दर्शक समेत छमछमी नाचेका थिए ।
देशभर आयोजना हुने महोत्सवमा आधुनिकताको प्रभाब बढीरहेको सन्दर्भमा म्याग्दी महोत्सवमा लोपोन्मुख र हराएर जाने अवस्थामा पुगेका संस्कृतिको पुनर्जागरण गराउनेमा जोड दिइएको म्याग्दी उद्योग बाणिज्य संघका प्रथम उपाध्यक्ष राजेश शाक्यले बताउनुभयो । उहाँका अनुसार, महोत्सवमा मौलिक संस्कृतिहरु जगेर्ना हुने गरि प्रतियोगिताहरु समावेश भएका छन् । मगर, छन्त्याल लगायतका जातजातिहरुको पुख्र्यौली नाच समेत महोत्सवमा आयोजना गरिएको थियो । चार समुह सहभागी भएको पुख्र्यौली नाचमा अन्नपूर्ण गाउँपालिका–८ काफलडाँडाको पुख्र्यौली समूह बिजयी बन्न सफल भएका छन् ।
महोत्सवले लुकेर रहेका प्रतिभाहरुको पहिचान र खोजी तथा मौलिक संस्कृतिको संरक्षणमा जोड दिएको प्रतियोगिताहरुका संयोजक समेत रहनुभएका प्रथम उपाध्यक्ष शाक्य बताउनुहुन्छ । एकल लोकनृत्य र गण्डकी लोकतारा प्रतियोगिता सम्पन्न भएको महोत्सवमा लोकदोहोरी गीत प्रतियोगिता समेत जारी छ । स्थानीय कलाकारहरुको प्रतिभा प्रस्फुटन गर्ने थलो बनेको महोत्सव कलाकारहरुको प्रस्तुतीले संगीतमय बनेको छ भने नौमैती बाजादेखि कलाकारहरुको साँगेतिक प्रस्तुतीले महोत्सवस्थल गुञ्जायमान बनेको छ ।

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l